• ११ मंसिर २०८१, मङ्गलबार

गुणस्तरीय शिक्षा र निजी विद्यालय

blog

नेपालको शिक्षा विकासको इतिहास धेरै लामो छैन । राणाकालीन समयमा औपचारिक शिक्षा सुरु भएको मानिए पनि त्योभन्दाअघि गुरुकुल शिक्षाको प्रभाव थोरै मात्रामा परेको देखिन्छ । हुन त केही राणाकालीन प्रधानमन्त्रीहरूले नेपालको शिक्षादीक्षाको व्यववस्था गर्न कलेज र विद्यालय खोलेका पनि थिए तर ती सीमित मात्रामा थिए । त्यसका प्रभाव आमनेपालीमा पर्न सकेको थिएन । जब २००७ सालको राजनीतिक परिवर्तन भयो अनि शिक्षाको विस्तार र विकास भएको पाइन्छ । 

शिक्षाको विकास क्रमागत रूपमा हुने कुरा हो । नेपालमा पनि समय परिवर्तनसँगै शिक्षाको विकास र गुणस्तरमा सुधार हुने क्रम जारी रहेको छ । यहाँ सन्दर्भ नेपालको गुणस्तरीय शिक्षाको विकासमा निजी विद्यालयको भूमिका बारे उल्लेख गर्न खोजिएको छ । शिक्षा विकास र समाज विकास एकसाथ जाने कुरा हुन् । शिक्षाको विकासले समाजको विकासको गतिलाई मापन गरेको हुन्छ । जति बढी विद्यालय र गुणस्तरीय शिक्षा हुन्छ, त्यति नै चाँडो गतिमा समाजको विकास पनि हुने गर्छ । त्यसकारण मुलुकको सामाजिक, राजनीतिक वातावरणलाई सही आकार दिन पनि गुणस्तरीय शिक्षाको आवश्यकता पर्छ । गुणस्तरीय शिक्षा आधुनिक समाजका लागि एक महत्वपूर्ण आधार हो । यो आधार जति बलियो हुन्छ, त्यति समाज परिवर्तनको गति र समाज सुधारका सिढी बलियो भएर जान्छन् । 

नेपालको शिक्षा प्रणालीको विश्लेषण गर्ने हो भने प्रशंसा र आलोचना दुवै विषय बन्ने गरेको छ । सुरुका दिनमा सरकारी शैक्षिक संस्थाहरूले नेपालको शिक्षा विकासमा योगदान दिएका थिए भने पछिल्ला दिनमा निजी विद्यालयको योगदानलाई पनि कम आकलन गर्न सकिँदैन । 

नेपालमा सरकारी क्षेत्रबाट शिक्षामा कम लगानी भएको भने होइन, तथापि अपर्याप्त पूर्वाधार, दक्ष जनशक्ति र स्रोतसाधनको अभावलगायत थुप्रै चुनौती सामना गरिरहेको सार्वजनिक शिक्षा प्रणालीलाई सहयोग गर्ने उद्देश्यका साथ निजी विद्यालयले नेपालको शिक्षा प्रणालीको विकासमा सहयोग गरेको देखिन्छ । कतिपय विज्ञले त सार्वजनिक शिक्षा प्रणालीको विकल्पका रूपमा नेपालमा निजी विद्यालयलाई हेर्ने गरेका पनि छन् । यसमा सत्यता पनि छ । 

सरकारी विद्यालयमा देखिएका कमीकमजोरीलाई पूर्ति गरी नेपालको शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउनमा निजी विद्यालयको भूमिकाका बारेमा विभिन्न अध्ययन अनुसन्धान पनि भएका छन् । ती अध्ययन, अनुसन्धानले मुलुकको शैक्षिक उन्नयनयमा निजी विद्यालयको महत्वपूर्ण भूमिका रहेको देखाएको छ । 

निजी विद्यालयले विद्यार्थीबाट शुल्क लिएर राम्रो सुविधा, योग्य शिक्षकको व्यवस्थापन र थप अनुकूल सिकाइ वातावरण प्रदान गर्दै आएका छन् । जसले गर्दा नेपालको आधुनिक शिक्षाका लागि देखिएका कमीकमजोरी समाधानतर्फ सम्बोधन भइरहेको छ । निजी विद्यालयले नेपाली राष्ट्रिय पाठ्यक्रम र अन्तर्राष्ट्रिय स्नातक (आइबी) र क्याम्ब्रिज अन्तर्राष्ट्रिय परीक्षाहरू ( सिआइई )

जस्ता अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमसहित विभिन्न पाठ्यक्रम प्रदान गर्दै आएका छन् । जसले गर्दा न्यून आय भएका अभिभावकदेखि हुने खाने वर्गका बालबालिकालाई अन्तर्राष्ट्रिय तहमा प्रतिस्पर्धी बनाउनमा सहयोग गरिरहेका छन् । आज नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको शिक्षा लिने मौका नेपाली विद्यार्थीहरूले पाइरहेका छन् । 

नेपालको शिक्षा क्षेत्रमा निजी विद्यालयको अर्को मुख्य सकारात्मक पक्ष भनेको गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्नु नै हो । निजी विद्यालयले अभिभावक र विद्यार्थीहरूका लागि अनेक विकल्प खोज नीति र विकास तथा विस्तार गरेका छन् । त्यो दिशामा धेरै अध्ययन, अनुसन्धानले निर्दिष्ट गरेका विधि र पद्धतिलाई निजी विद्यालयले अनुसरण गर्न खोजिरहेका छन् । विकसित मुलुकले अवलम्बन गरेका सिकाइका विधि र पद्धतिलाई नेपाल भित्र्याएर नेपाली अभिभावक र विद्यार्थीलाई सेवा प्रवाह गरिरहेका छन् । ती सिकाइ पद्धतिलाई कार्यान्वयन गर्न भौतिक पूर्वाधारलगायत अन्य सामग्रीको आवश्यकता त पर्छ नै । त्यसकारण आधुनिक शिक्षाका नयाँ प्रविधि र पद्धतिबाट सिकाइ गर्न केही महँगो शुल्क हुनुलाई स्वाभाविक नै मान्न सकिन्छ । 

पछिल्ला दिनमा नेपालको साक्षरता दरमा पनि वृद्धि भएको छ । हाल विद्यार्थीको सङ्ख्या हेर्ने हो भने निजी विद्यालयमा निकै बढी विद्यार्थी रहेका छन् । निजी विद्यालयले विद्यार्थीको छनोटका लागि नयाँ नयाँ विषय पनि राख्ने गरेको छ । ती अतिरिक्त विषय र क्रियाकलापले विद्यार्थीको सिर्जना र मगजको विकासमा थप टेवा पु¥याउने गरेको छ । नेपालको शिक्षा प्रणालीमा जब निजी विद्यालयको प्रभाव बढ्दै गयो अनि शिक्षाको गुणस्तर प्रदान गर्नमा प्रतिस्पर्धा पनि बढेको छ । एउटा निजी विद्यालयले नयाँ खालको सिकाइको विधि अवलम्बन गर्दा अर्को विद्यालयले विद्यार्थी तान्नका लागि भए पनि अर्को नयाँ खालको सिकाइ विधि अवलम्बन गर्न थालेपछि एकातिर विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकेका छन् भने अर्कोतिर अभिभावकले त्यही समय र त्यही शुल्कमा आफ्ना बालबालिकालाई सिर्जनात्मक, रचनात्मक र बहुप्रतिभाशाली व्यक्तिको रूपमा विकास गर्ने अवसर प्राप्त गरिरहेका छन् । शिक्षामा प्रतिस्पर्धा आवश्यक हुन्छ र हुनु पनि पर्छ । जबसम्म विषय छनोट, सिकाइ विधिको छनोट हुँदैन तबसम्म विद्यार्थीले आफ्नो क्षमता, इच्छा, रुचि अनुसारको विषय पढ्न पाउने अवसर पनि पाउन सक्दैनन् । त्यसैले अभिभावकको सपना, चाहना र लगानी गर्न सक्ने क्षमता अनुसारको विषय छनोट गर्न पाउनु पर्छ । विद्यार्थी र अभिभावकलाई यो अवसर निजी क्षेत्रका विद्यालयले प्रदान गरिरहेका छन् । 

आर्थिक, सामाजिक र राजनीतिक परिवेशको हिसाबले निजी विद्यालयलाई दुई वटा कोणबाट हेर्न सकिन्छ । निजी विद्यालय मध्यम वर्गीय अभिभावको उच्च रोजाइमा पर्ने गरेका हुन्छन् । नेपालका सन्दर्भमा धेरै जसो मध्यम वर्गीय परिवारका छोराछोरी निजी विद्यालयमा पढ्ने गरेका छन् । सानोतिनो कमाइबाट पनि बचत गरी अभिभावकले राम्रो शिक्षाको अपेक्षा गरेर निजी विद्यालयमा भर्ना गरेका उदाहरण हाम्रै घरसमाज वरिपरि धेरै देख्न सकिन्छ । अर्कोतर्फ निजी विद्यालयले देशभित्रै रोजगारी सिर्जना गरेका छन् । दक्ष व्यक्ति आज निजी विद्यालयमा शिक्षकको रूपमा काम गरिरहेका छन् । त्यसै गरी एउटा विद्यालयसँग प्रशासनिक कर्मचारी, यातायात सेवासँग सम्बन्धित सयौँ जनशक्तिलगायत धेरै व्यक्ति तथा संस्थाको सम्बन्ध रहेको हुन्छ । 

यद्यपि निजी विद्यालयले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा पनि केही चिन्ता र चासो पनि उत्पन्न गरेका छन् । निजी विद्यालयले शिक्षामा असमानता ल्यायो भन्ने केही विज्ञको मत पनि बलियो ढङ्गले उठ्ने गरेको छ । समाजमा आर्थिक तथा वर्गीय असमानतासँगै शिक्षामा पनि असमानता बढ्नु मुलुकको विकासका लागि राम्रो मानिँदैन । खुला आर्थिक पुँजीवादी अर्थ व्यवस्था अँगालेको मुलुकका लागि यो तर्क त्यति सान्दर्भिक देखिँदैन । निजी विद्यालयको उद्देश्य नै गुणस्तरीय शिक्षामा पहुँच, विकास र विस्तार हो भने त्यसका लागि लाग्ने न्यूनतम शुल्क लिनु पनि निजी विद्यालयको बाध्यता पनि हो । न्यूनतम शुल्क नलिएर त कसरी नयाँ सिकाइ गर्न सकिन्छ भन्ने प्रश्न आउँछ । त्यसैले निजी विद्यालय सेवा र व्यवसाय दुवै हो । निजी विद्यालयले कमजोर आर्थिक अवस्था भएका र जेहेन्दार विद्यार्थीका लागि हरेक वर्ष १० प्रतिशतभन्दा बढी छात्रवृत्ति दिने गरेको छ । हुनेखानेले शुल्क तिरेर पढ्छन्, तिर्न नसक्ने र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका माध्यमबाट असल र गुणस्तरीय शिक्षा दिने कर्ममा निजी विद्यालय लागि रहेका छन् । यसलाई सकारात्मक ढङ्गले हेर्नु पर्छ । 

यसले शैक्षिक असमानता र सामाजिक असमानता घटाउनमा मद्दत गरिरहेको छ भन्ने कुरा बुझ्नु जरुरी छ । एउटा विचारणीय कुरा के छ भने महँगो शुल्क तिरेर गुणस्तरीय शिक्षा आफ्ना बालबालिकाले प्राप्त गरिरहेका छन् भन्ने कुरामा अभिभावकले ढुक्क बस्नु हुँदैन । शुल्कसँग अभिभावकको प्रत्यक्ष सम्बन्ध गाँसिएकाले विद्यालयले प्रतिबद्धता गरे अनुसारको शिक्षा पद्धति अनुसार पढाइ, सिकाइ भइरहेको छ कि छैन भन्ने कुराको प्रत्येक अभिभावकले नजिकबाट अनुगमन गर्न जरुरी छ । 

नेपालमा निजी विद्यालय उदयको विषय राजनीतिक वृत्तमा थपिएको बहसको मुद्दा पनि हो । कतिपय राजनीतिक दलहरूले शैक्षिक वातावरण तथा गुणस्तरीय शिक्षाका लागि निजी विद्यालय आवश्यक छ भन्ने तर्क गर्छन् भने अर्काेतर्फ राजनीतिक दलहरूले शैक्षिक निजीकरणको सम्भावित जोखिमहरूका बारेमा जोड दिन्छन् । यद्यपि लामो समयदेखि यो मुद्दा बहसको विषय बनिरहेको छ ।  अन्त्यमा नेपालमा निजी विद्यालय सार्वजनिक शिक्षा प्रणालीको विकल्प र गुणस्तरीय शिक्षामा पहुँच बढाउने ध्याउन्नमा लागेका छन् । त्यसैले निजी विद्यालयहरू नेपालको शिक्षा क्षेत्रको अभिन्न अङ्ग बनिसकेका छन् । त्यसैले निजी विद्यालयलाई थप व्यवस्थित बनाउने तर्फ सोच्न आवश्यक छ । 

Author

दीपक जोशी