• ३ असोज २०८२, शुक्रबार

पर्न थाल्यो बिमा दाबी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ३ गते । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रभावित बिमितले बिमा रकम भुक्तानी पाउन दाबी सुरु गरेका छन् । नेपाल बिमा प्राधिकरणका अनुसार गत भदौ ३१ सम्ममा विभिन्न बिमा कम्पनीमा २० अर्ब ७० करोड ३८ लाख रुपियाँ बराबरको बिमा दाबी परेको छ । प्राधिकरणका अनुसार मङ्गलबारसम्म कुल एक हजार ९८४ वटा बिमा दाबीमार्फत उक्त रकमको कुल बिमा दाबी परेको हो ।

दुई दिनको आन्दोलनमा पनि दोस्रो दिन मात्र सार्वजनिक तथा निजी सम्पत्ति र भौतिक संरचनामा व्यापक तोडफोड र आगजनी भएको थियो । निजी क्षेत्र अन्तर्गत भाटभटेनी, चौधरी समूह, गोल्यान समूह, चन्द्रागिरि केबुलकार, मौलाकाली केबुलकार, गोल्छा अर्गनाइजेसनलगायतका उद्योग व्यवसाय र सवारीसाधनमा आगजनी र तोडफोडबाट ठुलो क्षति भएको थियो ।

त्यस्तै सरकारी संरचना अन्तर्गत सिंहदरबार, प्रधानमन्त्री निवास र कार्यालय, राष्ट्रपति भवन, संसद् भवन, मन्त्री निवास, विभिन्न स्थानमा प्रहरी कार्यालय, विभिन्न विभाग, प्रदेश सरकार अन्तर्गतका विभिन्न कार्यालय, नगरपालिका, वडा कार्यालय र सवारीसाधनमा ठुलो क्षति भएको थियो । 

हाल बिमा कम्पनीहरूमा परेको बिमा दाबी निजी क्षेत्रको हो । सरकारी संरचना बिमाको दायरामा नआएका कारण सरकारी क्षेत्र भने बिमा सुरक्षाबाट वञ्चित हुने भएको छ । 

बिमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार १८ बिमा कम्पनीमध्ये सबैभन्दा धेरै दी ओरिएन्टल इन्स्योरेन्समा कुल पाँच अर्ब १४ करोड ७९ लाख रुपियाँको प्रारम्भिक बिमा दाबी परेको छ । कम्पनीमा देशभरबाट हालसम्म ४० वटा बिमा दाबी परेका छन् ।

त्यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २५८ वटा दाबीमार्फत चार अर्ब ९३ करोड २२ लाख रुपियाँको दाबी परेको छ । साथै शिखर इन्स्योरेन्स सर्वाधिक बिमा दाबी पर्ने कम्पनीको सूचीमा तेस्रो नम्बरमा छ । भदौ ३१ सम्म कम्पनीमा ३६६ वटा दाबीबापत कुल दुई अर्ब ३९ करोड चार लाख रुपियाँको प्रारम्भिक बिमा दाबी परेको छ ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबीबापत एक अर्ब ५९ करोड छ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दाबीमार्फत एक अर्ब ४७ करोड ५५ लाख, हिमालयन एभरेस्ट इन्स्योरेन्समा १९६ वटा दाबीबापत एक अर्ब १५ करोड ६२ लाख रुपियाँ र नेको इन्स्योरेन्समा ४० वटा दाबीमार्फत एक अर्ब नौ करोड ५३ लाख रुपियाँको कुल प्रारम्भिक बिमा दाबी परेको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार सानिमा जिआइसी इन्स्योरेन्समा १२९ वटा दाबीबाट ७८ करोड ९३ लाख रुपियाँ, सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीमा १७२ वटा दाबीबापत ४९ करोड ५१ लाख रुपियाँ, युनाइटेड अजोड इन्स्योरेन्समा १७० वटा दाबीबापत ४८ करोड ५१ लाख रुपियाँको कुल प्रारम्भिक बिमा दाबी परेको जनाइएको छ ।

भुक्तानीमा सक्षम छौँ : गौतम

यसअघि नेपाल बिमा प्रधिकरणले बिमा कम्पनीहरूलाई बिमा दाबी प्राप्ति र भुक्तानीलाई चाँडो र सहज रूपमा गर्न निर्देशन दिएको थियो । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले आफूहरू बिमा दाबी प्राप्ति र भुक्तानीका लागि संवेदनशील रहेको बताउनुभयो । 

“युनाइटेड अजोडलगायत सबै बिमा कम्पनीले दाबी प्राप्त गर्न र फस्र्योट गर्न डेडिकेटेड टिम नै बनाएका छौँ,” उहाँले भन्नुभयो, “बिमितको यो दुःखको अवस्थामा बिमा साथी हो भन्ने प्रमाणित गर्न प्रतिबद्ध छौँ । हामी उहाँहरूको भरोसा प्रमाणित हुने छौँ ।”

 बिमितप्रतिको दायित्व पूरा गर्न युद्धस्तरमै काम भइरहेको भन्दै उहाँले अहिलेको परिस्थिति ग्राहकसँगको सम्बन्ध अझ बलियो र विश्वसनीय बनाउने अवसरका रूपमा बिमा कम्पनीले लिनुपर्ने बताउनुभयो ।