नवीनराज कुइँकेल
लमजुङ, असोज ३ गते । लमजुङमा सार्वजनिक सवारीमा नयाँ भाडादर निर्धारण गरिएको छ । लमजुङ जिल्ला यातायात व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले नयाँ भडादर निर्धारण गरेको हो । सार्वजनिक सवारीको भाडादर निर्धारण गर्नका लागि यस अघि सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमको संयोजकत्वमा यातायात व्यवस्थापन समिति गठन गरिएको थियो ।
सवारी तथा यातायात व्यवस्थापन ऐन, २०४९ को दफा १५४ अनुसार लमजुङमा यातायात व्यवस्थापन समिति गठन गरिएको थियो । सार्वजनिक यातायतामा देखिएका समस्या न्यूनीकरण गर्न र नयाँ भाडादर कायम गर्न गठित समिति मार्फत सहजीकरण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेलको अध्यक्षतामा बिहीबार बसेको बैठकलले लमजुङ जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरेको हो ।
यसअघि निर्धारण गरिएको भाडादर कार्यान्वयन नभएको र सवारी साधनहरुले मनपरी भाडा असुलेको गुनासो सर्वत्र आउन थालेपछि नयाँ भाडादर निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले बताउनुभयो । अधिकांश स्थानमा पुरानै भाडादर कायम गरिए पनि केही स्थानमा सञ्चालनमा रहेको सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ । साविकको भाडादर र नयाँ भाडादर हेर्दा भाडादर वृद्धि भएको देखिन्छ तर साविकको भाडादर कार्यान्वयन नगरी मनपरी भाडा लिने गरेको गुनासो आइरहेको हुँदा निर्धारण गरिएको नयाँ भाडादरले यात्रुहरुलाई राहत मिल्ने गौतमले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले नयाँ भाडदरभन्दा बढी लिएको भेटिएमा ट्राफिक प्रहरीलाई खबर गर्न भनेको छ । बेंसीशहर–डुम्रे (तनहुँ) बसमा यसअघि एक सय ८५ रुपियाँ कायम गरिएकोमा उक्त भाडादरलाई घटबढ नगरी यथावत् गरिएको छ । बेंसीशहर–उदिपुर–चिती–तिलाहार–हिलेबेंसीको भाडादर बसमा दुई सय १० र जिपमा दुई सय ५० कायम गरिएको छ । यसअघि बसमा एक सय ८० रुपियाँ र जिपको भाडादर दुई सय १५ रुपियाँ कायम गरिएको थियो । यसरी हेर्दा साविकको भाडादरभन्दा केही प्रतिशत भाडादर बढेको छ । केही स्थानमा बाहेक अधिकांश स्थानमा पूरानै भाडार कायम गरिएको छ ।
नागरिकले लमजुङमा यसअघिकै भाडादर पनि कार्यान्वयन नभएको गुनासो गर्दै आएका छन् । निर्णय एउटा हुने र व्यवसायीले निर्णयभन्दा बढी भाडा असुल्ने गरेको मर्स्याङ्दी–९ का पूर्व शिक्षक ऋषिराम श्रेष्ठले गुनासो गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले भाडादर सबै यातायात व्यावसायीले कार्यान्वयन गर्ने गरी निर्णय भएको बताउनुभयो । कार्यान्वयन भए–नभएको अनुगमन दैनिक ट्राफिक प्रहरीमार्फत गरिने र कार्यान्वयन नभएको अवस्थामा कारबाही गरिने उहाँले बताउनुभयो । भाडा निर्धारण समितिको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङलगायत सरोकारवालाहरुको उपस्थिति थियो ।