• ११ मंसिर २०८१, मङ्गलबार

विद्यार्थीका सपनामा रूपान्तरण

blog

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनपछि प्राविधिक शिक्षाबारे सचेतना प्रदान गर्नका लागि एउटा समूह बनाएर हामी विभिन्न ठाउँ पुग्याैँ । विद्यार्थीको पढ्ने पछिल्लो टे«न्डबारे बुझ्नका लागि केही अध्ययनसमेत गरियो । आजका विद्यार्थी के पढ्न र किन पढ्न चाहन्छन् भन्ने हाम्रो अध्ययनको उद्देश्य थियो । प्राविधिक शिक्षालयमा आबद्ध भएको हिसाबले विद्यार्थीको रोजाइ प्राविधिक विषय नै होस् भन्ने हाम्रो स्वार्थ पनि थियो । पछिल्लो समय शैक्षिक बेरोजगारको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि हुँदै जाँदा पनि सीपमूलक शिक्षामा आकर्षण किन कमजोर हुँदै गएको छ भन्ने कुराको तथ्यपरक नतिजा हामीलाई थाहा पाउनु थियो । सरकारले सबैको पहुँच स्थापित हुने गरी सर्वसुलभ शुल्कमा प्राविधिक विषयको अध्ययन गर्न सक्ने गरी गाउँ गाउँमा शिक्षालय स्थापना गरेको छ । सरकार मात्रै होइन, विभिन्न दातृनिकायले समेत प्राविधिक शिक्षाको विकासका लागि ठूलो परिमाणमा लगानी गरिरहेका छन् । सुगम सहरी क्षेत्रमा मात्रै होइन, दुर्गम ग्रामीण क्षेत्रमा पनि आधा एक घण्टाको अन्तरमा प्राविधिक शिक्षालय धेरै स्थानमा सञ्चालनमा छन् । 

हामीले गरेको सरसर्ती अध्ययनका आधारमा आजका युवामा प्राविधिक शिक्षातर्फको आकर्षण लोभलाग्दो देखिएन । आफ्नै घर गाउँमा केही गर्नेभन्दा पनि कसरी विदेश जान सकिन्छ भन्ने मानसिकता अधिकांश विद्यार्थीमा देखियो । सबैको पहुँचमा हुँदा पनि प्राविधिक शिक्षामा किन आशातीत विद्यार्थी आउन चाहँदैनन् भन्नेबारेमा यसका कारणभित्र अनेक ढङ्गले घोत्लिन सकिन्छ । प्राविधिक शिक्षाभित्रका अनेकानेक विकृति विसङ्गति नभएका पनि होइनन् । तर खास कारण भने सबैले गहिरो ढङ्गले सोच्नुपर्र्ने खालको छ । 

आजका विद्यार्थीको सपना के हो भन्नेबारेमा हामीले अध्ययन गर्दा सबैमा देश छाड्ने साझा सपना रहेको देखियो । प्राविधिक शिक्षा पढेर, सीप सिकेर देशमा केही गर्न सकिन्न । १२ कक्षा पास गरेपछि विदेश गयो अनि मज्जाले आनन्दको जीवन बितायो आजका युवाको साझा सपना यही नै छ । यो समग्र देशका लागि गम्भीर विषय हो । अझ प्राविधिक शिक्षाका लागि स्थापना भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का लागि झनै गम्भीर कुरा हो ।  एसइई दिएको भर्खरको युवामा मेरो देशमा केही गर्न सकिन्छ भन्ने सपना, आँट र सोच छैन । यो देशमा सबैतिर राजनीति मात्रै छ, नेताले देश बिगारे, रोजगारी प्राप्त गर्नका लागि आफन्तै चाहिन्छ । 

आफैँले केही गर्नका लागि वातावरणै छैन भन्नेजस्ता नकारात्मक सूचक कुराले युवाको दिमाग भरिएको छ । उद्यमशिलता, सामाजिक दायित्व, देशप्रतिको कर्तव्य उनीहरूले सुन्नै चाहँदैनन् । उनीहरूलाई देशमै केही गर्ने कुरा सबैभन्दा समस्या र जोखिमपूर्ण कार्य लागेको छ । कुनै पनि हालतमा विदेश जानु पर्छ र त्यो नै सबैखालका समस्याको बलियो समाधान हो भन्ने सोचले युवालाई गाँजिरहेको छ । यसैको परिणाम हरेक दिन हजारौँ युवा गतिलो भविष्यका लागि देश छाडिरहेका छन् । देशमै केही गर्न सकिन्छ भन्ने सोच भएका युवाको सङ्ख्या नगन्य मात्रामा छ । देशका लागि अत्यावश्यक भएको प्राविधिक जनशक्ति उत्पादनका लागि शिक्षालय मात्रै सञ्चालन गरेर नपुग्दो रहेछ । आजका विद्यार्थीको सपना रूपान्तरण गर्नु नै जरुरी छ । कुन विषय या कार्यक्रम अध्ययन गरेर के प्राप्त गर्न सकिन्छ या उद्यमशील बन्न सकिन्छ भन्दा पनि विदेश जानका लागि सजिलो हुन्छ भन्ने कुरामा युवा उद्यत देखिन्छन् । आज उद्यमशीलता सिक्नका लागि होइन, अरूको देशमा जानका लागि भाषा सिक्नमा युवा लामबद्ध भएका छन् । एक व्यक्तिको हिसाबले जीवनलाई आर्थिक पाटोबाट सुरक्षित गर्नका लागि वैदेशिक यात्रा सहज होला तर समग्र देश र समाजका लागि भने यो निकै डरलाग्दो कुरा हो । अनेक बहानामा अझ त्यसमा पनि सबैभन्दा बढी उच्च शिक्षाको अध्ययनको बहानामा विदेश जानेको लहर रोक्नका लागि सरकारले विशेष पहलकदमी लिनु आवश्यक छ । कानुनी बाध्यताभन्दा पनि स्वयम् विद्यार्थी आकर्षित हुनेखालका कार्यक्रम सञ्चालनमा ध्यान दिनुपर्ने हुन्छ । 

हामीले दक्ष जनशक्ति उत्पादन गरेको भनेर आवाज चर्को बनाउँदैमा देशले काँचुली फेर्न सक्दैन । हामीले उत्पादन गरेको जनशक्ति हाम्रो देशमा कति खपत भएको छ, त्यसले हाम्रो आर्थिक समृद्धिलाई उकालोतर्फ धकेलेको छ या छैन भनेर पनि अध्ययन अनुसन्धान गर्नुपर्ने बेला भएको छ । शिक्षामा लगानी गरेर मात्रै प्रतिफल आउँदैन ।

हामीले अध्ययनका क्रममा प्राविधिक विषय किन नपढ्ने भनी गरेको प्रश्नमा धेरै विद्यार्थीले विदेश पढ्न जानका लागि उपयुक्त हुने हिसाबले मात्रै यहाँ पढ्न चाहेको जवाफ दिए । करिब सबैको सोच एकै थियो, मिल्यो भने अमेरिका या अस्ट्रेलिया जाने भएन भने जापान या कोरिया जाने । केहीले अन्य देशको नाम लिएको भए पनि अधिकांशको यही नै जवाफ थियो । गाउँघरबाट विदेश अध्ययनका नाममा गएको मानिसको जीवनशैली र यही केही उद्यम गरिरहेको या कुनै जागिर खाइरहेको मानिसको जीवनशैलीको तुलनाले नै अधिकांश विद्यार्थीलाई विदेश जाने लालसा पलाएको देखिन्छ । भर्खरै सार्वजनिक भएको तथ्याङ्क अनुसार वैदेशिक शिक्षाका नाममा २४ अर्ब देश बाहिर गएको छ । एकातिर हामीकहाँ सञ्चालनमा रहेका कलेजहरू धमाधम बन्द हुने अवस्था सिर्जना भएको छ भने अर्कातिर वैदेशिक शिक्षाका लागि देश छाड्ने विद्यार्थीको सङ्ख्या उल्लेख्य रूपले वृद्धि भइरहेको छ । यसले देशमा बढ्दै आर्थिक सङ्कटको अवस्थालाई थप मलजल हुने देखिन्छ । महिना दिनअगाडि अस्टे«लियाले पढ्न जाने विद्यार्थीको भिसा अनुमतिमा कडाइ गर्दा धेरै विद्यार्थीले नेपालमै सम्भावना खोजिरहेका थिए । तर त्यसमा लचिलोपन आउने देखिएको छ । आजको खुला विश्वमा विद्यार्थीले शिक्षाका लागि देशको सीमापार गर्नु उत्साहजनक कुरा नै हो । देशभित्रै शिक्षाको आयातनमा आजका विद्यार्थी अटाउनु पर्छ भन्नेखालको साँघुरो सोच राख्नु न्यायोचित होइन । तर शैक्षिक दृष्टिले देशको सिमाना साँघुरो हुनेहरू पढ्नकै लागि विदेश जान लागेका हुन् या त्यसका पछि अन्य कुनै कारण लुकेको छ भन्नेबारे सोच्नुपर्ने देखिन्छ । किनकि विदेश अध्ययनका लागि जाने अधिकांश विद्यार्थी न त उच्च शिक्षा लिएर त्यहाँ कुनै विशिष्ट क्षेत्रमा काम गरिरहेका छन् न त त्यहाँको ज्ञानलाई नेपालमै ल्याएर सदुपयोग गरिरहेका छन् । सामान्य कामदार जसरी नै उनीहरू काम गरिरहेको देखिन्छ । यसो हेर्दा विद्यार्थी ज्ञानको भोक मेट्नभन्दा पनि सुखसयलका लागि विदेश गएको पाइएको छ । 

नेपालमा शिक्षाका नाममा ऊर्जावान जनशक्ति पलायन हुँदै जाने हो भने हामीले स्थापना गरेका शिक्षालयबारे पनि सोच्नुपर्ने हुन्छ । के उच्च शिक्षाका लागि नेपाली जनशक्ति पलायन हुनुका पछि गुणस्तरीय शिक्षाको व्यवस्थापन नभएरै हो त ? उच्च शिक्षाका लागि विदेश जाने क्रमको यसरी विकास भइरहेको छ कि स्नातक र स्नातकोत्तर तहमा विद्यार्थीको सङ्ख्या उकालो लाग्नुपर्नेमा ओरालो लाग्दै गएको छ । एक समय विद्यार्थीको कडा प्रतिस्पर्धा हुने इन्जिनियरिङ, वन, कृषिलगायतका प्राविधिक विषयका स्नातक तहका कार्यक्रममा तोकिएको कोटा अनुसार विद्यार्थी पाउने अवस्था छैन । देशमै पढेर केही गर्न सकिन्छ भन्ने सोचको खडेरीका कारण उच्च शिक्षाका धेरै तहका कार्यक्रम बन्दप्रायः अवस्थामा छन् । 

त्रिभुवन विश्वविद्यालयमा न्यून विद्यार्थी सङ्ख्या भर्ना हुने गरेको विवरण सार्वजनिक हुनु उच्च शिक्षामा विदेश जानेको जमात बाक्लो छ भन्ने प्रमाण हो । शिक्षाको क्षेत्रमा फैलिएको यो रोगले सबै क्षेत्रलाई प्रभाव पारिरहेको छ । यसको निराकरण शिक्षा क्षेत्रबाटै सम्भव हुन्छ । हिजोका दिनमा जस्तो आजको विद्यार्थीले स्नातक या स्नातकोत्तर तहसम्म अध्ययन गर्ने अवस्था छैन । उसलाई प्राविधिक विषयको अध्यापन गराउँदै पढ्दै कमाउँदै उद्यमशीलताको विकास गरेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउनुपर्ने आवश्यकता छ । 

केही समययताको विद्यार्थीको विदेश गएको तथ्याङ्कलाई आँकलन गर्ने हो भने आगामी वर्ष वार्षिक एक लाख विद्यार्थी पुग्ने आँकलन गर्न सकिन्छ । देशका शिक्षालयलाई विदेश जानका लागि केही क्षण बिसाउने ट्रान्जिट सेन्टर बनाउने या उनीहरूलाई देशमै असीमित सम्भावना छन् भन्ने अनुभूति गराउने भन्ने विषयमा स्पष्ट कार्ययोजना निर्माण गरेर कार्यान्वयन नगर्दासम्म शिक्षालय सञ्चालन गरेर मात्रै प्रतिफल आउन सक्दैन ।   

Author

वसन्त आचार्य