• १० जेठ २०८१, बिहिबार

त्यो जाडो

blog

शरद ऋतु थुप्रै सुखद प्रसङ्ग र मृदु–अनुभूतिहरूको कोसेली लिएर हरेक वर्ष हाम्रो घरदैलोमा टुप्लुकिन्छ । यसले दसैँ–तिहार, छठ, उधौली पर्वजस्ता उमङ्गले भरिएका चाडपर्वको स्वागतार्थ दैलो उघारिदिन्छ ।

यही समयकालमा बालीनाली मस्तसँग बयली खेल्न थाल्छन् । प्रकृतिको यस्तो अनुपम दृश्यले सबैलाई प्रफुल्लित तुल्याउँछ । अर्कोतिर घामपानी केही नभनी बर्खाभरि दस नङ्ग्रा खियाएर लाएको बाली भित्र्याउँदाको सुखद अनुभूति त आफ्नो ठाउँमा छँदै छ ।

यिनै सुखद अनुभूतिहरूसँगै जन्मिएको उमङ्गपूर्ण सांस्कृतिक वातावरणमा प्रकृतिले नजानिँदो किसिमले एउटा तìव घुसाइदिन्छ । त्यो हो जाडो । शरद ऋतुमा जाडोको बिउ अङ्कुराउन थाल्छ । अनि हेमन्त हुँदै शिशिर ऋतुमा उग्र किसिमले जवान बनिसक्छ । जाडोले आफूसँगै कष्टकर पलहरू लिएर आउँछ ।

गरिबी र जाडोबीच मितेरी

जाडोयाममा गरिबी र जाडोबीचको गठबन्धन हुन पुग्थ्यो, जुन बहुसङ्ख्यक ग्रामीणजनका लागि अघोषित सजाय नै बन्थ्यो । यो प्रसङ्ग लगभग चार दशकअघिको हो । त्यसबेला ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषिमा आश्रित रहेको तथ्याङ्कले बताउँछ । बहुसङ्ख्यक नागरिक गाउँघरमा बस्थे । भौतिक सुख–सुविधाका दृष्टिले दयनीय अवस्था थियो । 

एकसरो लुगा फेर्न पनि दसैँ पर्खनुपर्ने थियो । अझ महँगो दाम पर्ने न्यानो लुगा पाउन त झनै मुस्किल । गरिबीले चिथोर्दा शरीरमा सद्दे लुगा भेट्न गाह्रो हुन्थ्यो । यस प्रसङ्गमा साहित्यकार भीमनिधि तिवारीका कवितांश अर्थपूर्ण हुन आउँछ । तिवारीले लगभग वस्त्रविहीन बनेका हतभागी दरिद्रजनको हविगतबारे मार्मिक चित्रण गरेका छन् :

टोपी सिर्फ छ नाम मात्र शिरमा, जम्मै टुपी निस्कने

भोटो जीर्ण धुजाधुजा छ उसको, छाती पिठ्यूँ देखिने

धोती केवल चार अङ्गुल धरो, नङ्गा छ  सर्वाङ्गमा

काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

अधिकांश ग्रामीणजनको व्रmयशक्ति कमजोर हुँदा गाउँघरमा लत्ताकपडाको चर्को अभाव थियो । न खुट्टामा जुत्ता हुन्थ्यो, न त शरीरमा न्यानो कपडा नै । एउटा सिङ्गो पुस्ताले कपडाका नाममा टोपी, गलबन्दी, पेटेभोटो, कछाडजस्ता कम न्यायो लुगामा जीवन गुजारे । राति सुत्दा ओछ्यानमा ओढ्ने लुगाको पनि उस्तै अभाव थियो । बहुसङ्ख्यक ग्रामीणजन पातलो दोल्याइँ र फाटेको लुगा खिपेर तयार पारिएको भोक्ता (भौटा) ओढेर रात बिताउन विवश हुन्थे । 

जीवन अतिशय कष्टकर थियो र दयनीय पनि । चिसोले चिलेपछि कठ्याङ्ग्रिनु र ठकठकाउनुबाहेक अरू उपाय थिएन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘पहाडी जीवन’ मा गरिबी र चिसोबाट प्रभावित झुत्रेझाम्रे ग्रामीणनजनबारे लेखेका छन्, उनीहरू सिस्नोको काँडा खान र तुसाराले पात खाएर नाङ्गिएका रुख ठिङ्ग उभिएभैmँ चिसो हावामा लुगलुग काप्न जन्मिएका हुन् कि जस्तो लाग्छ ।

हिउँदे झरीले जाडो र गरिबीबीचको साइनोलाई झन् मजबुत तुल्याउँथ्यो । झरीले चिसोको ग्राफ ह्वात्तै बढाइदिन्थ्यो । बुढापाका र लालाबाला दयालाग्दो अवस्थामा पुग्थे । जाडोले बुढा गाईबस्तुको प्राणपखेरु उडाइदिन्थ्यो । यसले गरिबीमा बाँचेका ग्रामीणजनको अर्थतन्त्रमा धक्का लाग्थ्यो ।

रुई, दुई र फुई

जनजीवनका सबै आयामलाई प्रहार गर्ने त्यो जब्बर जाडोलाई कसरी भगाउने ? जाडो भगाउने चलेको सजिलो सूत्र हो– रुई, दुई र फुई । रुई अर्थात् कपास, जाडो भगाउने न्यानो कपडा वा सिरक । दुई अर्थात् सँगै सुत्ने जोडी वा दम्पती । फुई अर्थात् आगो । नेपाली लोकजीवनमा उखानजस्तै बनेको रुई, दुई र फुईको लोकप्रिय सूत्रको मूल स्रोतका रूपमा मोतीराम भट्टको कविता हो भन्ने देखिन्छ । कविताको दुई 

हरफ यस्तो छः

रुई दुई कि फुई यति तिन थोक चाहिन्छ जाडामहा

दुखी छु रुई फुई छन् त पनि दुई नहुँदामहा

जाडोयामले निम्त्याउने ठिहिरोलाई ढिम्किन नदिने उपायबारे यति सूत्रबद्ध, सुरुचिपूर्ण र गहकिलो अभिव्यक्ति अन्यत्र सायदै भेटिएला । प्रस्तुत कवितांशमा ‘रुई’ र ‘फुई’ को व्यवस्था नभएको तर ‘दुई’ को व्यवस्था नभएर व्यथित बनेका तरुण मनको यन्त्रणा पनि भेटिन्छ ।

जाडो र लोक अभिव्यक्ति

गरिबीसँग मितेरी साइनो गाँस्न आएको जाडोले शारीरिक रूपले कमजोर बन्दै गएका बुढापाकालाई स्वाभाविक किसिमले बढी असर गथ्र्यो । अघि नै भनियो गाउँबस्तीमा जाडोबाट 

बचाउने न्यायो लत्ताकपडाको चर्को अभाव थियो । त्यस कालखण्डमा चिसोले कति बुढापाका निमोनिया, दम तथा श्वास–प्रश्वाससम्बन्धी समस्याबाट पीडित बने होलान् ? कतिले कठ्याङ्ग्रिँदो जाडोबाटै मृत्युवरण गरे होलान् ? कुनै लेखाजोखा थिएन ।

कमजोर स्वास्थ्य भएका बुढापाकाका लागि जाडो काल बनेर आउँथ्यो । यसबारे एउटा लोकोक्ति प्रचलित छ– बलिया–बाङ्गा बाघलाई, बुढापाका माघलाई । माघ सकिएर फागुन लागेपछि विस्तारै घामको ताप र राप रन्किँदै जान्थ्यो । जलवायुमा आएको न्यायोपनबाट बुढापाका लामो सास फेर्दै प्रफुल्लित हुन्थे– यो वर्ष बाँचियो, खड्को ट¥यो ।

जाडोले लालाबालालाई पनि असर नपार्ने होइन तर पनि फक्रिँदो फूलजस्ता लालबालालाई बुढापाकालाई जस्तो गरी असर गर्दैनथ्यो भन्नुपर्ने हुन्छ । भनाइ नै छ, केटाकेटीको जाडो बाख्राले खान्छ । यस लोक अभिव्यक्तिमा सामाजिक मनोविज्ञान प्रतिविम्बित छ । जाडो भगाउने लुगाको व्यवस्था गर्न सक्षम नभएपछि केटाकेटीको जाडो बाख्राले खान्छ भनेर टार्नु र चित्त बुझाउनुको विकल्प थिएन । अतः यो भनाइ वैज्ञानिक कम र मनोवैज्ञानिक ज्यादा देखिन्छ । 

अग्नि मोह

गाउँघरमा जाडो भगाउने भरपर्दो उपाय थियो, आगो ताप्नु । जाडोमा घरको अँगेनो सबैभन्दा प्यारो ठाउँ हुन्थ्यो । कामबाट फुर्सद मिल्नासाथ सबैजना अँगेनोमा झुम्मिन्थे । अँगेनो नजिक बसेर आगो ताप्नु जाडोयामको अतिशय प्रिय क्रियाकलाप थियो । यस क्रममा अँगेनो नजिकको रोज्जा ठाउँमा सबैको आँखा पथ्र्यो । रोज्जा ठाउँ कसले ओगट्ने भन्नेमा घरका भन्ट्याङ–भुन्टुङबीच ठूलै रस्साकस्सी हुन्थ्यो । यस क्रममा कुमले ठेलाठेल पनि हुन्थ्यो । 

अँगेनोमा आगो ताप्ने क्रममा कतिका कपडा धेरै रापिएर धुवाँ पुत्पुताउने अवस्थामा पुग्थे । यसै गरी अँगेनोमा ठोसिएका कतिपय दाउरा ठूलै आवाजसहित पड्कन्थे । त्यसबेला आगोको फिलिङ्गो उछिट्टिएर कतिका गाला, हातगोडा तथा शरीरका अन्य भाग पुग्थे । आगोले पोलिने व्यक्ति पोखरीका माछाभैmँ बुर्लुक्क उफ्रिन्थे । 

आगो ताप्दा बेलाबेलामा अर्को सास्ती पनि बेहोर्नुपथ्र्यो । दाउरा ठिक भएन भने पिरो धुवाँले सताउँथ्यो । राम्ररी नबल्ने र धुवाँ बढी उत्सर्जन गर्ने दाउराले बेहाल तुल्याइदिन्थ्यो । घरभित्र बेपत्ता किसिमले धुवाँ रगमगिन्थ्यो । सास फेर्न कठिन हुन्थ्यो । आँखा पिरो हुन्थ्यो । अश्रुधारा बग्थ्यो । भागदौड मच्चिन्थ्यो । 

आगो ताप्दा न्यायो हुन्थ्यो । यद्यपि यसका आफ्नै किसिमका ‘साइड इफेक्ट’ थिए । नियमित किसिमले आगो ताप्दा कतिका गोडा बिराले पर्थे । कसैका त गाला पनि बिराले पर्थे । जाडोले हातगोडा फुट्थे । कुर्कच्चा फुटेर खडेरीको खेतमा धाँजा फाटेभैmँ हुन्थे । 

सधैँ मौरीझैँ काममा व्यस्त ग्रामीणजन सरसफाइका दृष्टिले निष्फिक्री जीवन बिताउँथे । आगो ताप्ने, ननुहाउने र लुगा नफेर्ने । यति भएपछि त मानव शरीर जुम्रा उमार्ने उर्वर नर्सरी बन्थ्यो । जुम्राका फौजले शरीरमा थुतुनो गाड्न थालेपछि लालाबाला आक्रान्त बन्थे । शरीर कन्याउँथे । शरीरमा नङले कोतर्दा रगतसमेत निस्कन्थ्यो । लालाबालाको कपडा र टाउकामा साम्राज्य जमाएर बसेका रक्तपिपासु परजीवीको सफाया गर्नु अधिकांश ग्रामीण आमाहरूको व्यस्त कार्यतालिकाको एक हिस्सा थियो । 

बुढापाका र फुर्सदिला व्यक्तिका दिन घाममा ढाड सेकाएर बित्थ्यो । पहारिलो ताप्दा जीवन र जगत्सँग जोडिएका अनेकन् रोचक किस्सा फुथ्र्यो । सायद ‘छेपारोको आहान’ पनि घाम ताप्दा जन्मेको हो कि ? मनमा आकाङ्क्षा उमार्ने तर त्यसलाई साकार रूप दिन सिन्को पनि नभाँच्ने हाम्रो अल्छी प्रवृत्ति नेपाली जनजीवनमा ‘छेपारोको आहान’ नामले परिचित छ । 

पानीको जादु

जाडोयाममा धारा वा कुवाको पानीले जादु देखाउँथ्यो । बाहिरी तापक्रमले शरीर कठ्याङ्ग्रिँदा धारा वा कुवाको पानी न्यानो हुन्थ्यो । यसबाट सुखद अनुभूति हुन्थ्यो । धारा वा कुवाको पानीमा विद्यमान न्यानोपनले मृदु अनुभूति जन्माउँथ्यो र पानीसँग खेलिरहुँ जस्तो हुन्थ्यो । बाहिरी वातावरण ठिहि¥याउने खालको हुँदा मूलको पानीले मातादिल प्रदर्शन गरिरहेकोमा खुसी लाग्थ्यो ।

समयक्रममा गाउँमा विकासे धारा आए । जाडोयाममा विकासे धाराको पानी छुनै नसकिने चिसो भयो । विकासे धाराको पानीले अरिङ्गालले चिले जस्तै चिल्ने । घर–टोलमा विकासे धारा आउँदा मनाइएको खुसियाली जाडोयामको धाराले ब्याजसहित असुलउपर गथ्र्यो ।


अन्तरसांस्कृतिक तन्तु

जाडोयाममा हिमाली भेगका बासिन्दा मध्यपहाडी भेग र मधेशतिर झर्थे । जाडो छल्ने र जडीबुटीको व्यापार गर्ने अभिप्रायले उनीहरू तलतिर झर्थे । हिमाली उनीहरूको नजिक पुग्दा बेग्लै खालको हरक आउँथ्यो । त्यस हरकमा जिम्मुलगायतका जडीबुटीको बास्ना पनि मिसिएको हुन्थ्यो । 

हिमालबाट झरेका व्यापारीले रैथाने सिप र प्रविधिबाट निर्मित विशेष प्रकारका जुत्ता (दोचा) लगाएका हुन्थे । उनीहरूले लामा–लामा लुगा लगाउँथे । महिला र पुरुष दुवैले दुई चुल्ठी कपाल बाटेका हुन्थे । उनीहरूको भाषाशैली पनि स्वाभाविक रूपमा फरक हुन्थ्यो । भिन्न सांस्कृतिक परिवेशका मानिस देखेर केटाकेटी अचम्म मानेर हेर्थे । 

तलतिर झरेका हिमालका बासिन्दाले आफूसँग ल्याएका बहुमूल्य जडीबुटी अन्नसँग साटासाट गर्थे । विनिमय प्रणाली यस प्रकारको कारोबारले पुँजीवादलाई नचिनेको प्रतीत हुन्थ्यो । आपसी खाँचोलाई पूरा गर्ने अभिप्रायबाट सञ्चालित पुँजीवादी रवाफरहित त्यो रैथाने अर्थतन्त्र साँच्चै लोभलाग्दो थियो । 

अन्त्यमा

समयले कोल्टे फेरिसक्यो । विगतमा जाडोबाट निम्तिने कष्टप्रद घडी एक किसिमले अन्त्य भएको छ । हिजोको जस्तो दीनहीन अवस्था छैन । बहुसङ्ख्यक नेपालीले जाडोयाममा न्यायो लुगा लाउन पाएका छन् । विडम्बना भन्नु पर्छ ती न्याना लुगा घरबुना प्रविधिलाई तिलाञ्जली दिएर आयात गरिएका वस्त्र हुन् । आफ्नै तानहरूलाई समृद्ध तुल्याई न्यानो लुगामा रमाउन पाएको भए सुनमा सुगन्ध हुने थियो । आयातित र परनिर्भर अर्थतन्त्रले कुनै बेला जाडोयामको चिसोले जस्तै नचिल्ला भन्न सकिन्न । 

Author

यमबहादुर दुरा