• ५ जेठ २०८१, शनिबार

परमाणु संयन्त्र नजिक देखिने उडनतस्तरी

blog

यसको सुरुवात सन् १९४० को दशकमा भयो, परमाणु बम विकास गरिँदै गरेको स्थल नजिक । परमाणु संयन्त्रहरू नजिक अज्ञात उडनतस्तरी (युएफओ) देखिने घटना बढी किन भएका छन् ? किन अमेरिकी सरकारले सम्भावित राष्ट्रिय खतराको गहिराइ आकलन गर्न अधिक तत्परता देखाइरहेको छैन ? 

यी प्रश्न गरिरहेका छन् अमेरिकी सुरक्षा र गुप्तचर निकायका पूर्वउच्च अधिकारीहरू, ‘एयरोस्पेस’ उद्योगका अग्रजहरू, विद्वान्हरू तथा ‘टु द स्टार्स एकेडेमी अफ आर्ट्स एन्ड साइन्स’ सँग आबद्ध व्यक्तिहरूसहितको एउटा टोलीले । यस टोलीले युएफओ देखिएको सम्बन्धमा भएका अनेक घटनाको अनुसन्धान गरिरहेको छ तथा यसले सरकारको गम्भीर भएर ध्यानआकर्षण गराउन वकालत गरिरहेको छ ।  

इतिहासलाई पल्टाएर हेर्दा रहस्यमय हवाई घटना (युएपी) ले आकाश नियाल्ने जो कोहीलाई डराउने, स्तब्ध पार्ने र रोमाञ्चित पारेको देखिन्छ । पछिल्लो शताब्दीमा सैन्य सन्दर्भबाट यस्ता केही घटनाको रिपोर्टिङ भएको छ । दोस्रो विश्वयुद्धको अन्त्यतिर फ्रान्स–जर्मनीको सिमानामा उडिरहेको सुन्तला रङका रहस्यमय प्रकाश देखेर अमेरिकी वायु सैनिकले तिनलाई ‘फु फाइटर्स’ भने । कोरियाली युद्धको समयमा केही सैनिकले नीलो–हरियो रङको प्रकाश उत्सर्जन भइरहेको ‘पलिसिङ रेज’ देखेको दाबी गरेका थिए, जुन प्रकाशले तिनीहरूको सम्पूर्ण बटालियन नै बिरामी प¥यो । कसैले यसलाई विकिरण विषाक्तता जस्तो माने । 

कमै जानकारीमा आएको चाहिँ के हो भने पछिल्लो ७५ वर्षमा अमेरिकी सेना र गुप्तचरका उच्च पदस्थ अधिकारीले समेत परमाणु ऊर्जा संयन्त्र, परमाणु हतियार र प्रविधि विकास स्थलमा रहस्यमय हवाई घटना भएको सूचना दिएका छन् । सुरुमा परमाणु बम विकास गर्दाको समयदेखि परमाणु शक्तिले सुसज्जित युद्धपोतसम्म त्यस खालका घटना भए । 

तीस वर्षभन्दा बढी समयदेखि रहस्यमय हवाई घटना र परमाणु विकास कार्यक्रमबीच सम्बन्ध देखिने घटनाको अध्ययन गरेका खोजी पत्रकार जर्ज न्याप भन्छन्, “लस अलामोस, लिभरमोर, सान्डिया, सभान्ना नदी– सबै परमाणु संयन्त्रमा नाटकीय घटना भएका छन् । जहाँ ती अज्ञात यान परमाणु संयन्त्रमाथि देखिए र कसैलाई पनि थाहा भएन ती कहाँबाट आएका हुन् वा ती त्यहाँ के गर्दै थिए ।”  

रक्षा विभागभित्र युएपी अनुसन्धानकर्ताको एक गोप्य टोलीको निर्देशकका रूपमा सन् २००७ देखि २०१२ सम्म काम गरेका ल्यु एलिजोन्दोको भनाइ छ, “त्यहाँ धेरै नै सम्बन्ध छ जस्तो प्रतीत हुन्छ ।” 


द न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार ‘एड्भान्स एयरोस्पेस थ्रेट आइडेन्टिफिकेसन प्रोग्राम (एएटिआइपी) नामको कार्यक्रमलाई सन् २०१२ मा पेन्टागनको छ खर्ब अमेरिकी डलरको बजेटबाट दुई करोड २० लाख डलर छुट्याइएको थियो । युएफओ–परमाणु सम्बन्ध परमाणु युगको उषाकालमै बन्यो ।

युएफओ अनुसन्धानकर्ता तथा ‘युएफओ एन्ड न्युक्स : एक्स्ट्राअडिनरी इन्काउन्टर्स एट न्युक्लियर वेपन्स साइट्स’ पुस्तकका लेखक रोबर्ट हस्टिङ्स भन्छन्, परमाणु–निकट अज्ञात वस्तु देखिने घटना दसकौँ पुराना छन् । परमाणु संयन्त्र वरिपरिको आकाशमा विचित्रका वस्तु देख्ने प्रत्यक्षदर्शी एक सय ६० जनाभन्दा बढी मानिससँग आफूले अन्तर्वार्ता लिएको भनाइ छ हस्टिङ्सको । 

सन् १९४८ को अन्त्यतिर अमेरिकाको न्यु मेक्सिकोको लस अलामोस र सान्डियामा रहेका परमाणु प्रयोगशाला नजिक आकाशमा हरियो ज्वाला देखियो । त्यो त्यही क्षेत्र हो जहाँ पहिलो परमाणु बम विकास गरियो र परीक्षण गरिएको थियो । एफबिआईले सन् १९५० देखि गोप्य राखेको र पछि सार्वजनिक गरिएका दस्ताबेजमा लस आलामोस प्रयोगशाला नजिक करिब ५० फिट व्यासको ‘फ्लाइङ ससर्स’ देखिएको कुरा उल्लेख छ । दोस्रो विश्वयुद्ध सकिएपछि धेरै पटक परमाणु बम परीक्षण गरिएको नेभेदा मरुभूमिको परमाणु बम परीक्षण क्षेत्रमा काम गरेका एक दर्जनभन्दा बढी कामदारसँग न्यापले अन्तर्वार्ता लिएका थिए । ती कामदारले त्यहाँ युएफओ गतिविधि सामान्य नै भएको तथा त्यहाँ काम गर्ने केही कर्मचारीलाई युएफओको निगरानी गर्न खटाइएको जानकारी उनीहरूले आफूलाई दिएको भनाइ छ न्यापको ।     

सन् १९६० र १९७० को दशकमा मोन्टानाको ‘माल्मस्ट्रोम एयर फोर्स बेस’ मा बारम्बार युएफओ देखिएका थिए, जो  अन्तरमहादेशीय परमाणु क्षेप्यास्त्र भण्डारण क्षेत्र हो । सन् १९६७ मा भएको यस्तै एक घटनाका बारेमा वायु सेनाको पूर्वपाइलट रोबर्ट सलासले गजबको खुलासा गर्दै संयन्त्रको आकाशमा करिब ३० फिट व्यासको एउटा चम्किलो रातो वस्तु उडिरहेकै बेला त्यहाँ रहेका कतिपय क्षेप्यास्त्र काम नलाग्ने भएको जानकारी सुरक्षामा खटिएका अधिकारीले दिएको बताएका थिए । एक समय क्षेप्यास्त्र प्रक्षेपण अधिकारीका रूपमा समेत काम गरेका सलासपछि एयरोस्पेस उद्योग र फेडरल एभियसन एडमिनिस्ट्रेसनमा आबद्ध भए । उनले सिएननसँग कुरा गर्दै भने, “क्षेप्यास्त्र प्रक्षेपण गर्न नसकिने अवस्थामा पुगेका थिए ।”


अवलोकनकर्ताले यी रहस्यमय घटनाका बारेमा मात्र अनुमान गर्न सक्छन् तर अमेरिकाको निकै शक्तिशाली हतियारसँग सम्बन्धित संवेदनशील सुरक्षा क्षेत्र नजिक बारम्बार भएका घटनाले पक्कै पनि प्रश्न उब्जाएको छ, के ती ज्ञात वा अज्ञात प्रतिद्वन्द्वीका उपज हुन् ? 

सन् १९८० को डिसेम्बरमा इङ्ग्ल्यान्डको ‘रोयल एयर फोर्स बेन्टवाटर्स’ नजिक ‘एयर ट्राफिक कन्ट्रोलर्स’ ले अलि सचेत हुनुपर्ने खालको परिस्थितिको सामना गर्नु प¥यो । शीतयुद्ध अवधिमा अमेरिकी वायुसेनाले युरोपमा आफ्नो आधारस्थलका रूपमा प्रयोग गरेको बेन्टवाटर्समा २५ वटा निकै बलिया भूमिगत बङ्करमा परमाणु हतियारको गुप्त भण्डारण गरिएको थियो ।   

त्यस दिन अमेरिकी वायुसेनाको ‘एयर ट्राफिक कन्ट्रोल’ मा कार्यरत इभान बार्कर भन्छन्, “राडार स्क्रिनमा हामीले हे¥यौँ र पहिले कहिल्यै नदेखेको गतिविधि त्यसमा देख्यौँ, त्यस्तो मैले कहिल्यै देखेको थिइनँ ।”

अमेरिकी वायु सेनामा १८ वर्षदेखि कार्यरत बार्करलाई अमेरिकी, नेटो र सोभियत सङ्घका सबै लडाकु विमानका बारेमा जानकारी थियो । उनी भन्छन्, “त्यस वस्तुलाई देखेर म र मेरा सहकर्मी सबै छक्क प¥यौँ ।” त्यस वस्तुको असाधारण गति र गतिशीलता देखेर उनीहरू चकित परेका थिए । राडारमा हेर्दा त्यस वस्तुले सेकेन्डभरमै एक सय ९३ किलोमिटर दुरी पूरा गरिरहेको देखियो । 

विचित्रको वस्तु देख्दा उनले राडारबाट माथि सोझै त्यसलाई हेर्न थाले । अनि त्यो यान नजिक आयो, सुस्त भयो र त्यसपछि आधार शिविरको पानी ट्याङ्कीमाथि टक्क रोकियो । बार्करले भने, “हेलिकोप्टर हावामा रोकिएको जस्तो, हेलिकोप्टर तलमाथि हुन्छ तर त्यो त स्थिर थियो । त्यो यान १५ सयदेखि दुई हजार फिटको उचाइमा थियो होला ।”  

बार्करका अनुसार त्यो विशाल बास्केटबल जस्तो थियो, मध्यभाग वरिपरि प्वाल थिए । ती प्वालबाट प्रकाश बाहिर आइरहेको थियो ।

यस घटनाका बारेमा बार्करले आफ्ना हाकिमलाई जानकारी दिएनन् । उनी भन्छन्, “तपाईंले बुझ्न सक्नुहुन्न युएफओ देखेको बताउने मानिससँग एयर फोर्सले कस्तो व्यवहार गर्छ ।”

बार्करसँग जुन खालको घटना भयो त्यो त्यतिबेला बेन्टवाटर्सका उपप्रमुख कर्णेल चाल्र्स हल्टको कथासँग मिल्दछ । त्यस राति नजिकैको रेन्डलसेम जङ्गलमा विचित्रको रङ्गिन प्रकाश अवतरण गरिरहेको देखिएपछि त्यसको अनुसन्धानका लागि हल्ट एउटा टोलीको नेतृत्व गरेर त्यसतर्फ गएका थिए । हल्टले जङ्गलमा आफूले जे देखेको हो त्यस बारेमा एलिजोन्दोलाई बताएका छन् । हल्टले त्यस घटनाका बारेमा यसरी भने, “रातो प्रकाश रुखमाथि क्षितिजको समानान्तर गतिशील थियो । स्पष्टतः कुनै खास बौद्धिक नियन्त्रणमा थियो । एउटा लेजर प्रकाशपुञ्ज हामीबाट १०–१५ फिट पर ठोक्कियो । म त वास्तवमा स्तब्ध भएँ ।”

त्यसपछि प्रकाशपुञ्ज प्रहार गरिरहेको यान तीव्र गतिमा उत्तर दिशामा सैन्य आधार शिविरतिर हुँइकिएको थियो । हल्ट भन्छन्, “हतियार भण्डार गरिएको क्षेत्रमा प्रकाशपुञ्ज प्रहार हुँदा हामीले रेडियोमा कुराकानी भइरहेको सुन्न सक्थ्यौँ ।” हल्टले त्यस कुराकानीको अडियो टेप गरेका थिए । 

पछि जनरललाई त्यो अडियोटेप सुनाइयो तर ती जनरलले थप अनुसन्धान आवश्यक नरहेको भनिदिए । हालैका वर्षमा रहस्यमय हवाई घटना अमेरिकाको परमाणु हतियारसँग सम्बद्ध जलसेनाको अखडा नजिक हुन थालेका छन् । 

परमाणु शक्तिले सुसज्जित अमेरिकी जलपोत युएसएस थियोडोर रुजवेल्टका एफ–१८ लडाकु विमानका पाइलटले भर्जिनिया र फ्लोरिडाको पूर्वी समुद्री तट वरिपरि तालिम लिँदा सन् २०१४ को ग्रिष्मदेखि सन् २०१५ को वसन्त ऋतुबीच दैनिक जसो रहस्यमय हवाई घटना देखेका थिए ।  एलिजोन्दोलाई एफ–१८ विमानका पाइलट रायन ग्रेभ्सले भने, “हामी जहाँ जान्थ्यौँ तीत्यहीँ हुन्थे ।”

ती वस्तु तीन आकारमा देखिने भनाइ छ ग्रेभ्सको । कुनै ‘डिस्क’ जस्ता थिए, कोही चाहिँ भित्र घनाकार भएका वृत्त जस्ता थिए भने केही साना वस्तु समूहमा उडिरहेका हुन्थे । सबैमा इन्जिन र धुवाँ निस्कने माध्यम थिएन । सन् २०१७ मा अमेरिकाको रक्षा मन्त्रालयले सार्वजनिक गरेको इन्फ्रारेड भिडियोमा ती केही वस्तु अलि झुकेर आफ्नै धुरीमा घुमिरहेको देख्न सकिन्छ । ग्रेभ र एफ–१८ का अर्का पाइलट डान्ने अकोइनले सरकारद्वारा सार्वजनिक गरिएको भिडियोमा सत्यता रहेको बताएका छन् ।  

पर्सियन खाडीमा रुज्बेल्टलाई तैनाथ गरिएका बेलामा समेत पुनः रहस्यम उडनतस्तरी देखिएको भनाइ छ ग्रेम्भसको । बिल क्लिन्टन र जर्ज डब्ल्यु बुस राष्ट्रपति छँदा गुप्तचर विभागका लागि पूर्वअमेरिकी उपसहायक रक्षामन्त्री व्रिmस मेलनले दिएको जानकारी अनुसार आन्ध्र महासागर हुँदै मध्यपूर्व क्षेत्रमा तैनाथ हुन जानेक्रममा अज्ञात यानले रुज्बेल्टलाई पछ्याएको थियो । हामीले सम्भावना नै नहुने ठानेको प्रविधि अस्तित्वमा रहेको पुस्टि गर्ने घटनाका रूपमा यसलाई हेर्न सकिन्छ । 

हार्वर्ड–स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका वरिष्ठ एस्ट्रोफिजिसिस्ट लियन गोलुबले द न्यु योर्क टाइम्सलाई भने अनुसार रुज्बेल्टका कर्मीले जे जस्तो देखेको र बेहोरेका थिए त्यसको बयान गर्न नै कठिन छ । तेज गतिको वस्तुका कारणले वस्तु पहिचान गर्ने राडारको कोडमा गडबडी आउनु, वायुमण्डलीय प्रभावमा हेरफेर तथा अनियन्त्रित सूचना राडारमा आउँदा परेको ‘न्युरोलोजिकल ओभरलोड’ को स्तर भनिसाध्य छैन । 

अमेरिकाको अन्य क्षेत्रमा अभ्यासका क्रममा जलसेनाका पाइलटले देखेका घटनामा रुज्बेल्टको घटना प्रतिविम्बित हुन्छ । सन् २००४ नोभेम्बरमा युएसएस निमित्ज जलपोतका पाइलट र राडार सञ्चालकहरूले सान डियागो नजिक क्यालिफोर्नियाकोे तटबाट एक सय ६० किलोमिटर पर समुद्रमाथि उडिरहेको ४० फिट लामो बेलनाकार रहस्यमय वस्तु देखे । जब एफ–१८ लडाकु विमान त्यसलाई पछ्याउन थाले त्यो जलसेनाका सुपरसोनिक विमानले भेट्न नसक्ने तेज गतिमा त्यहाँबाट बेपत्ता भयो । 

यसरी सेनाका जलपोतसँग भएका घटनाले सैनिकहरू एक खालको तनावमा थिए नै अहिले आएर पेन्टागन र क्यापिटल हिलले त्यस प्रकारका घटनालाई सम्भावित खतरा मानेर गम्भीर रूपमा लिन थालेका छन् । सन् २०१९ अप्रिलमा अमेरिकी जलसेनाले आफ्ना पाइलट र अन्य कर्मीलाई एउटा निर्देशिका जारी गरी रहस्यमय हवाई घटना देखिँदा अपनाउनुपर्ने कार्यविधिको जानकारी दियो । जस अनुसार उनीहरूले त्यस प्रकारको घटना देखेमा आफ्ना हाकिमलाई जानकारी दिन सहजता महसुस गर्दछन् । 


– हिस्ट्रीबाट उमेश ओझाद्वारा अनुवादित तथा सम्पादित