• ३ असोज २०८२, शुक्रबार

‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ लोकार्पण

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ३ गते । दोलखा जिल्लाको कालिन्चोकबारे लेखिएको  ‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ पुस्तक  लोकार्पण भएको छ । पत्रकार एवं लेखक रोहिणीप्रसाद घिमिरेले लेख्नुभएको पुस्तकको लोकार्पण कामना न्युज पब्लिकेसन्सका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठ र नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितलगायतले संयुक्त रूपमा गर्नुभयो । 

प्रबन्ध निर्देशक श्रेष्ठले सो पुस्तकले यस क्षेत्रको धार्मिक पर्यटनमा वृद्धि हुने आशा व्यक्त गर्नुभयो । यसै गरी सम्पादक पण्डितले कालिन्चोकको यात्रा गर्दा यस पुस्तकको अध्ययन गरी कालिन्चोकबारे  जानकारी लिएर गएमा सहज हुने विचार व्यक्त गर्नुभयो । लेखक घिमिरेले भन्नुभयो, “दोलखा जिल्लाको प्रसिद्ध कालिन्चोक भगवती स्थानलगायत सो क्षेत्रको भ्रमण, पदयात्रामा जाने आन्तरिक पर्यटककोसमेत वृद्धि भइरहेका छन् भने सरकारलेसमेत नेपालका सय उत्कृष्ट गन्तव्यस्थलमध्ये कालिन्चोकलाई पनि घोषणा गरिसकेको छ । त्यस कारणले कालिन्चोकबारे पुस्तक लेख्न प्रेरित भएँ ।” 

लेखक घिमिरेले पुस्तकमा कालिन्चोकको कुरी बजार, कालिन्चोक पर्वत, सो क्षेत्रमा भेटिएको तरबार, त्यहाँ सिद्धि प्राप्त गर्ने खप्तड बाबासहित महान् योगीका बारेमासमेत उल्लेख गरिएको छ । पुस्तकमा प्रख्यात तीर्थस्थल कालिन्चोक भगवती स्थानलगायत सो क्षेत्रसँग सम्बन्धित विविध विषयमा २६ शीर्षकमा वर्णन उल्लेख गरिएको छ ।