• ११ मंसिर २०८१, मङ्गलबार

सुशासनको आधार आत्मानुशासन

blog

सुशासन आजको विश्व राजनीतिमा सर्वाधिक चर्चित शब्दावली हो । शक्तिशाली भनिएकादेखि सामान्य गनिएका सबै देशका सरकारले प्रमुख प्राथमिकता नै सुशासन भएको अभिव्यक्ति दिन्छन् । निर्वाचनको समय प्रत्येक प्रत्यासीबाट देशमा सुशासन कायम गर्दै राष्ट्र निर्माणमा सघाउने अभिलाषालाई एउटै उद्देश्यका रूपमा प्रस्ट्याइन्छ । राष्ट्र निर्माणमा निरन्तर कलम चलाउने लेखक जे डोविन्सलगायत अन्य शोधमाथि अध्ययन गर्दा यस्तो निष्कर्ष आउँछ कि सुशासन सफल राष्ट्र निर्माणका मुख्य चार सूचकाङ्कमध्ये पहिलो हो । कुनै बेला विश्वकै दोस्रो विद्वान् भनेर सूचीकृत गरिएका अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीको पुस्तक ‘फिक्सिङ फेल्ड स्टटेस’ को समेत तर्क समान छ । 

नागरिकको तहमा समेत अनेकन आशामध्ये सुशासन मुख्य अपेक्षा हो । सुशासनको प्रत्याभूति हुन नसकेर नै आमनागरिकलाई विकास र समृद्धिको अनुभूत भएको छैन । विदेश जाने अधिकांशले देशमा सुशासन नभएको अनि भ्रष्टाचार, कुशासन, अराजकता र दण्डहीनताले विरक्त भएको दाबी गर्दछन् । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको एक एजेन्सी युएनडिपीले सुशासनको अवधारणालाई आठ विशेषतामा परिभाषित र परीक्षण गर्दछ । अधिक देशले त्यसैको सेरोफेरोमा यसको मूल्याङ्कन गर्ने गरेका छन् । सहभागिता, कानुनी शासन, पारदर्शिता, जवाफदेहिता, स्वीकार्यता, समानता, प्रभावकारिता, उत्तरदायित्व जस्ता पक्ष यसका प्रमुख आधार हुन् । यद्यपि देशको राजनीति र सरकारहरू यसलाई व्यवहारमा स्पष्ट उतार्न र नागरिकलाई देशमा सुशासन कायम छ भन्ने विश्वासमा लिन अनवरत चुकेका छन् । हामीकहाँ त स्वशासन (सबैले आफूलाई मन परेको र जायज लागेको हिसाबले मात्र काम गर्ने) प्रवृत्ति बढ्दो छ ।  

बढ्दो प्रवृत्ति 

राजनीतिक अन्तरविरोधलाई चर्काउनु, निकास निकाल्नु साथै भयङ्कर भाषणबाजी गर्नुलाई नै स्थायी उपलब्धि मान्ने दुर्भाग्यले हाम्रो देशमा सामरिक सुशासन कायम चाहिँ कमजोर भयो । विश्व मानचित्रमा आर्थिक, सामाजिक परिवर्तन र प्रगतिका हिसाबले सबल मानिएका अधिकांश देश नेपालभन्दा साना छन् । क्षेत्रफलको आधारमा हामी संसारको ९४ औँ ठुलो राष्ट्र हौँ तर विद्यालयमा हामी धेरै साना छाँै हाम्रो मुटु सानो छ भन्ने जस्ता कविता पढाइन्छ र गलत मानसिकता निर्माण गरिन्छ । अनि नागरिक चाहिँ नेता गलत भएको भन्दै नेतृत्वको सत्तोसरापमा व्यस्त छौँ । प्राचीन राजनीतिशास्त्री अरस्तुकृत पुस्तक ‘पोलिटिक्स’ले भन्छ खराब नागरिकले खराब नेता जन्माउँछन् र उसैले देश सखाप पार्छ । त्यसैले अब सुधार नागरिकको तहमा पनि खोजिनु पर्छ । सरकारसँग सुशासनको अपेक्षा गर्ने कुरा नाजायज त होइन तर सबै नागरिकमा आत्मानुशासन भएन भने सुशासन कायम हुँदैन । सुशासनको प्रधान आधार नै नागरिकको आत्मानुशासन हो, जुन आधार अधिक भत्किएको छ । 

  भत्किएको प्रधान आधार 

विदेशमा अधिकांश पूर्वविशिष्ट कार्यकालपछि देशको ढुकुटी दोहनको सट्टा आफ्नै आर्थिक सामाजिक जीवनमा फर्कन्छन् । हामी कहाँ एकचोटि पदमा पुगेपछि जीवनर्पयन्त राज्यको स्रोतबाट जीवन निर्वाहको अभ्यास पहिलेदेखि नै स्थापित छ । 

यहाँ नेतृत्व कम परिणाममुखी भएको सबैलाई लाग्छ तर नागरिक पनि निःसन्देह बन्दैछौँ । खाली अरूको कटाक्ष गरेर बस्छौँ तर आफैँ अलिकति सकारात्मक र रचनात्मक योगदान दिन बिलकुल सोच्दैनौँ । विदेश भाग्नु मात्र समस्याको समाधान होइन । देशमा समस्या हुँदा आफैँसमेत लागेर निराकरण गर्नु पर्छ, फेसबुकमा अर्ती/उपदेश दिएर मात्र हुँदैन । आधुनिकताको खोक्रो खोलमा खेतबारी बेचेर हतार÷हतार कोरिया कतार धाउने अनि यही बस्नेहरू दुध बेचेर कोकाकोला पिउने संस्कृतिले पनि देशलाई जर्जर बनाउँदै छ । घरमा आलु भुटेर खान नचाहनेहरू रेस्टुरेन्टमा महँगो बिल तिरेर फिङ्गर चिप्स/फ्रेन्च फ्राइमा रमाउँछौँ । अघिल्लो दिनको खानाको उपयोगलाई असभ्य मान्नेहरू फ्राइड राइसको सौखिन छौँ । जहाँ संस्कार डामाडोल छ त्यहाँ सुशासन गोलमाल हुन्छ, हाम्रो अवस्था यही हो । 

हामी नागरिकहरू सल्लाह र सुझाव दिनेमा उच्च कौशलता राख्छौँ  तर आफ्नो ठाउँ सपार्न खोज्दैनौँ । देशको बर्खिलाप गर्नेमा रमाउँछौँ । घर मात्र ठुला बनाउँछौँ, बाटो बनाउँदैनौँ । राम्रो शिक्षा चाहन्छौँ तर शिक्षण कर्मलाई मन पराउँदैनौँ, मर्यादित र सम्मानित हिसाबले हेर्दैनौँ  । सरकारी सेवामा छौँ, नागरिकलाई विश्वसनीय सेवा दिन सक्दैनौँ, आफैँले पनि विश्वास गर्दैनौँ । सरकारी कर्मचारीले पनि आफ्ना सन्ततिको शिक्षामा सरकारी विद्यालय अनि उपचारमा सरकारी अस्पतालमाथि विश्वास राख्दैनौँ । त्यो अवस्था बनाउन सकेका छैनौँ । विश्वविद्यालयमा प्राध्यापन गर्नेहरू देशको पुनर्निर्माणको खाका पस्कँदै हिँड्छौँ तर आफैँ रहेको विश्वविद्यालयमा सामान्य सुधार गर्नसमेत चासो देखाउँदैनौँ । स्वच्छ र सुन्दर समाज चाहन्छौँ तर फोहोर चाहिँ सडकमा फाल्छौँ । सार्वजनिक पदमा बस्छौँ तर सेवाग्राहीलाई सहज, सुलभ सेवा प्रवाह गर्दैनौँ । सरकारी सेवालाई जिम्मेवारी कम अनि कमाउने अवसरको रूपमा धेरै प्रयोग गर्छौं । श्रम गरेर खानेलाई अभागी र श्रम नै नगरिकन खानेलाई भाग्यमानी सम्झन्छौँ । आर्थिक उपार्जनमा रोजगारी निर्माणसमेत गर्ने गरी साना लगानीका नै भए पनि व्यावसायिक अभ्यास गर्ने सोच्दैनौँ । सहयोग र दाताका भरमा देश विकासको आस गर्छौं । पराधीन संस्कार र विरोधी मानसिकता मात्र राख्छौँ ।

 चिकित्सा ऐन बन्दा चिकित्सकबाट नै अवरोध हुन्छ । सार्वजनिक यातायातलाई व्यवस्थित गर्न खोज्दा व्यापारी/व्यवसायीको प्रतिरोध आउँछ । राज्यको कर प्रणालीलाई पारदर्शी र योगदानकर्तालाई जिम्मेवार बनाउन स्थायी लेखा नम्बर लागु गर्न, मजदुर तथा श्रमिक हितका लागि सामाजिक सुरक्षा कोषमा समाहित हुन अनि बैङ्कमार्पmत तलब भुक्तान गर्नसमेत अनिच्छा देखाइन्छ । किनकि त्यसो गर्दा पारदर्शी हुनुपर्ने बाध्यता हुन्छ । प्रशासन सुदृढीकरणमार्पmत चुस्त, किफायती अनि नागरिक सेवाप्रवाह उन्मुख बनाउन खोज्दा कर्मचारीबाट सहयोग रहँदैन । ढिलो अफिस पुग्ने, छिट्टै निस्कने, सेवाग्राहीलाई भरे/भोलि भन्ने र अधिकांश समय चिया पसलमा बिताउनेले पनि आफूलाई राष्ट्रसेवक भन्दै सरकारले चाहिँ केही नगरेको भाषणबाजी गर्दै हिँड्छौँ ।

शिक्षालाई उत्तरदायी स्तरीय तथा आधुनिक बनाउने योजनामाथि विद्यालय सञ्चालक अनि शिक्षकहरूको जुलुस, आन्दोलन तथा धर्ना हुन्छ । बजार अनुगमन भए स्वयम् बिक्रेताहरू आन्दोलनमा उत्रन्छन् । न्यायालय सुधारको प्रस्तावमा वकिल अनि निर्माणसम्बन्धी काममा केही सुधार गर्न खोज्दा ठेकेदारहरूको असहयोगका साथै विरोधमा विशाल शक्ति प्रदर्शनसमेत हुन्छ । धेरै धनराशि करछली भएका तथ्याङ्क बाहिरिँदै छन् । कर प्रणालीका सुधारमा व्यापारी/व्यवसायीहरू अनि ढुवानीलाई व्यवस्थित गर्न खोज्दा ढुवानीकर्ताबाट नै अवरोध हुन्छ । हरेक क्षेत्रमा कानुनको उचित पालना र कार्यान्वयन नभएकोमा सरकारलाई निरन्तर दबाब दिने सञ्चार क्षेत्र आफैँसमेत कानुन अनुसार नियमन भएर बस्ने धैर्यता राख्दैन । विदेशी राजदूतले सिधै मन्त्रीहरू भेटेकोमा कूटनीतिक बर्खिलाप भएको भन्दै सम्झाउन सौखिनता देखाउने प्रवृत्ति भने बढ्दो छ । 

प्रसिद्ध पूर्वीय शास्त्रीय दार्शनिक कन्फुसियस भन्थे, अरूलाई पढ्ने ज्ञानी मात्र हुन्छन् तर आफूलाई पढ्नेहरू चाहिँ अन्र्तयामी पनि हुन्छन् । हामी खाली अरूको बारेमा बढी जानकार रहन्छौँ । सबै सु्ध्रिएको हेर्न चाहन्छौँ तर पेसाकर्मी, व्यवसायी, कर्मचारी, शिक्षक, वकिल, सामाजिक अभियान्ता, विकास सहजकर्ता, कूटनीतिज्ञ, पत्रकारलगायत अन्य सबै सरोकारवाला आफूसमेत सुध्रनु पर्छ भन्ने मान्न र त्यसको पहल गर्न तयार छैनौँ । अहिले हरेक क्षेत्र व्यापारमा परिणत हुँदै छ, सबै सरोकारवाला आफ्नो क्षेत्रबाट अकुत वाञ्चित तथा अवाञ्चित नाफा वा आम्दानी गर्ने ‘रेन्ट सिकिङ एटिच्युड’ बाट ग्रसित छौँ । जसरी पनि आफूलाई फाइदा हुने मात्र कुरालाई प्राथमिकतामा राख्छौँ । जिम्मेवारी बोध र बहनभन्दा छलछाम रुचाउँछौँ । यस्तो सौखिन र विलासी औपचारिकताले नै देशको समग्र सुशासनको स्थिति खस्किएको हो । 

सबैले आफ्नो आफ्नो ठाउँबाट राम्रो गरौँ । अरूलाई गाली र उपदेश पस्कनुभन्दा आफू जिम्मेवार हुँदै आफैँबाट सन्तुष्टि र अरूबाट सम्मान पाउने हिसाबले कठोर अनुशासनमा बसेर आफ्नो कर्म गर्न सिकौँ । मनन गरौँ, सुशासनको प्रत्याभूति सबैको आशा हो, सरकारको प्रधान जिम्मेवारी पनि हो तर नागरिकबाट समेत हरेक तह/तप्कामा आत्मानुशासनको बोधसँगै त्यस अनुसार काम नभएसम्म सुशासनले सार्थकता पाउँदैन । हामी सबैमा आत्मानुशासन भएमा देशमा सुशासन कायम हुन्छ ।  

Author

डा. अतीन्द्र दाहाल