सुर्खेत समाचारदाता
सुर्खेत, असोज ३ गते । जेनजी समूहको आन्दोलनका कारण आगजनीबाट क्षति पुगेको सुर्खेतस्थित कर्णाली प्रदेश सभा पूर्ववत् अवस्थामा आउन कठिन देखिएको छ । आगामी माघ २१ गतेभित्र कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउनुपर्ने बाध्यता छ । आगजनीबाट प्रदेश सभा बैठक, सचिवालयलगायत सम्पूर्ण कार्यालय नष्ट भएपछि पुनर्निर्माण गर्न समय लाग्ने देखिएको छ ।
आगजनीबाट प्रदेश सभा बैठक, मिडिया ग्यालेरी, सभामुख र उपसभामुखको कार्यालय, संसदीय दलका नेताको कार्यालय, विषयगत समितिका कार्यालय ध्वस्त भएका छन् । त्यहाँका कम्प्युटर, निर्णय दस्ताबेज पनि जलेका छन् । फर्निचरको नामोनिसान छैन । प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले करिब तीन घन्टाको आगजनीबाट कर्णाली प्रदेश सभा ध्वस्त भएको बताउनुभयो । उहाँले प्रदेश सभा स्थापना भएदेखि हालसम्म कम्प्युटर तथा कागजमा राखिएका महत्वपूर्ण दस्ताबेज, निर्णय जलेर खरानी भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश मामिला समिति र अर्थ तथा प्राकृतिक स्रोत समितिका सबै दस्ताबेज जलेका छन् भने सामाजिक र सार्वजनिक लेखा समितिका धेरै दस्ताबेज खरानी भएका छन् । लेखा र स्टोरमा पनि आगजनी तथा तोडफोडबाट व्यापक क्षति पुगेको छ । आन्दोलनका क्रममा सबैभन्दा धेरै क्षति भोगेको कर्णाली प्रदेश सभा हो । बुधबार क्षतिको मुचुल्का गरिएको छ । सूचना अधिकारी पौडेलका अनुसार करिब चार करोडको क्षति भएको अनुमान छ । अब मर्मत गर्न र पूर्ववत् अवस्थामा आउन निकै समय लाग्ने जानकारी उहाँले दिनुभयो ।
कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले आगामी माघमा हुने हिउँदे अधिवेशनसम्म प्रदेश सभा मर्मत तथा पुनर्निर्माण हुन नसकेमा विकल्प खोजिने बताउनुभयो । उहाँले सकभर अहिलेको सभालाई जति सक्यो त्यति बजेट व्यवस्थापन गरेर मर्मतसम्भार गरेर सभा त्यही सञ्चालन गरिने बताउनुभयो । समयमा मर्मत गर्न सकिएन भने जिल्ला समन्वय समितिको हललगायत विभिन्न मन्त्रालयका सभा विकल्पका रूपमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।