• २२ वैशाख २०८१, शनिबार

तिहार मनाउन उत्साहित ‘सेलिब्रेटी’

blog

काठमाडौँ, कात्तिक २६ गते । झिलिमिली बत्तिको चाड तिहारले सबैलाई छोइसकेको छ । तिहारकै लागि भाइमसाला, दियो, पाला, झिलिमिली बत्ती, फूलमालालगायतका विविध सरसामानको किनमेल गर्न पनि भ्याइनभ्याइ छ । घरघरमा सेलरोटीलगायत अनेकौँ मिठाई बनाउन गृहिणीहरूको  व्यस्तता बढेको छ । केटाकेटी युवायुवती देउसी भैलीको तयारीमा लागेका छन् ।

 औँसीको रातमा पनि चारैतिर झिलिमिली पारेर मनाइने पर्वले सबैमा उत्तिकै उत्साहा थप्ने गर्छ । पाँच दिनसम्म मनाइने यो पर्वमा काग, कुकुर गाई गोरु जस्ता जनावरलगायत धनधान्यकी देवी लक्ष्मीको पूजा गरिने यो पर्वको थप विशेषता भनेको दाजुभाइ र दिदीबहिनीबिचको सप्रेम सम्बन्धलाई थप प्रगाढ बनाउनु पनि हो । यति बेला घर परिवारमा बसेर जुवातास पनि खेलिने हुँदा धेरैले यसलाई रमाइलो मान्ने गर्छन् ।

यही मेसोमा नेपाली चलचित्र तथा सङ्गीत क्षेत्रमा आबद्ध कलाकारहरू पनि पाँच दिने तिहारलाई रमाइलो किसिमले मनाउने मनस्थितिमा रहेका छन् ।  

गायक युवराज चौलागाईं भन्नुहुन्छ, “तिहार मलाई सबैभन्दा मन पर्ने पर्व हो । यतिबेला आमाले पकाएको सेलरोटी, झिलिमिली बत्ती र देउसी भैलो सम्झेर रमाइलो लाग्छ ।” उहाँ आफ्ना तीन जना दिदीबहिनीसँग बसेर तिहार मनाउने योजनामा हुनुहुन्छ । एक दुई वटा साङ्गीतिक कार्यव्रmम सकेर चौलागाईं घर जाने योजनामा हुनुहुन्छ । उहाँ अगाडि भन्नुहुन्छ, “सधैँ जसो यो वर्ष मनमा हर्ष भने छैन । चाडबाडको मुखैमा भूकम्पका कारण धेरै नेपालीले ज्यान गुमाउनु प¥यो । देश शोकमा छ र मनमा खुसी छैन ।” 

लोकदोहोरी गायिका राधिका हमाल तिहार परिवारसँग मनाउन मन पराउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “परिवारसँग चाडपर्व मनाउनुको रमाइलो नै बेग्लै छ । यस्ता पर्वको अवसरमा सबै आफन्त दाजुभाइसँग भेट हुँदा खुसी लाग्छ ।” उहाँ  तासमा जुटपत्ति खेल्न रुचाउनुहुन्छ । तिहारमा बत्तीको झिलिमिली र हरेक घरको सुन्दर सजावटले सकारात्मक ऊर्जा पाउने निर्देशक रोसनी केसी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो मौसममा फुल्ने विभिन्न किसिमका फूलले त झन् मनमा शान्ति, शुद्धता र प्रफुल्लता दिन्छ ।” विभिन्न जनावर, प्रकृति, देवी र आफ्ना दाजुभाइ र दिदीबहिनीले एकअर्कालाई पूजा गर्ने यो पर्व केसीलाई विशेष लाग्ने बताउनुहुन्छ । 

कलाकार बुद्धि तामाङ दसैँभन्दा बढी तिहार मन पर्ने बताउनुहुन्छ । “तिहारमा गाई, कुकुर र कागको पूजा सम्मानपूर्वक गर्ने भएकाले मलाई सबै पर्वमध्ये तिहार असाध्यै मन पर्ने चाड हो,” उहाँले भन्नुभयो, “झिलिमिली बत्ती, रङ्गोलीसँगै देउसीभैलो खेलेको हेर्दा बढी रमाइलो लाग्छ ।” तिहारमा आफन्तसँग बसेर हल्का खेल्ने उहाँको योजना छ । गायिका अनुष्का पाठकलाई पनि अन्य चाडको तुलनामा तिहार विशेष लाग्छ । सेलरोटीका विभिन्न परिकार पकाउन रमाइलो  मान्ने पाठक थप परिकार बनाउन सिक्दै पनि हुनुहुन्छ । यो वर्ष आफ्नो दाजु बाहिरबाट नआउने भएकाले दाइको छोरालाई टीका लगाउने उहाँको योजना छ ।