ठाकुरप्रसाद आचार्य
म्याग्दी, असोज ३ गते । धौलागिरी हिमालको फेदी भएर बग्ने राहुघाट र सहायक नदीमा निर्माण भएका तीन वटा जलविद्युत् आयोजनाबाट उत्पादित १०७ दशमलब ३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
निजी क्षेत्रबाट हालै निर्माण सम्पन्न भएका आयोजनाहरु अपर राहुघाट जलविद्युत् आयोजनाको ४८ दशमलव ५ मेगावाट,चिमखोला–राहुघाट–मंगले जलविद्युत् आयोजनाको ३७ दशमलव ५ मेगावाट र ठूलोखोला जलविद्युत् आयोजनाको २१ दशमलव ३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको हो । यी सबै आयोजनाहरु जिल्लाको रघुगङ्गा गाउँपालिकाभित्र पर्दछन् ।
अपर राहुघाट र चिमखोला–राहुघाट–मंगले तुँदी हाइड्रोपावर लिमिटेढ र ठूलोखोला जलविद्युत् आयोजना संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको हो । ४८ दशमलब पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत् आयोजनाले बुधबारदेखि परीक्षण उत्पादन थालेको छ ।
तुँदी पावर प्रवर्धक रहेको आयोजनाको बाँध,सुरुङ,विद्युतगृह,प्रसारण लाइन, स्विचयार्ड निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकिएपछि वुधबार विश्वकर्माको पूजाको अवसर परेर परीक्षण उत्पादन थालेको हो । २०७७ मा निर्माण थालिएको आयोजना गाउँपालिका र स्थानीय तहको साथ र सहयोगका कारण समयभित्र नै सम्पन्न गर्न सकिएको आयोजना प्रमुख इन्द्र ढकालले बताउनुभयो
रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर–४ दग्नामको फेदीमा विद्युतगृह रहेको यस आयोजनाको सुरुङ चार हजार नौ सय मिटर लामो छ । आउटलेट देखि विद्युतगृहसम्म छ सय ८० मिटर लामो पेनस्टक पाइपलाइन जडान भएको छ ।
यसैगरी तुँदी पावरले नै यसअघि निर्माण गरेको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मंगले जलविद्युत् आयोजनाले गत असार महिनादेखि व्यावसायिक उत्पादन थालेको थियो । यस्तै संयुक्त उर्जा लिमिटेडले निर्माण गरेको २१ दशमलब तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौ महिनादेखि नै व्यावसायिक उत्पादन थालेको थियो ।
राहुघाट नदीमा नै निर्माणाधीन अवस्थामा रहेको ४० मेगावाट क्षमताको राहुघाट र २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । गाउँपालिकाभित्र निर्माण भएका जलविद्युत् आयोजनाले विकास र समृद्धिको ढोका खोल्ने रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।
आयोजनाका कारण स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै आर्थिक क्षेत्र चलायमान भएको उहाँले बताउनुभयो । आयोजना सम्पन्न भएर गाउँपालिकाले विद्युत् रोयल्टी पाउन थालेपछि पालिकाको विकासले गति लिनुका साथै आयोजना प्रभावितहरुले शेयर लगानी गरेर फाइदा लिने सक्ने उहाँको भनाइ थियो ।
रघुगङ्गा नदीमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट अस्थायी रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।