• ३ असोज २०८२, शुक्रबार

रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

blog

मस्को र जकार्ता, असोज ३ गते । शुक्रबार बिहान रुसको सुदूर पूर्वी कामचटका प्रायद्वीप र इन्डोनेसियाको सेन्ट्रल पपुवा क्षेत्रमा शक्तिशाली भूकम्प आएपछि स्थानीय बासिन्दा आत्तिएका छन् । दुवै क्षेत्र प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा पर्ने भएकाले बारम्बार भूकम्पीय गतिविधिको सामना गर्दै आएका छन् ।

रूसमा ७.८ म्याग्निच्युडको भूकम्प कामचटका प्रायद्वीपको तटमा महसुस भएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । राजधानी पेट्रोपाभ्लोभस्क–कामचाट्स्कीबाट एक सय २८ किलोमिटर पूर्वमा र १० किलोमिटर गहिराइमा आएको यो भूकम्पका कारण भवनहरू हल्लिएका थिए । रूसी जियोफिजिकल सेवाले यसलाई ७.४ म्याग्निच्युडको अनुमान गर्दै कम्तीमा पाँच वटा परकम्प आएको जनाएको छ ।

सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा घरभित्रका फर्निचर, लाइट फिक्स्चर र सडकमा पार्क गरिएका कारसम्म हल्लिएको देखिन्छ ।

सुरुमा जारी गरिएको सुनामी चेतावनी केही घण्टापछि हटाइएको भए पनि अमेरिकी प्यासिफिक सुनामी वार्निङ सेन्टरले नजिकैको तटमा खतरनाक छालको सम्भावना रहेको चेतावनी दिएको थियो । “कामचटका बासिन्दाहरूको लचिलोपन फेरि एक पटक परीक्षण भइरहेको छ”, गभर्नर भ्लादिमिर सोलोदोभले टेलिग्राममार्फत प्रतिक्रिया दिँदै शान्त रहन आग्रह गर्नुभयो । हालसम्म क्षतिको कुनै रिपोर्ट छैन ।

यसैबिच, इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तमा पनि ६.१ म्याग्निच्युडको भूकम्प गएको युएसजिएसले जनाएको छ । नबिरे सहरबाट २८ किलोमिटर दक्षिणमा १० किलोमिटर गहिराइमा केन्द्रित भूकम्पलाई इन्डोनेसियाको बिएमकेजी एजेन्सीले भने ६.६ म्याग्निच्युड र २४ किलोमिटर गहिराइमा आएको बताएको छ ।

विशाल द्वीपसमूह राष्ट्र इन्डोनेसिया प्रशान्त ‘रिङ अफ फायर’ को सक्रिय टेक्टोनिक क्षेत्रमा पर्न जाने भएकाले बारम्बार शक्तिशाली भूकम्पको सामना गर्दै आएको छ ।

जापानदेखि दक्षिणपूर्व एसिया हुँदै प्रशान्त बेसिनभर फैलिएको यस भूगर्भीय चापका कारण इन्डोनेसिया र रूसका तटीय बासिन्दाहरू निरन्तर जोखिममा रहने गरेका छन् । रासस/एएफपी