साहारा लिम्बू
फुङलिङ, मङ्सिर २९ गते । ताप्लेजुङको तेल्लोकमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधिका लागि सोमबार झापा र धरानबिच प्रतिस्पर्धा हुँदैछ । झापाको न्यु स्टार क्लब बिर्तामोड र धरानको मरिक फुटबल क्लब उपाधि आफ्नो पोल्टामा पार्ने योजन सहित मैदान उत्रदै छन् ।
सेमिफाइनमा धरानले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई ट्राइबेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै झापाले म्याङ्लुङ स्पोर्टिङ युवा क्लबलाई ५–२ गोलअन्तरले पराजित गदै फाइनलमा धरानसँगको भिडन्त पक्का गरेको हो ।
सिरिजङ्गा सिहँ थेवेको जन्मजयन्तीको अवसरमा गत मङ्सिर २३ गतेबाट सुरु भएको प्रतियोगितामा भारतको पारिजात फुटबल क्लब सहित आठ टीमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले नगद तीन लाख ३२१ रुपियाँ र उपविजेताले एक लाख ५० हजार ३२१ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलको विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजकको भनाइ छ ।
स्थानीय स्तरमा उत्पादन भएका कृषि सामग्रीहरूको बजारीकरण तथा खेलकुदकै माध्यमबाट सिरिजङ्गा गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ ।