• १२ साउन २०८१, शनिबार

सहुलियत ऋणको प्रतिबद्धता

blog

काठमाडौँ, कात्तिक २२ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले डेरी उद्योगीसँग मौज्दात रहेको दुग्ध पदार्थका आधारमा सहुलियत ऋण उपलब्ध गराउन पहल गर्ने बताउनुभएको छ । 

राष्ट्रिय दुग्ध विकास बोर्डमा सोमबार दुधसँग सम्बन्धित सरोकारवालासँग छलफल गर्दै सो कुरा बताउनुभएको हो । डेरी उद्योगीले दुग्ध पदार्थ अत्यधिक मौज्दात रहेका कारण किसानलाई भुक्तानी दिन नसकेकाले सहुलियतपूर्ण ऋण उपलब्ध गराउन माग गर्दै आएका थिए । सोमबार भएको छलफलमा पनि डेरी उद्योगीले सो कुरा उठाएका थिए । मन्त्री भुसालले डेरी उद्योगीसँग मौज्दात कति छ, त्यसको तथ्याङ्क उपलब्ध गराउनुस्, त्यसका आधारमा आफूले ऋणका लागि अर्थ मन्त्रालयसँग पहल गर्ने बताउनुभएको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बताउनुभयो । प्रारम्भिक तथ्याङ्क अनुसार डेरी उद्योगीसँग करिब छ अर्ब रुपियाँ बराबरको दुग्ध पदार्थ मौज्दात छ । 

डेरी उद्योगीले पटक पटक ऋणको कुरा उठाएपछि मन्त्री भुसालले मौज्दात कति छन्, त्यसको आधारमा ऋण उपलब्ध गराउन आफूले पहल गर्ने भन्नुभएको उहाँले बताउनुभयो । मन्त्री भुसालले भारतबाट लुकिछिपी आउने दुध तथा दुग्ध पदार्थ आयातलाई कडाइका साथ रोक्नुपर्ने बताउनुभयो । “सरकारका तर्फबाट आयातमा रोक लगाएकै छ, अब तपाईंहरूका तर्फबाट त्यसलाई रोक्नका लागि पहल गर्नु पर्छ,” उहाँले छलफलमा भन्नुभयो, “बोर्डरबाट आउने दुध तथा दुग्ध पदार्थलाई रोक्न सकियो भने यहाँ समस्या हुँदैन । नेपालमा पर्याप्त दुध तथा दुग्ध पदार्थ हुँदाहुँदै पनि चोर बाटोबाट आयात भइरहेका कारण यहाँ समस्या धेरै बल्झेको छ ।” नेपाल–भारतबाट सीमा क्षेत्रबाट दुध तथा दुग्ध पदार्थ अवैध ढङ्गले आयात भइरहेको छ, सरकारले त्यसको अनुगमन गरेर अध्ययन गराएको छ, त्यसको प्रतिवेदन तयार भइरहेको निर्देशक यादवले बताउनुभयो । 

मन्त्री भुसालले किसानको भुक्तानी १५ दिनभन्दा बढी दिनको रकम बक्यौता नराख्न डेरी उद्योगीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सरकारका तर्फबाट के गर्नु पर्छ, त्यो गर्दै गरौँला तर तपाईंहरूले किसानको बक्यौता रकम चाँडै चुक्ता गर्नुहोस् ।” नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले किसानलाई भुक्तानी दिने काम भइरहेको छ तर खरिद गरिएको दुधको अनुपातमा बिक्री नभएका कारण भुक्तानीमा समस्या भइरहेको बताउनुभयो । मन्त्री भुसालले सहुलियत ऋणका लागि पहल गर्ने तथा सरकारले सहुलियत ऋण दिएर सहयोग ग¥यो भने उद्योगीलाई भुक्तानी गर्न सजिलो हुने बताउनुभयो । सरकारले ऋण देओस् या उद्योगीसँग मौज्दात रहेको दुग्ध पदार्थ खरिद गरिदेओस् भनी आफूहरूले पटक पटक आग्रह गरेको बताउनुभयो । 

नेपाल डेरी एसोसिएसन नेपालले कर्णाली प्रदेश अन्तर्गत जाजरकोटलगायत विभिन्न क्षेत्रमा गएको भूकम्पबाट दुध क्षेत्रमा भएको क्षतिका बारेमा अध्ययन गर्न आफ्ना प्रतिनिधि सो क्षेत्रमा पठाएको छ । अध्यक्ष दाहालका अनुसार सो क्षेत्रमा अध्ययनका लागि एसोसिएसनका तर्फबाट सुर्खेत, तनहुँलगायतका जिल्लाबाट प्रतिनिधि भूकम्पीय क्षेत्रमा गएर अध्ययन सुरु गरेको बताउनुभयो । अध्ययन गरेर आइसकेपछि राहतका बारेमा निर्णय गर्ने उहाँले बताउनुभयो ।