• ६ माघ २०८१, आइतबार

राजमार्गमा बढ्दै तस्करी : २५ लाख बराबरको सामान बरामद

blog

महोत्तरी प्रहरीले वीपी राजमार्गबाट नियन्त्रणमा लिएको तस्करीका सामान भन्सार बुझाउने तयारी गर्दै । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, कात्तिक १६ गते । 
चाडपर्वको समयमा सीमा तस्करी बढ्दै गएको घटनाक्रमले देखाएका छन् । दसैँको बेला बर्दिबासस्थित पूर्वपश्चिम लोकमार्गबाट ६० लाख मूल्य बराबरको कपडा बरामद भएको थियो । यो घटना सेलाउन नपाउँदै प्रहरीले बर्दिबासबाटै फेरि ठुलो मात्रामा किराना सामान नियन्त्रणमा लिएको छ ।

प्रहरीले बिपी राजमार्गको बर्दिबास–३ स्थित कालापानीबाट लाखौँ मूल्यको तस्करीका सामान बोकेको ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको हो । बरामद ट्रकबाट २५ लाख बढीका किरान सामान फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

सुराकीले दिएको सूचनाको आधारमा जिल्ला प्रहरीबाट खटी गएको सादा पोसाकका प्रहरीले बुधबार राति ८ बजे सिरहाको लाहानबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ३१९७ नम्बरको ट्रकलाई रोकी चेकजाँच गरेको थियो । चेकजाँच गर्ने क्रममा ट्रकमा १०० कार्टुन काजु, ३०० किलो जिरा, १८ बोरा चामल, ४१ बोरा भुजा, ६ बोरा चिउरा र २०० कार्टुनमा चकलेट फेला परेका थिए । प्रहरीले बरामद सामानको अनुमानित मूल्य २५ लाख २७ हजार तीन रुपियाँ कायम गरेको छ । 

ती सामानका आवश्यक कागजात फेला नपरेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरीका सूचना अधिकारी तथा डिएसपी दीपेन्द्रकुमार गिरीले बताउनुभयो ।

प्रहरीले ट्रक साथ सिन्धुलीगढी गापा ६ का ३३ वर्षीय चालक गङ्गाबहादुर दर्जीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

चालकसहित बरामद सामानलाई आवश्यक कारबाहीका लागि प्रहरीले जलेश्वर भन्सार पठाउने तयारी गरिरहेको जनाएको छ ।

यसअघि असोज अन्तिम साता भन्सार छलेर भित्रिएको करिब ६० लाख मूल्य बराबरका कपडा तथा कस्मेटिक्स सामान प्रहरीले पूर्वपश्चिम राजमार्गको बर्दिबास १४ स्थित जिल्ला ट्राफिक कार्यालय नजिकबाट चालकसहित ट्रक नियन्त्रणमा लिएको थियो ।