• ११ मंसिर २०८१, मङ्गलबार

सिसिटिभीको विस्तारले सहज

blog

मानिस वास्तवमा कस्तो प्रकृतिका प्राणी हुन् भनी यकिन गरी भन्न कठिन छ । संसारमा भएका चेतन तथा भौतिक हरेक वस्तु जनावर र पशुपक्षी जस्ता थिए आज छन् र भोलि पनि त्यस्तै हुने छन् । यस्ता चीजको परिवर्तन निकै कम हुन्छ र परिवर्तन भए पनि त्यसका कारण सहजै पत्ता लगाउन सकिन्छ । तर मानिस छिनछिनमा रूपान्तरण हुन्छन् किनकि उसले आफ्नो चेतनशील दिमागलाई सहजै रूपान्तरण गर्न सक्छ । मानिस एक सेकेन्डमा इमानदारबाट बेइमान र बेइमानबाट इमानदार बन्न सक्छन् । एक सेकेन्डमा चरित्रवानबाट चरित्रहीन हुन सक्छ । यस्तो स्वभाव हुनुमा मानिसको चेतना र विवेकै प्रमुख कारक हो, जुन ज्यादै गतिशील, जटिल अनुमानहीन छ । मानिसको मन पल प्रतिपल बदलिन्छ । एकछिनमा मानिसको मन बदलिएर ऊ सज्जनबाट चोर बन्न सक्छ । यही समस्या समाधान गर्नका लागि सहर, बजारलगायतका स्थानमा सिसिटिभी, क्यामरा ठाउँ ठाउँमा जोडिएका हुन्छन् । यहाँ चेतना र पदार्थको दर्शनलाई उठान नगरी केवल मानिसलाई कसरी सिसिटिभीले इमानदार बन्न बाध्य पारेको छ । यस विषयमा केही लेख्न खोजिएको छ ।

मानिस आफैँमा इमानदार हुनु र इमानदार हुन बाध्य हुनु दुई अलग विषय हुन् । सिसिटिभी अर्थात् क्लोज सर्किट टेलिभिजनले अहिले अति नै प्रचलनमा आएको इलेक्ट्रोनिक उपकरण हो । यसले सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएका क्षेत्र जस्तै सार्वजनिक क्षेत्र, बैङ्क, पसल, सडक, परीक्षा केन्द्र, दुई देशीय सीमारेखा आदिमा मानिसबाट हुने क्षति, चोरी वा अन्य गतिविधिबाट तत्क्षेत्रलाई बचाउन अति उपयोगी भएको छ । सिसिटिभीले मानिसलाई इमानदार बन्न बाध्य बनाएको छ । यसले पुरै भ्रष्टाचार रोक्छ, चोरी रोक्छ भन्ने पूरा जिम्मेवारी लिन त सकिँदैन तर धेरै कुरामा यसले मानिसलाई सतर्क बनाउँछ । 

पछिल्ला दिनमा पसलमा दिउँसै भएको महिलाको हत्या, एकैचोटि तीन जना मारिएको घटनामा प्रहरीलाई अपराधी पत्ता लगाउन सिसिटिभीले ठुलो सहयोग गरेको छ । घटना भइसकेपछि अपराधी पक्रिनका लागि त यो उपयोगी छ नै त्योभन्दा पनि सिसिटिभीको डरले मानिसमा सीमित भए पनि इमानदारी जागेको छ । सिसिटिभी जडान भएको बसमा पकेट मार्न र गलाको सिक्री चोर्न अभ्यस्त भएका पाकेटमारले अहिले यो उपकरण जडान नभएको बसमा मात्र आफ्नो बदमासी विस्तार गर्न बाध्य भएका छन् । पुरा तथ्याङ्क त नहोला तर सिसिटिभीजडित बसमा पाकेट मारी घटेको छ । किनकि त्यहाँ प्रमाणका रूपमा चोरी देखिन्छ । यसै गरी बैङ्कमा कसैबाट रकम गडबड भएमा पनि यही क्यामराबाट रोक्न वा चोर पक्रिन सकिन्छ । 

विदेशमा सडकमा हिँडेको सवारीसाधनले तोकिएको मापदण्डको उल्लङ्घन गरेमा सिसिटिभीको माध्यमबाट पक्रिएर उसको खाताबाट सरकारी बाँकी सरह मानी जरिबाना असुल गरिन्छ । त्यो डरले नै मानिसले अत्यधिक सतर्क भएर सवारी चलाउन बाध्य हुन्छन् । सिसिटिभी भएको ठाउँमा चोरी कम हुन, भए पनि चोर सहजै पक्रिने भएकाले त्यहाँ होश ठेगानमा भएको मानिस इमानदार बन्न बाध्य हुन्छ । यदि यस्तो उपकरणको आविष्कार नभएको भए होश सम्हालेपछि चोरी गर्ने व्यक्ति पनि ऐनमौकामा महान् सज्जन र इमानदार बन्ने थिएनन् । तथाकथित महान् सज्जन भनिएका पनि एकान्तमा के के गर्छन्, कसैले जिम्मा लिन सकिँदैन । वर्तमानमा यो क्यामराले मानिसको आदत रूपान्तरणमा ठुलो भूमिका खेलेको छ । 

यो ब्रह्माण्ड, भौतिक वस्तु हो, अभौतिक वस्तु हो, चेतन हो, अवचेतन हो, पदार्थ र चेतनामा अन्तर के हो ? यी अनन्य प्रश्नको सही उत्तर सम्भवतः अहिलेसम्म कसैले पत्ता लगाउन सकेका छैनन् । चाल्र्स डार्बिनले समुद्रमा एककोषिय जीवबाट बहुकोषिय हुँदै किरा, माछा, जनावर हुँदै मानिसको उद्विकास भएको हो भने पनि अहिलेसम्म सप्रमाण अवचेतन भौतिक वस्तुबाट चेतन जीवको जन्म भएको प्रमाण कहीँ छैन । बीउको आधार नभएसम्म कुनै जङ्गलमा पिँडालु उम्रिएको छैन । निश्चित प्रजनन प्रक्रिया नभई समुद्रले आफैँ माछा जन्माएको छैन । 

सिसिटिभी नलगाएको ठाउँमा चोरी बढी हुन्छ र लगाएको ठाउँमा चोरी कम हुन्छ । भौतिक वस्तुले चेतनमा पारेको सबैभन्दा ठूलो प्रभाव यही हो । भौतिक पदार्थमा चेतनाले गरेको सबैभन्दा ठूलो रूपान्तरणको कारक सिसिक्यामरा हो । सिसिटिभीको आविष्कार सन् १९२७ मा रुसी आविष्कारक लियोन थिरेमनले मेनानिकल क्यामराका रूपमा गरेका थिए । रुसले यसको प्रयोग श्रम र रक्षामा गरेको थियो । यसमा व्यापक सुधार १९४२ मा जर्मनीका इन्जिनियर वाल्टर बु्रचले व्यापक सुधार गरी क्यामराले खिचेको फोटोलाई पछि मनिटरमा देख्न मिल्ने गरी उपयोगी बनाएका थिए । यसको प्रयोग सन् १९६० मा अमेरिकामा भएको थियो । यहाँ अन्तरीक्षमा उड्दै गरेको भी–२ यानको फोटो खिच्नका लागि प्रयोग गरियो । व्यावसायिक रूपमा बैङ्कले पहिलो पटक सिसिटिभी प्रयोग गरेको हो । 

सन् १९७० तिर भिसिआर प्रविधि विकास भयो, जसबाट भिडियो खिच्न र रेकर्ड गरी पछि हेर्न सक्ने अवस्था आयो । त्यसै वर्ष बक्सिङ, रेस्लिङ खेलका लागि पनि प्रयोगमा ल्याउन थालियो । 

आज हाम्रा गल्लीमा सिसिटिभीको निगरानी छ । पक्कै पनि यसले चोरी, लैङ्गिक हिंसा, ससाना आपराधिक घटना रोक्न सहयोग पुगेको छ । ठुला डिपार्टमेन्टल स्टोर्समा ग्राहक घुमी घुमी समान रोज्न पाउने अवस्था आएको छ । मानिसले कुनै सामान लुकाएर झोलामा राखेमा प्रस्टै देखिने भएकाले कसैमा पनि चोरी गर्ने, लुकाउने, क्षति पु¥याउने, सार्वजनिक स्थल, कार्यालयमा अनैतिक क्रियाकलाप रोक्न सहयोग पुगेको छ ।

इन्फ्रारेड लाइटको सहयोगबाट अहिले दिन तथा रातको पनि भिडियो खिच्न सक्ने क्यामरा विकास भएको छ । मौसम अनुसार बर्सात्को बेला पनि भिडियो खिच्ने महँगा सिसिटिभी अहिले प्रचलनमा आएका छन् । शक्तिशाली क्यामराले दुईदेखि पाँच किलोमिटरवरपरको पनि भिडियो रेकर्ड गर्न सक्ने भएकाले अहिले धेरै काममा सिसिटिभीको महत्व बढ्दै गएको छ । नेपालमा हजाराँै सिसिटिभी जडान गरिएका छन् । विश्वभरमा करोडौँ क्यामरा जोडिएका छन् । यथार्थमा सिसिटिभी फेसन वा आवश्यकता जे जस्तो भए पनि मानिसको चरित्र रूपान्तरण गर्नमा यो साधनले जति महत्वपूर्ण भूमिका खेलेका छन्, अरू कुनै साधनले खेलेको पाइँदैन । 

एउटा कार्यालयको एउटा कोठा जहाँ सिसिटिभी छैन, त्यहाँबाट किताब, ल्यापटप, चार्जर, चस्मा, माउस आदि हराउँछन् । त्यो कोठाभन्दा बाहिर नोटको गड्डी खसे पनि कसैले टिप्दैनन् किनकि बाहिर दुईवटा सिसिक्यामरा लगाइएका छन् र भित्र छैन । बाहिरको बाटो भएर भित्र जाने साधु किन क्यामरामुक्त भएपछि आफ्नो मन थाम्न सकेनन् । यो संसार न कोही चोर र साधु बन्नुमा परिस्थिति नै प्रमुख कारक छ । यो लेखको आसय सिसिक्यामरा नभएका ठाउँमा सबै चोर हुन्छन् भनेको होइन । पछि हुने बदनामीको डरले धेरै मानिस आफूलाई गलत सोचबाट रूपान्तरण गरी सज्जन भएका छन्, आजको समयमा सिसिटिभीले मानिसको व्यवहार, चरित्र, नैतिकता आदि रूपान्तरण गर्न ठुलो भूमिका खेलेको छ । यसैकारणले व्यवस्थापकले आफ्नो सङ्गठनको नियन्त्रण प्रणालीलाई चुस्त दुरुस्त बनाउनका लागि सिसिटिभीको सहयोग लिनु अति उपयोगी हुन्छ ।  

Author

रामप्रसाद गौतम