गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ३ गते । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने सङ्घीय संसद्को चुनावका लागि आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
उहाँले चालु बजेटमार्फत आयोजना बैङ्कमा प्रविष्ट नगरेका एक हजार तीन सयभन्दा बढी आयोजना फेला परेको र ती आयोजनाका लागि विनियोजित करिब एक खर्ब १० अर्ब रुपियाँ भेटिएको नेपाल आर्थिक पत्रकार समाजको प्रतिनिधि मण्डललाई बिहीबार जानकारी दिनुभयो । त्यस्तै चालु बजेटमा राखिएका गोष्ठी, बैठकलगायत विभिन्न शीर्षकका करिब १२ अर्ब रुपियाँ निकाल्न सकिने पनि उहाँले जानकारी दिनुभयो । अर्थमन्त्रीका अनुसार सरकारले निर्वाचनका लागि विनियोजन भएर बाँकी भएको रकम पुनर्निर्माणमा लगाउने तयारी छ ।
सरकारको प्रमुख लक्ष्य नै निर्वाचन भएको र यसअघि तीन तहको चुनाव गराउन २५ अर्ब रुपियाँ खर्च भएकाले यस पटक त्योभन्दा कम बजेट खर्च हुन सक्ने आकलन छ तर सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने र कतिपय पालिकाका भवन जलेका कारण बजेट बढ्न सक्ने अर्थमन्त्री खनालको भनाइ छ । अर्थ मन्त्रालयले तयार गरेको अर्थत्रन्त्र पुनरुत्थान योजना (बिजनेस रिकभरी प्लान) मन्त्रीपरिषद् बैठकमा लैजाने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो ।