• ३ असोज २०८२, शुक्रबार

प्रादेशिक संरचना छिट्टै सञ्चालनमा ल्याइने

blog

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आगजनी र तोडफोडबाट क्षति भएका संरचनाको निरीक्षणपछि सञ्चारकर्मीलाई जानकारी गराउनुहुँदै । तस्बिर : राममणि दाहाल

मकवानपुर समाचारदाता

मकवानपुर, असोज ३ गते  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेनजी समूहको आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका प्रदेशका भौतिक संरचनाको मर्मत गरी तत्काल सञ्चालनमा ल्याउने बताउनुभएको छ । उहाँले क्षति भएका प्रादेशिक संरचनाको निरीक्षण गरिएको र तत्काल कार्यालय सञ्चालन गर्न मिल्ने स्थानको पहिचान गरी प्रादेशिक संरचना सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । 

मुख्यमन्त्री बानियाँले प्रदेश राजधानी हेटौँडामा रहेका बागमती प्रदेशका विभिन्न मन्त्रालय, प्रतिष्ठान तथा कार्यालयको बिहीबार निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै क्षति पुगेका मन्त्रालय तथा कार्यालयको प्राविधिक दृष्टिले कुन कुन कार्यालय सञ्चालन गर्न सकिन्छ, सो परीक्षण गरी पुनर्निर्माण र मर्मत प्रव्रिmया तत्काल अगाडि बढाइने बताउनुभयो ।

उहाँले तत्काललाई भएका संरचनाकै मर्मत र आवश्यक पुनर्निर्माण गरी सञ्चालनमा ल्याउने तयारीमा सरकार रहेको उल्लेख गर्नुभयो । अहिलेको व्यवस्था विरोधीको आक्रमणको निसानामा सरकारी, सार्वजनिक र निजी सम्पत्ति परेको उहाँको भनाइ थियो । “जेनजीको मागसहितको प्रदर्शनमा गलत ढङ्गले गरिएका गतिविधिका कारण सरकारी र निजी सम्पत्तिमा क्षति भएको हो,” उहाँले भन्नुभयो, “गणतन्त्र, सङ्घीयता र समावेशिता मन नपराउनेको घुसपैठ भएको देखिएको छ ।” 

मुख्यमन्त्री बानियाँले आगजनी र तोडफोडबाट क्षति भएका संरचना चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउने  गरी आवश्यक तयारी तत्काल थाल्न कर्मचारीलाई आग्रह गर्दै व्यक्तिको सम्पत्ति पनि क्षति हुनु गलत कार्य भएको बताउनुभयो । जेनजी आन्दोलनका व्रmममा आगजनी र तोडफोड गरी क्षति पु-याइएका बागमती प्रदेश सभा, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको निरीक्षण गर्नुभएको थियो । यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालय, हेटौँडामा रहेको निजी लगानीको व्यावसायिक प्रतिष्ठान भाटभटेनीको निरीक्षण गर्नुभएको हो ।