• ३ असोज २०८२, शुक्रबार

दाउन्नेको सडक तीन दिनदेखि अनियमित

blog

दाउनेस्थित सडक खण्डमा गुडेका सवारी साधन । तस्बिरः बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, असोज ३ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटबल सडक खण्डमा तीन दिनदेखि यातायात अनियमित हुँदैआएको छ । लगातारको वर्षाले विनयी त्रिवेणी गाउँपालिकाको दाउन्ने खण्डमा सहज ढङ्गले सवारी साधन चल्न नसक्दा यातायात अनियमित भएको नवलपुर प्रहरीले जनाएको छ । 

जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराका अनुसार लगातारको वर्षाले डाउन्नेको खुर्सानी खोला र विश्वकर्मा मन्दिरनजिक सडक सञ्चालनमा कठिन भइरहेको हो । 

बाटो चिप्लो र खाल्डाखुल्डी भएका कारण विश्वकर्मा मन्दिरमा बुधबारदेखि एकतर्फी सञ्चालन भएको सडक बिहीबार केहीबेर सहज ढङ्गले चले पनि फेरि अवरुद्ध भएको छ । हिजो साँझदेखि खुर्सानी खोलामा पनि बाटो असहजताका साथ एकतर्फी सञ्चालन भएको बन्जराले बताउनुभयो । बिचबाटोमा गाडीहरु बिग्रँदा पनि समस्या हुनेगरेको उहाँको भनाइ छ । 

अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि लगातार पानी परेकाले खुलाउन नसकिएको प्रहरीले जनाएको छ । नवलपुरमा तीन दिनदेखि वर्षा भइरहेको छ । अहिले दाउन्नेको पूर्वपश्चिम दुबैतिर सात किलोमिटरसम्म जाम परेको प्रहरी निरीक्षक बन्जराले बताउनुभयो । 

अहिले पूर्वबाट पश्चिमतर्फ जाने गाडी विस्तारै पार हुन सके पनि पश्चिमबाट पूर्वतर्फ आउने गाडीहरु उक्लिन नसकेको बन्जराको भनाइ छ । अहिले दाउन्नेमा बाटोको अवस्था सहज नभएकाले अवस्था राम्रोसँग बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सडक विस्तारको जिम्मा पाएको चिनीयाँ ठेकेदार कम्पनीको सडक निर्माणमा ढिलासुस्ती लापरवाहीका कारण यात्रुले सास्ती खेप्दैआएका छन् । नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले ठेकेदार कम्पनीलाई यात्रा सहज हुनेगरी दाउन्नेमा खाल्डाखुल्डी पुर्न र थप कटानको काम नगरी चाडपर्वमा यात्रा सहज बनाउन निर्देशन दिए पनि त्यो कार्यान्वयन भएको छैन ।