रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर ४ गते । रोजगारीको शिलशिलामा भारतमा बस्दा विवाह गरेर दुई छोरा जन्माएपछि यहाँका एक युवाले नेपाल फर्केर दोस्रो श्रीमती भित्र्याएपछि जेठी श्रीमती अलपत्र पर्नुभएको छ । दुई सन्तानको जन्मदर्ता समेत नहुँदा उहाँ अहिले तनावमा हुनुहुन्छ । उहाँले ठुला भइसकेका दुई छोराको जन्मदर्ता गर्न घरपरिवारले असहयोग गरेपछि दलित अधिकारकर्मीदेखि सञ्चारकर्मीसँग गुहार माग्न बाध्य भएको बताउनुभयो ।
जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका रामप्रसाद कँडेलले भारतको हिमाञ्चलमा बस्दा विवाह गरेकी नेपालगञ्जकी युवती अलपत्र पर्नुभएको हो । उहाँले जन्माएका दुई छोराको अहिलेसम्म जन्मदर्ता नभएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ की बिर्मा विकले कँडेलसँग १६ वर्षअघि भारतमा विवाह गर्नुभएको थियो । उहाँका १५ वर्षका अनन्त र १२ वर्षका आयुष गरी दुई छोरा हुनुहुन्छ । अहिलेसम्म बिर्माको नागरिकता छैन । ‘‘अहिलेसम्म विवाह दर्ता पनि भएको छैन’’ विकले भन्नुभयो ।
भारतकै अस्पतालमा जन्मेका ती बालकको जन्म प्रमाणपत्रमा बाबु रामप्रसाद कँडेलको नाम उल्लेख छ । नेपाल आउने जाने क्रममा कँडेलले भने दोस्रो विवाह गरी विवाह दर्ता समेत गरेको खुलेको छ । उहाँको पहिलो श्रीमती रहेको, छोराछोरी भएको भने अभिभावक र गाउँमा जानकारी नभएको स्थानीयको भनाइ छ । गत वर्षसम्म नियमित सम्पर्कमा रहेर विभिन्न बहानामा गाउँमा नल्याइ श्रीमती बिर्मालाई कँडेलले नेपालगञ्जमै राख्नुभएको थियो । बेलाबेला पैसा पठाएको र गाउँमा दुःख हुन्छ भन्दै तराईमा राखेको विकले बताउनुभयो ।
गतवर्ष छोराहरुको जन्मदर्ताका लागि बागलुङ आउँदा कँडेल भेट नभएको र परिवारका सदस्यले बस्न नदिएपछि नेपालगञ्ज फर्किएको विकले दुखेसो पोख्नुभयो । गाउँमा भेला भएका छिमेकीले पाँच लाख रुपियाँ दिन्छौं, फर्केर जाउ भन्दै पठाउन खोजेको बिर्माले बताउनुभयो । ‘‘मेरो अवस्था जे–जस्तो भए पनि छोराहरुको जन्मदर्ता गराउनुपर्ने माग गर्दा परिवारका सदस्यले उल्टै गालीबेइज्जती मुद्दा दिएर प्रहरीमा लगे’’ बिर्माले भन्नुभयो ।
नेपाल पत्रकार महासंघमा गुनासो लिएर आउनुभएको बिर्माले न्याय दिलाई दिन अपिल गर्नुभएको छ । उहाँको न्यायका लागि राष्ट्रिय दलित महिला सञ्जालका कोषाध्यक्ष सरस्वती रामदामले पनि पहल गरेको बताउनुभयो । ‘‘बालबालिकाको न्यायका लागि हामी हिँडेका छौं, तर गाउँमा आइपुग्दा आफ्नै परिवारका सदस्यलाई बस्न दिएनन्’’ उहाँले भन्नुभयो,‘‘केही दिन बसेपछि उनीहरु सञ्चारमाध्यमबाट घटनाबारे जानकारी दिन आइपुगेका हुन् ।’’
बिर्माका श्रीमातन कँडेल हाल विदेश गएको भन्दै परिवारका सदस्यले भने जेठी श्रीमतीबारे जानकारी नभएकाले अपरिचित व्यक्तिलाई बस्न दिन नसकेको बताउँदै आएका छन् ।