• १३ मंसिर २०८१, बिहिबार

भेरी नदीमाथि डेढ महिनाभित्र बेलिब्रिज पुनर्निर्माण गरिने

blog

बेलिब्रिज पुल निर्माणको जिम्मा यती बिल्डर्स कम्पनीलाई । तस्बिर : विष्णुप्रसाद देवकोटा

विष्णुप्रसाद देवकोटा
डोल्पा, कात्तिक १७ गते ।
भेरी करिडोरअन्तर्गत पर्ने जाजरकोटको तल्लुबगरस्थित भेरी नदीमाथि बेलिब्रिज पुलको निर्माण कार्य तत्काल सुरु गरिने भएको छ ।  छिटो निर्माण सम्पन्न गर्ने गरी बेलिब्रिज पुल निर्माणको जिम्मा यती बिल्डर्स कम्पनीले लिएको हो ।

यसअघि उक्त ठाउँमा बेलिब्रिज पुल निर्माण भई २०८० वैशाख १६ गते पुल उद्घाटन गर्ने मितिसमेत तय भएको थियो । तर अन्तिम चरणमा वैशाख ७ गते निर्माणाधीन बेलिब्रिज (पुल) भाँचिएको थियो । निर्माणाधीन बेलिब्रिज भाचिँदा दुई भारतीय कामदारको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।

जाजरकोट नलगाड नगरपालिका–१२ मा पर्ने तल्लुबगर भेरी नदीमाथिको यो पुल जाजरकोट र रुकुम पश्चिमलाई जोडेर डोल्पाको सदरमुकाम दुनैसम्म सिधा यातायात सञ्चालन हुने महत्त्वपूर्ण पुल हो । आठबीसकोट नगरपालिकाका नगरप्रमुख रमेश केसीले आफू र डोल्पा ठूलीभेरी नगरपालिकाका नगरप्रमुख स्वर्णकुमार बुढाको संयुक्त पहलमा डेढ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी पुल पुनर्निर्माणको जिम्मा यती बिल्डर्स कम्पनीले पाएको बताउनुभयो ।

यती बिल्डर्स कम्पनीका प्रोपराईटर भीमराज केसीले आफूले जतिसक्दो छिटो बेलिब्रिज निर्माण गर्ने बताउनुभयो । अहिले तल्लुबगरस्थित भेरी नदीमाथि पुल नहुँदा डोल्पालीले सडक सास्ती भोग्दै आउनुपरेको छ । पुल पुनर्निर्माण भई सञ्चालनमा आएमा नेपालगन्जदेखि डोल्पा सदरमुकाम दुनैसम्म सिधा यातायात सञ्चालन हुनेछ ।

नेपालगन्जदेखि डोल्पा सदरमुकाम दुनैसम्म स्थायी रुपमा सिधा यातायात सञ्चालनका लागि जाजरकोटमा पर्ने तात्रगाड र चौकास्थित खहरे खोला रुकुम पश्चिमको गोतामकोटमा पर्ने मुलातडा, उसुम खोला हुँदै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने चुँगाड र छलगाडमा तत्काल बेलिब्रिज निर्माण गर्नु आवश्यक छ ।

तल्लुबगरमा पुल नहुँदा डोल्पाको जगदुल्ला गाउँपालिकामा निर्माण हुन थालेको १०६ मेगावाटको अर्ध जलाशययुक्त जगदुल्ला हाइड्रोपावर निर्माणस्थलमा निर्माण सामग्री ढुवानीमा समेत समस्या हुँदै आएको छ । यसैगरी ठूलीभेरी नगरपालिकामा पर्ने रुपगाड खोलामा अलपत्र परेको बेलिब्रिजको निर्माणलाई यथाशीघ्र अगाडि बढाउनेतर्फ सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ ।