केशव राज भट्ट
वाशुलिङ (बैतडी), मङ्सिर २९ गते । बैतडीको पाटन नगरपालिका वडा नं. ९ ले चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेटअन्तर्गत वडाभित्र स्थायी रूपमा बसोबास गर्ने १९४ जना ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।
वडा कार्यालय टकरेमा आयोजना गरिएको कार्यक्रममा ६० वर्षभन्दा माथिका एक सय ३७ जना ज्येष्ठ नागरिक र ५७ जना एकल महिलाई कम्बल वितरण गरिएको हो । जाडो मौसममा ज्येष्ठ नागरिक र एकल महिलालाई राहत प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष कालू सिंह भाटले जानकारी दिनुभयो ।
कम्बल वितरण कार्यक्रमका लागि वडाले ३ लाख ५० हजार बजेट विनियोजन गरेको थियो भने सम्बन्धित लाभग्राहीहरूले नागरिकता प्रमाणका आधारमा कम्बल प्राप्त गरेका थिए ।
वडा कार्यालयका अनुसार नामावलीमा नाम छुटेका तर ६० वर्ष पूरा भइसकेका ज्येष्ठ नागरिकहरूलाई समेत पहिचान गरी समेट्ने प्रयास गरिएको थियो । स्थानीयवासीहरूले जाडोयाममा गरिएको यो सहयोग कार्यक्रमलाई सकारात्मक रूपमा लिएका छन् ।
वडा अध्यक्ष भाटको अध्यक्ष्यतामा आयोजना भएको कार्यक्रममा पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल प्रमुख अथिती रहनुभको थियो । त्यस्तै, जिल्ला समन्वय समिति सदस्य प्रेम मायालु भाटलगायत सरोकारवालाहरुको उपस्थित रहेको थियो । चिसो मौसम सुरु भएसँगै ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई सम्मान स्वरुप न्यानो कम्बल वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।