• ४ मंसिर २०८२, बिहिबार

सुन्दर नेपालको परिकल्पना

blog

  • सुन्दर नेपालको पहिलो आधार सुशासन हो । भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही सरकार नभएसम्म कुनै पनि देश सुन्दर बन्न सक्दैन । सरकारी सेवा सहज, छरितो र नागरिकमैत्री हुनु पर्छ ।
  • नेपाल भौगोलिक विविधताले भरिपूर्ण छ । यहाँ खाद्यान्नदेखि नगदेबाली, फलफूल र पशु विकासको पनि प्रचुर सम्भावना रहेको छ । 
  • नेपालको सांस्कृतिक धरोहर विश्वमै अद्वितीय छ । मन्दिर, स्तुपा, गुम्बा, दरबार, कला कौशल, पहिरन, भाषा, जाति, सङ्गीत र परम्परा यी सबै सुन्दर नेपालको पहिचान हुन् ।

नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक गौरवले भरिएको राष्ट्र हो । हिमाल, पहाड र तराईको भूगोल विविध भाषा, संस्कृति र प्राकृतिक स्रोतसाधनले भरिपूर्ण देश विश्वमै पहिचान बोकेको  छ । यति धेरै सम्भावनाले भरिएको देश सुन्दर बन्न नसक्नु विडम्बना हो । त्यसैले आजको नेपालले चाहेको परिकल्पना भनेको केवल भौतिक सुन्दरता मात्र होइन, समग्र विकास, सुशासन, समृद्धि र नागरिकको खुसीसहितको समग्र सुन्दर नेपालको निर्माण गर्नु हो ।

संसारका अनेकौँ देश प्रगतिको शिखरमा पुगेका छन् । एक समय नेपालकै अवस्थामा भएका थुप्रै देश कहाँबाट कहाँ पुगिसकेका छन् तर दुर्भाग्य ! हाम्रो देश नेपाल गरिब राष्ट्रहरूको तल्लो सूचीमा खुम्चेर बसेको छ । पृथ्वीको सुन्दरतम राष्ट्रभित्र नेपाल पर्छ । यहाँका जनता लगनशील र मेहनती छन् । आफ्नै किसिमका साधन स्रोतहरू प्रचुर मात्रामा छन् । नेपालका इतिहास गौरवशाली छ । यहाँका जनता बलिदानी छन् । लोकतान्त्रिक अधिकारप्रति जनता सचेत छन् । विश्वका अरू देशको प्रतिस्पर्धामा पुग्ने योग्यता, क्षमता र दक्षता भएका विद्वान् वर्ग छन् यहाँ । निरङ्कुशताको पहाड पल्टाउने मात्र होइन, सर्वोच्च हिमशिखरसँग पौठेजोरी खेल्ने वीर जनता छन् यहाँ । विश्वमा शान्ति र सद्भाव छर्ने जनशक्ति छ यहाँ । विश्वको अनेकौँ देशको भ्रमण गरेर अनुभव बटुलेका अनुभवी पङ्क्ति विद्यमान छ, हामीकहाँ तर पनि हामी पछौटेमध्ये पर्दछौँ । सम्भावनाका ढोका प्रशस्तै छन् तर विकासको थुप्रै क्षेत्रमा पछाडि नै छौँ । राष्ट्र सामन्तवादको जालोमै जकडिएको छ । शोषण, उत्पीडन, छुवाछुत र विभेद कायमै छ । भ्रष्टाचार, सत्ताको दुरुपयोग, दण्डहीनता, हुकुमी र स्वेच्छाचारी प्रवृत्ति व्याप्त छ । अरू देशलाई हेर्दा हामीलाई ईष्र्या लाग्छ । अरूको प्रगतिको खबरले हामीलाई गिज्याइरहेको झैँ लाग्छ । किन पछाडि परेका छौँ हामी ? हामी किन अपमानपूर्ण अवस्थामा छौँ ? यसको सही कारण खोज्नु, त्यसको निराकरण गर्नु र अगाडि बढ्ने उपाय पत्ता लगाउनु, दूरदृष्टियुक्त र यथार्थवादी सोच, नीति र कार्यक्रम योजना तर्जुमा गर्नु आजको ज्वलन्त आवश्यकता छ । 

सुन्दर नेपालको पहिलो आधार सुशासन हो । भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही सरकार नभएसम्म कुनै पनि देश सुन्दर बन्न सक्दैन । सरकारी सेवा सहज, छरितो र नागरिकमैत्री हुनु पर्छ । डिजिटल शासनको प्रभावकारी प्रयोग, सेवामा सजिलो पहुँच र न्याय प्रणालीमा निष्पक्षता नै सुन्दर राष्ट्रको जग हो । नागरिकले विश्वास गर्न सरकार नै स्थिर र प्रगतिशील राष्ट्र निर्माणको ऊर्जा बन्छ । सुन्दर नेपालका लागि शान्ति, सहअस्तित्व र सामाजिक सद्भाव हुन अति आवश्यक छ । नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको फूलबारी हो । यस विविधतालाई तनावले होइन, शक्ति र सौन्दर्यको रूपमा अवलम्बन गर्दा मात्रै सुन्दर नेपालको निर्माण हुन्छ । सामाजिक सद्भाव, समानता र सम्मान देशको आत्मा हो । विभिन्न वर्ग तथा जातजातिमा भेदभावरहित समाज निर्माण गर्न सके मात्र नेपालको सुन्दरता वास्तविक अर्थमा चम्किन्छ । 

सफा, हरियाली र दिगो वातावरणयुक्त नेपाल पनि सुन्दर नेपालको परिकल्पना हो भने मनोरम हिमाली शृङ्खलाहरू, प्राकृतिक सुन्दरता, धार्मिक,पुरातात्त्विक र ऐतिहासिक विशिष्टताका बारेमा नेपालमा पर्यटन उद्योगको दु्रततर विकास प्रचुर सम्भावना हो । नेपाल भौगोलिक विविधताले भरिपूर्ण छ । यहाँ खाद्यान्नदेखि नगदेबाली, फलफूल र पशु विकासको पनि प्रचुर सम्भावना रहेको छ । भौगोलिक विविधता र तुलनात्मक लाभ अनुरूप कृषिको व्यावसायीकरण तथा औद्योगिकीकरणको बलियो सम्भावना छ । साथै ठुलो जैविक विविधताबाट अर्थतन्त्रको प्रवर्धन तथा आम जनताको जीवनस्तर अभिवृद्धिमा ठुलो टेवा पुग्न सक्ने अवस्था रहेको छ । 

नेपाल जलस्रोतमा निकै धनी छ र यसलाई बहुआयामिक हिसाबले राष्ट्रको सर्वपक्षीय विकास र समृद्धिमा उपयोग गर्न सकिन्छ । नेपालमा केही खनिजजन्य उद्योगको विकासको पनि त्यत्तिकै सम्भावना छ । खनिज सम्पदाबाट देशको औद्योगिकीकरण तथा रोजगारी प्रवर्धनमा विशेष योगदान पुग्ने अवस्था रहेको छ । नेपाली जनता सिर्जनशीलता, जोस जाँगर, इमानदारिता र पारिश्रमिक भावना नेपालको भावी विकासको प्रमुख आधार हो । देशको उत्पादक शक्ति र श्रमलाई व्यावसायिक र प्राविधिक तथा सिपजन्य तालिमका आधारमा सबल बनाउँदै जाँदा श्रमशक्ति उत्पादनशील उद्यमीको रूपमा रूपान्तरित हुने छ । वन सम्पदाको समुचित प्रवर्धन र उपयोगमार्फत देशमा रोजगारी र आय आर्जनको वृद्धि तथा गरिबी निवारणमा विशेष योगदान पुग्ने पनि प्रबल सम्भावना रहेको छ । नेपालको वन सम्पदालाई जडीबुटी उत्पादन, वनजन्य उद्योगको विकास तथा विदेशी मुद्रा आर्जनको एउटा प्रमुख आधार बनाउन सकिने स्थिति रहेको छ । नेपाल विश्वमै सबैभन्दा धेरै जनसङ्ख्या, अपार बजार तथा विकासमा फड्को मार्दै गरेका दुई मुलुकको बिचमा अवस्थित छ । ती बजारमा बढ्दो माग अनुरूप देशमा औद्योगिकीकरण र सेवा व्यवसायको प्रवर्धन गर्न सकिने विशिष्ट थप सम्भावना विद्यमान छ । 

सहरबजार, धुलो–धुवाँबाट मुक्त, नदी नालाको सफाइ, प्लास्टिकजन्य वस्तुको प्रदूषण नियन्त्रण र वनसम्पदाको संरक्षण, नदी तथा तालहरूको सफाइ, वन्यजन्तुको सुरक्षा र वातावरणमैत्री पर्यटन सुन्दर नेपालको आधारभूत तत्व हुन् । वातावरण जोगाउन सकियो भने नेपाल स्वयम् एक प्राकृतिक कलाकृति बनेर संसारभर चम्किन सक्छ । सडक, पुल, सुरुङमार्ग, रेल, सुरक्षित घर, आधुनिक सहर र पहुँचयुक्त गाउँ यी सबै सुन्दर नेपालको रूपमा कल्पना गरिन्छ । यातायात सहज र सुरक्षित, विद्युत् निरन्तर, शुद्ध खानेपानी, फोहोर व्यवस्थापन व्यवस्थित हुनु पर्छ । केवल सहर मात्र होइन गाउँ गाउँमा समेत सुन्दर सडक, बिजुली, इन्टरनेट र आधारभूत सुविधा पुग्दा राष्ट्र सुन्दर देखिन्छ । गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवाबिना कुनै पनि देश सुन्दर हुन सक्दैन । सरकारी विद्यालय आधुनिक सिपमूलक र सबैका लागि समान अवसरयुक्त हुनु पर्छ । गाउँमै राम्रो अस्पताल, सहज उपचार, स्वाथ्य बिमा र मातृ शिशु सुरक्षा कार्यक्रम प्रभावकारी हुँदा नागरिकको जीवनस्तर सुन्दर बन्छ । स्वस्थ र शिक्षित नागरिकले नै सुन्दर देश निर्माण गर्न सक्छन् । सुन्दर नेपाल केवल देखिनुमा सुन्दर नभई आर्थिक रूपमा पनि सम्पन्न राष्ट्रको प्रतीक पनि हो । नेपालका जलविद्युत्, पर्यटन, कृषि, खानी तथा सेवा क्षेत्र विशाल सम्भावनाका स्रोत हुन् । यी क्षेत्रको उचित प्रयोग गर्न सके लाखौँ युवालाई रोजगारी मिल्छ । विदेश निर्भरता कम भई देशमै सिर्जना भएको अर्थतन्त्रले सुन्दर भविष्य निर्माण गर्छ । स्वावलम्बी र आर्थिक रूपमा बलियो नेपाल नै वास्तविक अर्थमा सुन्दर नेपाल कहलिन्छ । 

नेपालको सांस्कृतिक धरोहर विश्वमै अद्वितीय छ । मन्दिर, स्तुपा, गुम्बा, दरबार, कला कौशल, पहिरन, भाषा, जाति, सङ्गीत र परम्परा यी सबै सुन्दर नेपालको पहिचान हुन् । संस्कृतिलाई जोगाउँदै आधुनिकतासँगै कदम मिलाएर अगाडि बढ्ने कला नेपालले सिक्नु पर्छ । आफ्नै कला संस्कृतिमा गर्व गर्ने राष्ट्र नै शान्त र सुन्दर हुन्छ । अन्ततः सुन्दर नेपालको मूल आत्मा भनेको नागरिक हुन् । रोजगारी, सुरक्षा, शान्ति, न्याय, अवसर र सम्मान पाएर बाँचिरहेको नागरिकले अनुभूत गर्ने सन्तोष नै राष्ट्रको सुन्दरता हो । सडक सफा हुँदा मात्रै होइन मन सफा हुँदा, आशा बढ्दा सपनाहरू पूरा हुन सक्ने वातावरण सिर्जना हुँदा नै देश सुन्दर बन्छ । 

सुन्दर नेपाल कुनै दूरको सपना होइन, सम्भावनाले भरिएको हाम्रो देशले चाहेमा केही दशकमै विश्वलाई चकित पार्ने प्रगतिमा पुग्न सक्छ । यसका लागि हामी सबै नागरिक, सरकार, निजी क्षेत्र र युवाले आआफ्नो भूमिकाबाट योगदान गर्नु पर्छ । सुरक्षित, समृद्ध, न्यायपूर्ण र अवसरले भरिपूर्ण राष्ट्र निर्माण गर्ने साझा सपना नै सुन्दर नेपालको परिकल्पना हो । सुन्दर नेपाल त्यति बेला मात्रै सम्भव हुन्छ, जब नागरिकबिच आपसी सद्भाव, समानता र सहयोगको भावना बलियो हुन्छ । सुन्दर नेपालको परिकल्पना केवल कल्पना होइन, सबै नेपालीको प्रयास, एकता र सकारात्मक सोचले सम्भव हुने उज्यालो भविष्य पनि हो ।