• ३ असोज २०८२, शुक्रबार

राजनीतिक जटिलताको समाधान संविधानभित्रै खोज्नुपर्छ : सभापति देउवा

blog

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ, असोज ३ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायलाई सुदृढ बनाउन सबैलाई आह्वान गर्नुभएको छ ।

उहाँले असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान नेपाली जनताले पटक–पटक गरेका क्रान्ति, संघर्ष र आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो । ‘‘संविधानले सबैको हक र अधिकार सुनिश्चित गर्दै प्रत्येक नागरिकलाई स्वतन्त्र र समान भएको अनुभूति गराएको छ’’ वक्तव्यमा भनिएको छ ।

देउवाले संविधान दिवसले मुलुकलाई आर्थिक समृद्धि र राजनीतिक स्थिरतामार्गत अग्रसर गराउने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । 

उहाँले मुलुकमा उत्पन्न हुने राजनीतिक जटिलताको समाधान संविधानभित्रै खोज्नुपर्ने र संविधान बाहिर जाने प्रयासले अस्थिरता मात्र बढाउने बताउनु भएको छ।

संविधान दिवसका अवसरमा उहाँले लोकतन्त्र र गणतन्त्र स्थापना तथा पुनःस्थापनाका लागि जीवन अर्पण गर्ने ज्ञात–अज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै न्याय, समानता र स्वतन्त्रतामा आधारित बहुदलीय लोकतान्त्रिक व्यवस्थाको सफलताप्रति दृढ प्रतिबद्धता दोहोराउनु भएको छ ।