• १२ मंसिर २०८१, बुधबार

पञ्चासे अल्ट्रा रेस कात्तिक १८ र १९ गते

blog

पोखरामा पञ्चासे अल्ट्रा रेस हुने । तस्बिर :फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, कात्तिक १७ गते ।
पोखराका पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न पञ्चासे अल्ट्रा रेस हुने भएको छ । कात्तिक १८ र १९ गते हुने प्रतियोगितामा ४ इभेन्ट समावेश गरेको आयोजक पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा ८० किलोमिटर, ५५ किलोमिटर, २५ किलोमिटर र ७ किलोमिटरमा छुट्टाछुट्टै प्रतिस्पर्धा तय छ । पोखराको सेरोफेरोका पहाडका थुम्का हेर्दै दौडिने गरी रुट तय गरिएको श्रेष्ठले सुनाउनुभयो । अल्ट्रा रेस खेल प्रतियोगितामात्र नभएर खेल पर्यटनलाई बढावा दिन आयोजना गरिएको उहाँको भनाइ छ ।

दौडमा अमेरिका, बेलायत, भियतनाम लगायत देशहरुका धावक सहभागी हुनेछन् । ८० किलोमिटर दौड लुम्रेबाट बिहान ४ बजे सुरु हुनेछ । लुम्रे हुँदै लोक्याम्प, बादल डाँडा, प्रितम देउराली, पञ्चासे भञ्ज्याङ, पुम्दीको शिव मन्दिर हुँदै लेकसाइडको खपौदीमा आएर सकिन्छ । यस्तै, ५५ किलोमिटरको दोस्रो इभेन्ट कोमागाने पार्कबाट बिहान ६ बजे सुरु हुन्छ ।

यो प्रतियोगिता शान्तिस्तूप, भञ्ज्याङ, नागडाँडा, कास्कीकोट, सराङकोट हुँदै खपाैदीमै आएर सकिनेछ । तेस्रो २५ किलोमिटरको इभेन्ट कोमागने पार्कबाट बिहान ८ बजे सुरु भई स्तूप, भञ्ज्याङ हुँदै सेती आएर सकिनेछ । ७ किलोमिटरको इभेन्ट बिहान साढे ८ बजे कोमागने पार्कबाट सुरु भएर सेती हुँदै पामेबजारमा आएर सकिनेछ ।

प्रतियोगिताका विजेताले थाइल्यान्डमा हुने अल्ट्रा रेसमा सहभागी हुन पाउने अवसर पाउनेछन् । दोस्रो हुनेले १५ हजार र तेस्रोले सात हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा धावक हरि रोकायालाई नगदसहित सम्मान गरिनेछ ।