धर्बेन्द्र झा
जनकपुरधाम, कात्तिक १७ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री मोहम्मद समिमले लागुऔषध मधेश प्रदेशको प्रमुख समस्या भएको भन्दै यसको नियन्त्रणका लागि मन्त्रालयले प्रभावकारी रुपमा परिणाममुखी कामकाज अघि बढाएको बताउनुभएको छ ।
मन्त्रालय मातहतका सुरक्षा संयन्त्रलाई परिचालन गरी नेपाल–भारतको सिमानाका क्षेत्रमा कडाइका साथ चेकजाँच हुनेगरेको र यसले धेरै हदसम्म सुधार भएको बताउँदै आउने दिनमा अझै कडाइका साथ अभियानलाई अघि बढाइने बताउनुभयो ।
प्लान इन्टरनेशनल नेपालको ‘गर्ल्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम अन्तर्गत शुक्रबार मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयमा आयोजित कार्यक्रममा उठेका विषयको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभयो ।
उहाँले मधेश प्रदेशको राजधानी जनकपुरधामसहित जिल्लाको सदरमुकाममा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको भन्दै ठाउँ ठाउँमा ट्राफिक व्यवस्थापनका लागि चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिनुभयो । प्रदेश प्रहरी गठन नभएसम्म प्रदेशमा काम गर्न समस्या आइरहने भन्दै सङ्घ सरकारको विभेदपूर्ण नीतिका कारण सोचेर पनि मन्त्रालयले काम गर्न नसकेको गुनासो गर्नुभयो ।
पत्रकारले कुनै पनि मान्छेको समाचार लेख्दा गोपनीयताको अधिकारलाई कुण्ठित गर्न नमिल्ने भन्दै मन्त्री समिमले पत्रकारकोे कुनै पनि अधिकार कटौती नहुने बताउनुभयो । उहाँले प्रदेश सरकारले दिंदैआएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेको विषयमा विस्तृत जानकारी लिएर मुख्यमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने बताउनुभयो ।
मन्त्री समिमले धनुषाको विदेह नगरपालिको जनता नमुना उच्च माध्यमिक विद्यालयको कक्षा १२ मा अध्यनरत विभाकुमारी यादवलाई आफू बसेको कुर्सी खालीगरी प्रतिकात्मक रुपमा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानूनमन्त्री पदको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो ।
केहीबेरका लागि मन्त्री बनेका विभालाई मन्त्रालयका सचिव उतम खरेलले मन्त्रालयले आर्थिक वर्ष २०८०–८१ का लागि गरिने कामकाज, बजेट र विगतमा भएका कामकाजको बारेमा जानकारी गराउनुभएको थियो ।
सचिवले यस आर्थिक वर्षमा प्रदेशभरि ट्राफिक व्यवस्थापन, प्रदेश प्रहरी सेवा सञ्चालन, विपत जोखिम न्यूनीकरण, प्रदेशभरीका कारागारको सुरक्षा, सञ्चार संस्थाको काम, सार्वजनिक बिदा, उत्सवको काम कानुन निर्माणका लागि विधेयक तयार पारी पेश गर्ने कामसहितका मन्त्रालयले ५९ वटा काम गरिने जानकारी दिंदै कारागार कैदीलाई सीपमूलक तालिम दिएको, घरेलु हिंसा र लागुऔषध नियन्त्रणका लागि अभियान सञ्चालन, प्रहरी चौकीको निर्माण, राजमार्ग क्षेत्रमा सीसीटिभीको जडान लगायतका कामको बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा जिल्लाको विभिन्न स्थानबाट सहभागी किशोरीहरुले बालबिवाह रोक्न कडा कानुन, चेलीबेटी बेचबिखन घटनालाई कडाइका साथ नियन्त्रण, प्रहरी कार्यालयमा किशोरीसँग गरिने व्यवहारमा परिवर्तन, साइबर क्राइमको नियन्त्रण र लागुऔषध नियन्त्रणका लागि अभियान सञ्चालन गर्न मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका प्रत्याभूत सञ्चार संयोजक अन्जु साक्यले कार्यक्रम सञ्चालन गर्दै हालसम्म ५२ जना किशोरीले विभिन्न पद हस्तान्तरण गरिसकेको र अझै यो अभियान जारी रहने बताउनुभयो । कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका पुर्व क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रविशङ्कर पण्डितले किशोरीको समान शक्ति, समान स्वतन्त्रता र समान प्रतिनिधित्वका लागि अभियान सञ्चालन गरिएको जानकारी दिंदै विश्वको धेरैजसो राष्ट्रमा यस प्रकारको अभियान सञ्चालन गरी प्लान इन्टरनेशनलले किशोरीको आत्मबल बढाउन मद्दत गरेको बताउनुभयो ।