प्रेमराज सिम्खडा
कालीकोट, कात्तिक ११ गते । गत वर्षको वर्षाका कारण आएको वाढीमा परी ज्यान गुमाएका कालीकोटको राँचुलीका १३ जनाको सम्झनामा गाउँलेले स्मृति कपको आयोजना गरेका छन् ।
वाढीमा वेपत्ता भएका १३ जना आफ्ना गाउँलेहरुको सम्झनामा स्मृति कपको आयोजना गरेका हुन् । गाउँका एक मृतकको मलामी गएका तिलागुफा नगरपालिका –४ राँचुली गाउँका १३ जना मलामीलाई खोलामा आएको वाढीले वगाएर तिला नदीमा मिसाएको थियो ।
उनीहरुको अहिलेसम्म शव फेला परेको छैन । खोलाको वाढी र तिला नदीमा उर्लिएको बाढीले १३ जनालाई वेपत्ता बनाएपछि पुरै गाउँ शोकमा डुबेको थियो । राँचुलीका कमल शाही कर्णालीले गाउँका केही गरौ भन्नेखालका युवाहरुले सामुहिक ज्यान गुमाएहरुको सम्झनामा स्मृति कपको आयोजना गरेको बताउनुभयो ।
बिहीवार सुरु भएको खेल आज सम्पन्न भएको छ । सम्झानामा वर्षमा एउटा केही कार्यक्रम गर्ने राँचुलीका स्थानीयले अठोट लिएको उहाँले बताउनुभयो । भाइ गुमाउनुभएका राँचुलीका खड्कराज शाहीले १३ जना केही न केही काममा लागेका र सामाजिक कामको नेतृत्व गरिरहेका ब्यक्ति भएकाले उनीहरुको सम्झानास्वरुप कार्यक्रम गर्दैजाने बताउनुभयो ।
गत वर्ष दसैंको दिनदेखि परेको पानीले आएको वाढीमा परेर राँचुलीका १३ जनाले ज्यान गुमाएका थिए ।