• ११ मंसिर २०८१, मङ्गलबार

नेपालगन्जमा प्रतिबन्धित भारतीय सुर्तीजन्य पदार्थको खुला बिक्री

blog

अनुगमनका क्रममा भेटिएको भारतीय सुर्तिजन्य पदार्थहरु । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, कात्तिक १७ गते ।
भारतमा उत्पादित हानिकारक सुर्तीजन्य पदार्थको नेपालमा बिक्री वितरण प्रतिबन्धित छ । तर पनि नेपालगन्ज लगायत बाँकेका विभिन्न ठाउँमा हरेकजसो पान पसल र किराना पसलमा भारतीय सुर्तिको बिक्री खुला रुपमा भइरहेको पाइन्छ ।

अवैध रूपमा भारतबाट भित्र्याइएका गुट्का लगायतका सुर्तीजन्य पदार्थ बाँकेमा जताततै पाउने गरेको छ । ठाउँठाउँमा चेकजाँचका बावजुद स्थानीय बजारमा अवैध रूपमा भारतीय सुर्तीजन्य पदार्थ भित्रिने र बिक्रीका लागि राखिने क्रम भने रोकिएको छैन ।

सो बारेमा स्थानीयले बेला बेलामा प्रहरी प्रशासनको ध्यानाकर्षण पनि गराउँदै आएका छन् । तर नियमित र प्रभावकारी अनुगमन नहुँदा प्रतिबन्धित बस्तुहरुको बिक्रीमा कुनै रुकावट हुन सकेको छैन ।

बाँकेमा नयाँ प्रमुख जिल्ला अधिकारी आएपछि फेरि पनि स्थानीयले सो बारेमा गुनासो गर्दै अन्य अवैध आयात पनि रोक्न उहाँको ध्यानाकर्षण गराएका छन् ।

स्थानीयको गुनासोलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले प्रतिबन्धित भारतीय सुर्ति लगायत अन्य पदार्थको बिक्री रोक्न बजार अनुगमनलाई तस्व्रता दिएको छ । 

जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङ्गको नेतृत्वमा रहेको बजार अनुगमन समितिले अनुगमन सुरु गरेलगत्तै ठूलो परिमाणमा भारतीय गुट्का लगायतका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुङ्गले बजार अनुगमन समितिले ३८ हजार बढी मूल्यको सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको बताउनुभयो । उहाँले ३० वटा पसलमा मात्र अनुगमन गर्दा यति धेरै सुर्तिजन्य पदार्थ बरामद गरिएको जनाउँदै बजारमा धेरै ठूलो सङ्ख्यामा भारतीय सुर्ति रहेको आशंका गरिएको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुङ्गले भारतीय सुर्तिजन्य पदार्थ बिक्री गर्न पूर्णरुपमा रोक लगाइने जनाउँदै सो रोक्न पटक पटक अनुगमन गर्ने र नाकामा पनि थप कडाई गर्न लगाउने बताउनुभयो ।

बाँकेमा भारतबाट ल्याइएका अवैध सामग्री लगायत म्याद गुज्रेका, लेवल नभएका सामानहरू बिक्री वितरण हुने समस्या निकै पुरानै भएको स्थानीयको भनाइ रहेको छ  ।

नागरिक सरोकार समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले जहिले अनुगमन हुँदा पनि बजारमा अवैध, म्याद गुज्रिएका र हानिकारक सामान बरामद हुँदै आए पनि नियन्त्रण फितलो रहेको गुनासो गर्नुभयो ।

उहाँले दर्ता बिना पसल सञ्चालन गर्ने, मापदण्ड पुरा नगरी व्यवसाय सञ्चालन गर्ने, भारतबाट अवैध रूपमा गुणस्तरहीन खाद्यान्न भित्र्याएर बजारमा बिक्री गर्ने कार्य निरन्तर भइरहेको बताउनुभयो ।