लक्ष्मी चौधरी
जनकपुरधाम, असोज ३ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह र प्रदेश सभा सभामुख रामचन्द्र मण्डलबीच आज (शुक्रबार) मुख्यमन्त्री निवासमा भेटघाट भएको छ।
भेटमा हालैको जेनजी आन्दोलनका क्रममा प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयमा भएको क्षतिपश्चात् पुनर्निर्माण कार्यबारे महत्वपूर्ण छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
त्यसैगरी दुवै शीर्ष पदाधिकारीबीच प्रदेश सभाको प्रभावकारी सञ्चालन, विधायकीय कामलाई चुस्त बनाउनुपर्ने आवश्यकता तथा समसामयिक राजनीतिक विषयमा समेत विचार–विमर्श भएको सचिवालयले जनाएको छ।
भेटघाटलाई संविधान दिवसको पृष्ठभूमिमा प्रदेशको राजनीतिक स्थायित्व, पुनर्निर्माण र प्रभावकारी प्रशासनिक कार्यान्वयनबारे सकारात्मक कदमका रूपमा लिइएको बताइएको छ।