• ३ असोज २०८२, शुक्रबार

साढे तीन करोडमा बनेको कृष्णपुर नगरपालिकामा दुई करोड क्षति

blog

आगजनीपछि कृष्णपुर नगरपालिका । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, असोज ३ गते ।
साढे तीन करोड बढी लगानीमा निर्माण गरिएको कञ्चनपुरको कृष्णपुर नगरपालिकाको भवनमा आगलागी हुँदा दुई करोड बढीको क्षति पुगेको छ । आर्थिक वर्ष २०७७/०७८ मा तीन करोड ५७ लाखमा निर्माण गरिएको उक्त प्रशासकीय भवन जेनजी आन्दोनकारीहरुको निसानामा परेपछि जेलर खरानी बनेको छ ।

आगजनीबाट नगरप्रमुख हेमराज ओझाको कार्यकक्ष, योजना शाखा, भूमि इकाई, स्वास्थ्य शाखा र शिक्षा शाखा जलेर खरानी बनेका छन् । यी शाखाहरूमा राखिएका महत्वपूर्ण कागजात लगायत कुर्सी, टेबुल, पङ्खा, एसी जलेर खरानी बनेको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बताउनुभयो । तोडफोड र आगजनीबाट सामाग्री, उपकरण लगायत भवनमा दुई करोडभन्दा बढीको क्षति पुगेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

गत भदौ २४ गते ‘जेनजी’ समूहको आन्दोलनमा घुसपैठ हुँदा पालिकामा लगाइएका एसी, पङ्खा, सिसा तोडफोड गर्नुका साथै ५ मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएका थिए । यसैबिच, आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याउनेहरूलाई कारबाहीका लागि सम्बन्धित निकायमा लेखि पठाउने बिहीबार कृष्णपुर नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले निर्णय गरेको छ । आन्दोलनकारीहरूले नगरपालिकामा अत्यधिक क्षति पुर्याएपछि केही दिन सेवा बन्द गरिएको थियो । पालिकाको सरसफाइ गरेर एउटै कोठाबाट भए पनि कार्यालय सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत भट्टले बताउनुभयो ।