• ३ असोज २०८२, शुक्रबार

संविधान दिवसका अवसरमा बेनीमा प्रभातफेरी

blog

संविधान दिवसका अवसरमा बेनीमा गरिएको प्रभातफेरी । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, असोज ३ गते ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ का अवसरमा शुक्रबार बेनीमा प्रभातफेरी गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा प्रभातफेरी गरिएको हो ।

बेनीको वीरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा संविधान सभाका सदस्य गोविन्द्र पौडेल, जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, निजामती कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सर्वसाधारण र सुरक्षाकर्मीहरूको सहभागिता थियो ।

प्रभातफेरी हुलाकचोक, न्यूरोड, क्याम्पसचोक हुँदै सङ्गमचोक, बालमन्दिर चोक भएर पुनः वीरेन्द्रचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा संविधानसभाका सदस्य पौडेलले नयाँ राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि एकताबद्ध भएर उभिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जेनजी पुस्ताको आन्दोलनको भावना र मर्म अनुसार संविधानलाई संशोधन गर्दै उन्नत लोकतन्त्रले मात्रै संविधानको रक्षा गर्न सक्छ  ।’’ राजनीतिक दलहरुलाई कमजोर बनाएर संविधान र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने खेल भइरहेकाले सबैजना सचेत हुनुपर्ने उहाँको भनाइ थियो । 

जिसस कार्यवाहक प्रमुख खत्रीको संविधान दिवसका अवसरमा प्रभातफेरी कार्यक्रममा सहभागी सबैलाई हार्दिक आभार व्यक्त गर्नुभयो । आज साँझ वीरेन्द्रचोकमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरिएकाले सहभागिताका लागि उहाँले अनुरोध गर्नुभयो ।