• ७ मंसिर २०८१, शुक्रबार

कम रेक्टरको भूकम्प जाँदा पनि जाजरकोटमा किन भयो बढी मानवीय क्षति ?

blog

जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पपछि भत्केको घर । तस्विर : गोरखापत्र

काठमाडौं, कात्तिक १९ गते । गत वर्ष डोटीमा गएको ६.६ रेक्टरस्केलको भूकम्प जाँदा ६ जनाको मात्र मृत्यु हुँदा अहिले जाजरकोटमा ६.४ रेक्टरस्केलको भूकम्प जाँदा १५८ जनाको मृत्यु भएको छ । यसो हुनुका कारणबारे भूकम्पविदहरुले विभिन्न कारण औल्याउनुभएको छ । 

२०७२ मा गोरखा बारपाकपछि जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति सबैभन्दा बढी मानवीय क्षति गर्ने भूकम्प गएको छ । २०७२ सालमा गएको भूकम्पमा परी नौ हजार बढीको मृत्यु भएको थियो । २२ हजार बढी घाइते भएका थिए ।  

गृह मन्त्रालयको तथ्यांकअनुुसार यस भूकम्पमा अहिलेसम्म १५८ जनाले ज्यान गुमाइसकेका छन् । ३५७ जना घाइते भएका छन् । 

यो भूकम्पपछि  सयौँ साना पराकम्पहरु गएका थिए । तर ठूलो मानवीय क्षति गर्नेगरी पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गयो । गृह मन्त्रालयको तथ्यांकअनुुसार यस भूकम्पमा अहिलेसम्म १५८ जनाले ज्यान गुमाइसकेका छन् । ३५७ जना घाइते भएका छन् । 

जाजरकोट सदरमुकाम खलंगामा दर्जनौँ घरहरु भत्किएका छन् । भूकम्पलगत्तै ४ रेक्टरस्केल माथिका चारवटा पराकम्पनहरु गइसकेका छन् । ४ रेक्टरमुनिका ३११ वटा पराकम्पहरु गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

गोरखा बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्प दिउँसोको समय र सार्वजनिक बिदाको दिन परेका कारण बढी ठूलो क्षति हुन पाएन । तर जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प मध्यरातमा गएकाले मानिसहरु ओछ्यानमै रहेकाले बढीको ज्यान गएको आँकलन गरिएको छ । 

भूकम्प गएपछि धेरै मानिस घरबाहिर निस्कन सकेनन् । केही मानिसहरु मात्र भागेर ज्यान जोगाउन सफल भए । भूकम्पका कारण प्रायजसो परम्परागत घर तथा कच्ची घरमा बढी क्षति पुगेको देखिएको छ । गतवर्ष डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टरस्केलको भूकम्प गएको थियो । गतवर्ष कात्तिक २२ गते राति २ः१२  बजे गएको भूकम्पमा परी डोटीमा मात्र ६ जनाको ज्यान गएको थियो । भौतिक  संरचनामा धेरै क्षति पुर्याएको थिएन । 

गत असोज १६ गते बझाङ केन्द्रबिन्दु गरेर ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यस भूकम्पमा परी बझाङ् र बाजुरामा गरी एक–एक जनाको ज्यान गएको थियो ।

गत असोज १६ गते बझाङ केन्द्रबिन्दु गरेर ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यस भूकम्पमा परी बझाङ् र बाजुरामा गरी एक–एक जनाको ज्यान गएको थियो । गतवर्ष डोटीमा गएको भूकम्पको तुलनामा जाजरकोटमा शुक्रबार राति गएको भूकम्प सानो हो । तर मानवीय तथा भौतिक क्षति भने जाजरकोट भूकम्पमा बढी भयो । मूख्यगरी ढुङ्गा, माटोले बनेका कच्ची घर र रातिको समयमा मानिस निद्रामा रहेकाबेला भूकम्प गएकाले मानवीय क्षति बढी भएको बताइएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार कच्ची घर, कमजोर भूबनावट, भिरालो जमिन र भूकम्पको केन्द्रविन्दु बस्तीनजिक भएकाले बढी क्षति भएको हो । 

उहाँले भन्नुभयो, “नेपालको हिमालय क्षेत्र नै भूकम्पीय जोखिममा रहेको क्षेत्र हो । जाजरकोटमा गएको भूकम्पमा मानवीय क्षति बढी हुनुको कारण कच्ची घरहरु, रातको समय, जनचेतनाको अभाव र भूकम्पको केन्द्रबिन्दु बस्तीनजिक रहेकाले क्षति बढी भएको हो ।” 

पश्चिम नेपालमा विगत एक वर्षमा ठूला भूकम्पहरु धेरै गइरहेकाले सावधानी अपनाउनु पर्ने भए पनि त्यसो हुन नसक्दा बढी मानवीय क्षति भएको उहाँको भनाइ छ । उहाँका अनुसार डोटीको भूकम्पको केन्द्रविन्दु बस्तीभन्दा केही पर भएकाले पनि त्यसले निम्त्याएको क्षति कम भएको हो । 

अझ सचेत हुनुपर्छ  

पश्चिम नेपालमा अझै भूकम्पको जाखिम भने नटरहेको वरिष्ठ भूकम्पविद् भट्टराईको भनाइ छ । पश्चिम नेपालमा ५२० बर्षअघिदेखि ठूलो भूकम्प नगएकाले जुनसुकैबेला पनि भूकम्प जान सक्ने जोखिम रहेको उहाँको भनाइ छ । वरिष्ठ भूकम्पविद् भट्टराईले भन्नुभयो, ‘पश्चिम नेपालमा ५२० बर्षअघि ठूलो भूकम्प गएको छैन । त्यसैले पश्चिम नेपालमा जुनसुकै बेला ठूलो भूकम्प जाने सम्भावना देखिन्छ । सचेत रहनुपर्छ ।’ 

भूकम्पीय शक्ति क्षणीकरण हुने एकमात्र कारण भूकम्प नै जानुपर्ने भएका कारण स–साना भूकम्पहरु थोरै मात्रामा जाँदैमा जोखिम नटर्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘भूकम्पीय शक्ति क्षयीकरण हुनको लागि एक पल्ट ठूलो भूकम्प गएपछि तत्काल ठूलो भूकम्प जाने सम्भावना रहँदैन । पश्चिम नेपालमा ५२० वर्ष अघिदेखिको शक्ति सञ्चित छ । त्यसै साना भूकम्पहरु हजारौँको संख्यामा जाँदा मात्र सो शक्ति क्षयीकरण हुने देखिन्छ । 

संरचना बलियो बनाउनुपर्छ 

उहाँका अनुसार नेपाल भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्रको रुपमा चिनिएकाले भौतिक संरचना बलियो बनाउनुपर्छ । अहिलेसम्म भूकम्पका कारण मृत्यु हुनुको मूख्य कारण भौतिक संरचना नै भएकाले इन्जिनियरले नक्सा पास गरेपछि मात्र भौतिक संरचना बनाउनुपर्ने उहाँको भनाइ छ । बस्ती विकास गर्नेक्रममा पनि भौगोलिक अध्ययन, माटोको परीक्षण गरेर मात्र संरचनाहरु निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।