मकवानपुर समाचारदाता
मकवानपुर, मङ्सिर १ गते । बागमती प्रदेश सरकारले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन बस खरिदमा दिँदै आएको अनुदानलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । सामुदायिक विद्यालयमा माथिल्लो कक्षा चढ्दै जाँदा विद्यार्थी भर्ना दरसँगै विद्यार्थी टिकाउ दर घट्दै गएपछि विद्यार्थीलाई आउजाउमा सहज बनाउन र विद्यार्थी टिकाउन प्रदेश सरकारले विद्यालय बसमा अनुदानको नीति लिएको हो ।
प्रदेश सरकारको चालु आवको सामुदायिक विद्यालयलाई विद्यालय बस खरिदमा अनुदान दिने कार्यक्रम अनुसार प्रदेशको शिक्षा विकास निर्देशनालय र विद्यालय व्यवस्थापन समितिहरूबिच विद्यालय बस खरिदमा अनुदानका लागि सम्झौता भएको छ । प्रदेशको शिक्षा विकास निर्देशनालय र प्रदेशका विभिन्न जिल्ला विद्यालयका विद्यालय व्यवस्थापन समितिबिच बुधबार हेटौँडामा आयोजित कार्यक्रममा विद्यालय बस खरिद अनुदान सम्झौता भएको हो । प्रदेशका विभिन्न जिल्लाका २७ वटा विद्यालयसँग अनुदान सम्झौता भएको छ ।
निर्देशनालयका निर्देशक दीपेन्द्र सुवेदीले विद्यालय बस खरिद गर्न मन्त्रालयले प्रतिविद्यालय २५ लाख रुपियाँ अनुदान दिने बताउँदै चालु आवभित्र बस खरिद गरिसक्नुपर्ने बताउनुभयो । उहाँले बसको सिट सङ्ख्या विद्यालयले नै तय गर्ने भन्दै बढीमा २५ लाख रुपियाँ अनुदान दिने र कम लागत परेमा विद्यालयले कम अनुदान रकम पाउने कार्यविधिमा व्यवस्था रहेको जानकारी दिनुभयो । आयात गरिने बसमा भन्सारलगायतका कर विद्यालयले छुट पाउने व्यवस्था छ । सङ्घीय शिक्षा मन्त्रालयले सार्वजनिक विद्यालयलाई दुई वटासम्म बस आयातमा भन्सार छुट दिने व्यवस्था गरेको छ । सामुदायिक विद्यालयले एउटा बस आयात गर्दा भन्सार र मूल्य अभिवृद्धि करलगायतका कर पूर्ण रूपमा छुट पाउँछन् तर दोस्रो बस खरिदमा भन्सार पूर्ण रूपमा छुट पाए पनि मूल्य अभिवृद्धि करलगायतका अन्य कर भने छुट पाउँदैनन् ।
निर्देशनालयसँग बस खरिद सम्झौतासँगै अनुदानको ६० प्रतिशत भुक्तानी दिने र बाँकी ४० प्रतिशत बस आयातको अनुज्ञापत्र प्राप्त भएपछि दिने व्यवस्था रहेको छ । चालु आवका लागि २७ वटा सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदानमा दिन छ करोड ७५ लाख रुपियाँ विनियोजन गरिएको छ । चालु आवमा मकवानपुरका छ वटा विद्यालय बस खरिदमा अनुदान पाउने सूचीमा परेका छन् । साथै काभ्रेका पाँच, नुवाकोटमा चार, काठमाडौँ, चितवन र धादिङका दुई/दुई तथा भक्तपुर, ललितपुर, रामेछाप, रसुवा, दोलखा र सिन्धुपाल्चोकका एक/एक सामुदायिक विद्यालयले बस खरिदमा अनुदान पाउने भएका छन् ।
प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौँडामार्फत गत आवमा १३ जिल्लाका २७ वटा सामुदायिक विद्यालय बस खरिदमा अनुदान पाउने सूचीमा थिए । गत आवमा अनुदानका लागि छनोटमा परेकामध्ये २४ वटा विद्यालयले मात्र बस खरिद गरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । विद्यार्थी सङ्ख्या अपुगलगायतका कारण गत आवमा तीन वटा विद्यालयले विद्यालय बस अनुदान पाउन सकेका थिएनन् । गत आवमा मकवानपुरका पाँच विद्यालय, चितवन र धादिङका चार/चार; नुवाकोट, काभ्रे, दोलखा र सिन्धुलीका दुई/दुई तथा काठमाडौँ, भक्तपुर, रसुवा, ललितपुर, सिन्धुपाल्चोक र रामेछापका एक/एक सार्वजनिक विद्यालय अनुदानमा बस खरिदको सूचीमा परेका थिए ।