• ३ असोज २०८२, शुक्रबार

प्रमुख जिल्ला अधिकारीको निर्देशनमा स्थानीय तहको खाता सञ्चालन

blog

रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा 
चन्द्रपुर (रौतहट), असोज ३ गते ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको निर्देशनमा साविकको निमित्त प्रमुख प्रशासकीय अधिकृतको नाममा रौतहटका १४ वटा स्थानीय तहको खाता सञ्चालन सुचारु हुने भएको छ  ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुन्जेलसम्मका लागि साविक जिम्मेवारीमा रहेका निमित प्रमुख प्रशासकीय अधिकृतकै नाममा हाललाई खाता सञ्चालन गर्न कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटलाई निर्देशन दिइएको रौतहटका प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।

दशैँमा कर्मचारीलाई तलब खुवाउनु पर्ने भएकाले खाता सुचारु नहुँदा समस्या हुने भएकाले तलब, भत्तालगायत अति आवश्यक खर्चको भुक्तानी मात्रको व्यवस्थाका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

१८ मध्ये ४ वटा स्थानीय तहले खाता सुचारु गरेका थिए, अन्य भने खाता सञ्चालनको प्रक्रियामा लागेका थिए तर १४ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको अवस्थामा मन्त्रालयले पुनः  जिम्मेवारी नै नदिएको कर्मचारीको नाममा हुन लागेको खाता सञ्चालनको विरोध हुन थालेपछि कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले खाता सञ्चालन गरिएका चार वटा स्थानीय तहको समेत खाता निष्क्रिय पारेका थिए साथै अन्यको खाता सञ्चालनको प्रक्रिया रोकेका थिए ।

साविककै कर्मचारीको नाममा खाता सञ्चालनको निर्णय गर्दा व्यापक विरोध हुने भए पछि जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार रौतहटका १८ वटै स्थानीय तहसँग सुशासन कायम तथा पारदर्शिताका लागि प्रतिबद्धता जनाउन लगाएका छन् । जिल्लाका स्थानीय तहहरुको प्रमुख प्रशासकीय अधिकृत, कोष तथा लेखा नियत्रक कार्यालयका प्रमुख कोष नियन्त्रक र सुरक्षा निकायका पदाधिकारीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय रौतहटमा भएको छलफलपछि स्थानीय तहहरुले १९ बुँदे साझा प्रतिबद्धता गरेका छन् ।