• ३ असोज २०८२, शुक्रबार

कास्की कारागारमा फर्किए ३७० कैदीबन्दी

blog

कास्की कारागार ।

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), असोज ३ गते । जेनजी आन्दोलन क्रममा कारागारमै आक्रमण भएपछि कास्की कारागारबाट निस्किएका कैदीबन्दी फर्किने क्रम जारी छ । गत भदौ २४ गते कारागारबाट निस्किएका ३ सय ७० जना कैदीबन्दी फर्किएको कारागार प्रशासक राजेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबारसम्म ती कैदीबन्दी फर्किएका हुन् । 

कास्की कारागारमा ७ सय ७३ जना कैदीबन्दी रहेकोमा ४ सय ३ जना कैदीबन्दी फर्किन बाँकी रहेको शर्माले जानकारी दिनुभयो । तीन जना भारतीय र एक क्यानेडिएन फर्किएका छन् भने १० जना भारतीय, २ जना चाइनिज र एक अमेरिकन कैदीबन्दी फर्किएका छैनन् । कारागारमा भारतीय र अन्य  देशका गरी १७ जना विदेशी कैदीबन्दी थिए । अमेरिकन कैदीबन्दी लेकसाइडमै भएकोे र चाइनिज पनि वकिलको सम्पर्कमा रहेको जानकारी आएको शर्माले बताउनुभयो । कारागारमा ३५ जना महिला कैदीबन्दी रहेकोमा १४ जना फर्किएका छन् । 

कारागारमा सरसफाइसहित विद्युतलगायतको व्यवस्थापन भएपछि भदौ २९ गतेदेखि कैदीबन्दी फर्किन थालेका हुन् । बन्दीगृहमा केही नभए पनि प्रशासनिक भवनमा क्षति हुनका साथै सवारी साधनमा आगजनी गरिएको थियो । प्रशासनिक भवनका फर्निचर, कम्प्युटर जलेपछि काम गर्न समस्या भएको शर्माको भनाइ छ । 

कैदीबन्दी र थुनुवा राख्न कास्की जिल्ला कारागारमा ४ सय २० जनाको मात्रै क्षमता  भए पनि दोब्बर बढी राखिँदै आएको छ । स्थिति सामान्य बन्दै गएपछि कास्की कारागारले कैदीबन्दीलाई फर्कन आग्रह गरिरहेको छ । कास्की कारागारमा महिलाका लागि एउटा र पुरुषका लागि २ वटा ब्लक निर्माण गरिएको छ ।