• १२ असार २०८१, बुधबार

कोरिया र नेपालबिच कृषि विकासका लागि सम्झौता

blog

काठमाडौँ, कात्तिक १७ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र गणतन्त्र कोरियाको कृषि, खाद्य र ग्रामीण मामिला मन्त्रालयबिच कृषिका विभिन्न विषयमा सहकार्य गर्ने आठबुँदे सम्झौता भएको छ । 

सिंहदरबारस्थित कृषि मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा दुई देशको कृषि मन्त्रालयबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपालका तर्फबाट कृषिमन्त्री डा. वेदुराम भुसाल र कोरियाका तर्फबाट कृषिमन्त्री चुङ ह्वाङ क्वुनले हस्ताक्षर गर्नुभयो । 

कृषि तथा पशुपन्छीका क्षेत्रमा अध्ययन, अनुसन्धान तथा विकास, पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा दुई देशबिच सहयोग र सहकार्य गर्न सकिने सम्झौता भएको कृषि मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र कोरियाको कृषि अनुसन्धान परिषद्बिच सहकार्य गर्ने, दुई देशका कृषि विश्वविद्यालयको सहकार्यमा कृषि अनुसन्धान तथा अध्ययनका कार्य अगाडि बढाउने, संरक्षित कृषि, उच्च मूल्य जाने कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरणमा थप कार्य गर्ने सम्झौता भएको छ । 

कृषि पूर्वाधारको विकास, तालिम केन्द्र निर्माण, कृषि बजार विकासमा सहकार्य गर्नुका साथै प्राविधिक मानव संसाधन, युवा कृषक तथा निजी क्षेत्रका कृषि उद्यमीको क्षमता अभिवृद्धि गर्न कार्यमा पनि सहकार्य गर्ने सम्झौता भएको छ । कृषि पढेका विद्यार्थी तथा युवाका लागि कृषिमा काम गर्ने अवसर प्रदान गर्ने, कृषि पर्यटनमा लगानी गर्ने विषयमा सम्झौता भएको कृषि मन्त्रालयले जनाएको छ । 

कृषिमन्त्री भुसालले कोरिया सरकारबाट नेपाललाई भएको सहयोगप्रति आभार व्यक्त गर्दै आज भएको हस्ताक्षर सम्झौताले दुई देशबिचको सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । कोरिया सरकारबाट रेसम खेती प्रवर्धन, दुग्ध क्षेत्र विकास र तरकारीको मूल्य शृङ्खलाको विकासमा भएको सहयोगबाट नेपालले लाभ लिएको उहाँले बताउनुभयो । 

कोरियाका कृषिमन्त्री चुङ ह्वाङ क्वुनले १६ वर्षपश्चात् कोरियाली मन्त्रीस्तरबाट भएको नेपालको यो भ्रमण फलदायी हुने विश्वास लिएको बताउनुभयो । कोरिया सरकारले नेपाललाई सधैँ उच्च प्राथमिकतामा राखेको बताउँदै उहाँले ‘कोएका’ मार्फत नेपालको कृषि क्षेत्रलगायत अन्य विभिन्न क्षेत्रमा सहयोग हुँदै आएको जानकारी दिनुभयो । 

कृषि क्षेत्रतर्फ पनि हालै मात्र हेफर कोरियामार्फत नेपाललाई उच्च प्रजननमानका १०१ वटा गाई सहयोगस्वरूप उपलब्ध गराएको बताउँदै मन्त्री क्वुनले तरकारी तथा फलफूलको मूल्य शृङ्खला विकासका लागि तरकारी तथा फलफूलका लागि मूल्य शृङ्खला कार्यक्रम नामको परियोजना सञ्चालन भइरहेको र भविष्यमा थप कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।