• ११ मंसिर २०८१, मङ्गलबार

सामाजिक सञ्जालको बढ्दो प्रयोग

blog

फोर्थ इस्टेट वा फोर्थ पावर शब्दले प्रेस र समाचार जगत्लाई जनाउँछ । चौथो अङ्ग÷शक्तिले प्रेसमा राजनीतिक मुद्दालाई तयार गर्न सक्ने अन्तर्निहित क्षमता छ भन्ने देखाउँछ । पत्रकारिताले समाचार र विचार मात्र प्रवाह गर्दैन, यसले निगरानी, सहसम्बन्ध, सांस्कृतिक प्रसारण, जनतालाई सङ्गठित गर्ने र जनमत निर्माणको महत्वपूर्ण भूमिका निर्वाह गर्छ । पत्रकारिताको प्रमुख केन्द्रमा नागरिक भएको हुँदा अधिक शक्तिशाली भएको छ । मानिसमा सञ्चारको प्रभाव धैरै पर्छ । प्रत्येक मानिसले सञ्चारमा पहुँच पुगोस भनेर कामना गर्छ । लोकतान्त्रिक देशमा सञ्चार माध्यमलाई राज्यको चौथो अङ्ग भनिने कारण यहीँ हो । 

चौथो अङ्ग संवैधानिक रूपमा मान्यता दिइएको होइन । पत्रकारिताको शक्तिले ऊ चौथो अङ्गको अभ्यासको रूपमा स्थापित भएको मानिन्छ । आधुनिक सञ्चारको तीव्रत्तम विकासले विश्व एउटै गाउँ बन्दै छ । सामाजिक सञ्जालको बढ्दो लोकप्रियताले नै यसले आफूलाई पत्रपत्रिकाको स्वरूपमा परिणत गरेको झझल्को दिन्छ । कम्प्युटरसँगै वा सामाजिक सञ्जालका कारणले जनसाधारणले सूचनामा बिना रोकटोक पहुँच बढाउँदै गएका छन्‌ । सामाजिक सञ्जाल सबैको साझा सम्पत्ति भएको छ । यसले सकारात्मक र नकारात्मक दुवै किसिमका सन्देश सम्प्रेषण गरिरहेको छ । प्रयोग कर्ताको उद्देश्य र आनी बानीले सामाजिक सञ्जाल प्रभावित हुनु स्वाभाविक छ । आवश्यकता आविष्कारको जननी हो भनेझैँ मान्छे जङ्गली अवस्थादेखि औद्योगिक एवं सञ्चारको युगसम्म अद्भुत वैज्ञानिक आविष्कार भएका छन्‌ । सञ्चारका साधनको विकासले मानिसको जीवन सरल, सहज र जटिल बनाएको छ । सामाजिक सञ्जालमा मानिसको व्यापक पहुँच छ । सूचना प्रविधिको विकसित स्वरूपमा सामाजिक सञ्जाल स्थापित भएको छ । सामाजिक सञ्जाल प्रयोग गर्न शिक्षा आवश्यक छैन ।

 सामान्य शिक्षाको भरमा सामाजिक सञ्जालको प्रयोग भइरहेको छ । सामाजिक सञ्जालको शक्ति हेर्दा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भन्दा शक्तिशाली हुन गइरहेको छ । सामाजिक सञ्जालमा पोष्ट हुने सामग्री दबाबको रूपमा प्रेषित भइरहेको छ । सन्देशले सकारात्मक र नकारात्मक विषयवस्तुलाई सम्प्रेषण गर्दा कहिलेकाहीँ अनेकन विवाद उत्पन्न हुन्छन् ‌। नयाँ द्वन्द्व सिर्जनाको माध्यम बन्छ । घरजम बसाल्नेदेखि पारपाचुकेसम्म छ । सामाजिक सञ्जालको विश्वसनीयता र लोकप्रियता बढ्दै गइरहेको छ । व्यक्ति र राज्यलाई आदेश, उपदेश, सकारात्मक र नकारात्मक पक्षमा दिशानिर्देश गरिरहेको पाइन्छ । अहिले प्रख्यात भइरहेका सोसल मिडियामा फेसबुक, युट्युब, इन्स्टाग्राम, स्नेपच्याट, ट्विटर, लिङ्कडिन, ह्वाट्सअप, क्युरा आदि प्रमुख हुन्‌ । सोसल मिडियालाई रोक लगाउने विषयमा सरकारका अभिव्यक्ति विभिन्न समयमा आउँछन्‌ । सामाजिक सञ्जाललाई बन्द गर्नेतर्फ शक्ति खर्चिनुभन्दा देशको गरिमा र अखण्डतालाई कायम राख्ने गरी कानुनी रूपमा व्यवस्थित गर्नु आवश्यक छ । सामाजिक सञ्जालमा आउने अपवाहपूर्ण समाचार, चरित्र हत्या, राष्ट्र विरोधी गतिविधि, आपाराधिक गतिविधि आदिलाई सही मार्गमा ल्याउन कानुन आवश्यक छ । 

सामाजिक सञ्जालको माध्यमले आमजनताले अभिव्यक्तिको स्वतन्त्रता व्यक्त गरेका छन्‌ । युवा वर्गमा नकारात्मक र सकारात्मक दुवै किसिमको छाप बसाएको छ । देशका ग्रामीण र दुर्गम क्षेत्रबाट विदेशका विश्वविद्यालयमा सजिलै सम्पर्क स्थापित गरी भर्ना हुने, परीक्षा दिने, जागिर पाउने आदिमा योगदान पु¥याएको छ । घरमा बसेर देशी एवं विदेशी सूचना प्राप्त गर्न सहज भएको छ । व्यापार, व्यवसाय, कर तिर्ने, दैदस्तुरी तिर्ने, बैङ्किङ कारोबार गर्ने, सरकारी कामकाजदेखि जीवन उपयोगी तमाम विषयवस्तुको समाधान सामाजिक सञ्जाल बनेको छ । भौतिक रूपमा घरजहानसँग सुख दुःख साट्न सकिने माध्यम बनेको छ । 

हामी त्यो देशका नागरिक हौँ जहाँ दस वर्ष अगाडिसम्म हुलाक सेवाबाट चिठ्ठी पत्र पठाउँदा महिनौँ दिनमा प्राप्त गथ्र्यौं । अहिले घटना भएको क्षणभरमा समाचार प्राप्त गर्न सकिरहेका छौँ । विश्व रङ्गमञ्चमा भएको सूचना तथा प्रविधिको चमत्कारिक प्रयोगबाट नेपाल अछुतो रहन सकेन । सामाजिक सञ्जालले जनपहिचान बढाउने, अनुसन्धानको कार्य गर्न सकिने, आफ्ना विचार राख्न पाउने, अर्काका विचार ग्रहण गर्न सकिने, आफ्नो रचनात्मक तथा सिर्जनात्मक क्षमतालाई बढाउन सक्ने, सामाजिक परिवर्तनमा सामाजिक सञ्जालको प्रयोग बढाउन सकिने, आफू र अर्कालाई सन्तुष्टि दिन सकिने, भर्चुअल मिटिङ गर्न सकिने आदि सकारात्मक पक्ष छन् ।

 सामाजिक सञ्जाल सर्वगुण सम्पन्न नै भने छैन । यसका अनेकानेक अवगुण पनि छन्‌ । अश्लीलता प्रदर्शन गर्ने माध्यमले नैतिकतामा ह्रास आइरहेको छ । युवामा अनियन्त्रित रूपले इन्टरनेट लत बस्दै गएको छ । ससाना बालबालिकालाई युट्युब नदेखाइ खाना नखाने, व्यापार–व्यवसायको नाममा ठगी गर्ने, चरित्र हत्या गर्ने कार्य भइरहेका छन्‌ । सामाजिक सञ्जालको लतले मानिसमा आँखाको समस्या, मानसिक समस्या, आत्मीयताको सङ्कट, साइबर अपराधिक गतिविधि, आत्मसम्मान घट्दै गएको, जनसम्पर्क समाप्त भएको, दैनिक गतिविधिमा कमी, पारिवारिक संवादहीनता, भौतिकवादी चिन्तन हाबी आदि नकारात्मक पक्ष छन्‌ । 

सामाजिक सञ्जाल तनावमुक्त गर्ने र तनावमा सिर्जना गर्ने माद्यम बन्दै गएको छ । इन्टरनेट नभएको दिनमा मानिसमा देखिने छटपटिले दुव्र्यसनीले व्यसन पूरा गर्न नपाएको सम्झना हुन्छ । हुन त मानिसको जीवन तनावमुक्त कहिल्यै हुँदैन । कुनै त्यस्तो समय वा युग छैन जहाँ मानिसका लागि राम्रो मात्र भएको होस्‌ । सुखी नै सुखी भएको कुनै युग छैन । प्रकृतिले सुख–दुःख र राम्रो नराम्रो एउटै सिक्काका दुईटा पाटा बनाएको छ भन्ने बिर्सनु हुँदैन । समस्याले समाधान खोज्न उत्प्रेरणा दिन्छ । सामाजिक सञ्जाल आधुनिक समयको उपज हो । समयलाई कसैले पनि नियन्त्रण गर्न सक्दैन । संसार बदल्नुभन्दा पहिला आफू बदलिने प्रयास गरियो भने निश्चय नै त्यसको परिणाम सकारात्मक हुन्छ । 

आधुनिक युगमा सञ्चार समाजको महìवपूर्ण स्तम्भ बन्दै छ । सञ्चारले घटनाको मात्र खबर ल्याउँदैन यसले जनताको राय/जनमत निर्माण गरेको छ । जनमत प्राप्त भएकै कारणले मिडियालाई शक्तिशाली सत्ता प्राप्त हुन्छ । पत्रकारले जनताको राय सजिलै प्राप्त गर्ने हुँदा सरकारलाई निगरानी गर्ने हिम्मत राख्छन्‌ । अहिले आमजनता सामाजिक सञ्जालको बढ्दो प्रयोगले महत्वपूर्ण अभिमत पोष्ट गर्छन्‌ । कहिलेकाहीँ यस्ता पोष्टहरू सामाजिक रूपले प्रासङ्गिक र अप्रासङ्गिक हुन्छन् ‌। जनतालाई सचेत र जागरुक गराउन महत्वपूर्ण भूमिका खेलेको छ । सामाजिक सञ्जालमा सम्प्रेषण हुने समाचारको विश्वसनीयता समय अन्तरालले पुष्टि गर्दै जान्छ । 

जनप्रतिनिधिले बेलाबखत सामाजिक सञ्जालका विरुद्ध आफ्नो विचार पोख्ने गर्छन्‌ । आफ्ना कुकार्यको जानकारी जनताले थाहा नपाउन भन्ने अर्थमा जनप्रतिनिधिले बोलेका हुन भन्ने अर्थ लाग्ने गरेको छ । एक्काइसौँ शताब्दीमा नेपाली नेताभन्दा जनता अधिक जागरुक छन् ‌। शासकले जनतालाई अँध्यारोमा राखेर उज्यालाको सङ्केत गर्न सक्दैनन्‌ । नेताको भाषणको भार कतिको भारवान छ भनेर कुनै सभा समारोहमा भौतिक उपस्थिति भइरहनु पर्दैन । सामाजिक सञ्जालको माध्यमले एक–एक विषय वस्तु मुठ्ठी (मोबाइल)ले जानकारी दिन्छ । यसर्थ सामाजिक सञ्जालमाथि प्रतिबन्धको बहस गर्नु सङ्कीर्ण मानसिकताको उपज हो । 

सरकारी र गैरसरकारी मिडियाले समाचार प्रसारण गर्नु अगावै सामाजिक सञ्जालमा प्रत्यक्ष देखिने घटनाले यसको विश्वसनीयता बढेको छ । भ्रष्टाचारका घटना, दङ्गाफसाद, आगजनी, हत्या, हिंसा, हमला, चोरी, डकैती, दुर्घटना आदि प्रत्यक्ष प्रसारणले सामाजिक सञ्जाल पारम्परिक प्रेसभन्दा अगाडि छ । मानिसलाई सङ्गठित गर्दै क्षमताका आधारमा सामाजिक परिवर्तन गर्न सक्ने सशक्त उपकरण बनिरहेको छ । सामाजिक सञ्जालमार्फत स्थापित हुने नकारात्मक पक्षमा सरकारले निगरानी गर्न सक्यो भने प्रभावकारी सञ्चारको रूपमा स्थापित हुने छ । सामाजिक सञ्जालको उपयोग द्रुतगतिमा भइरहेको छ । विशाल विविधतापूर्ण मानव संसाधन शक्तिलाई प्रभावी ढङ्गले सङ्गठित गरिरहेको छ । सामाजिक सञ्जालमा व्यक्त हुने सामाजिक पीडालाई सम्बोधन गर्दै युवाशक्तिलाई देशको परिवर्तनमा सकारात्मक भूमिका खेल्न लगाउने काम सरकार हो । 

सामाजिक सञ्जालका कारण संसारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ । युवावर्ग सकारात्मक र नकारात्मक दुवै तरिकाले प्रभावित छन्‌ । सामाजिक सञ्जालको प्रयोगका बारेमा मानवीय मूल्य, मान्यता, सन्तुलित जीवन, परिवार, समाज, संस्कृति र राष्ट्रिय चिन्तनमा खुला रूपले नयाँ बहस चलिरहेको छ । मानवीय मूल्यमा आइरहेको ह्रासलाई रोक्ने प्रयास गरिएन भने भावी दिन सामाजिक जीवनमा सङ्कट उत्पन्न हुने खतरा छ । सामाजिक सञ्जाल एक गैरपरम्परागत मिडिया बन्दै छ । सामाजिक सञ्जाल शब्दले ठुलो सञ्जाल बन्दै छ । 

द्रुत गतिमा जानकारी आदानप्रदान गर्ने हुँदा सामाजिक सञ्जालप्रति जनसमुदाय आकर्षित हुँदै छन् ‌। सरकारले खेल्ने सकारात्मक भूमिकाबाट व्यक्ति, संस्था, समूह र देश आदिलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा समृद्ध बनाउन सकिन्छ । नेपालको एकता, अखण्डता, धर्म निरपेक्षता र सामाजवादी अभिभारालाई अभिवृद्धि गर्न सकिन्छ । देशलाई समृद्ध बनाउन सामाजिक सञ्जालमार्फत सरकारले विकास योजना र कार्य जनस्तरसम्म पु¥याउन सक्छ । सामाजिक सञ्जालमा आमजनताको पहुँच, आवृत्ति, उपयोगिता र स्थायित्व बढाउन स्थानीय सरकारले आआफ्ना पालिकामा इन्टरनेट सेवा निःशुल्क वितरण गर्नु आवश्यक छ । सामाजिक सञ्जाल समस्या होइन समाधान हो भनेर बुझ्नु पर्छ । इन्टरनेट एक प्रविधि भए पनि मानिसको आवश्यकता बन्दै संस्कारमा जोडिन थालेको छ । 

  

Author

डा. पदमराज कलौनी