चितवन समाचारदाता
चितवन, कातिक ११ गते । पर्यटन नभएर सुनसान भएको चितवनको सौराहामा अहिले सबै होटल भरिभराउ भएका छन् ।
साना ठुला गरी १५० भन्दा धेरै होटल रहेको यहाँ अहिले सबै भरिएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारी दिनुभयो ।
“दसैँअगाडिसम्म हामी पलायन हुने अवस्थामा पुगेका थियौँ अहिले राहत मिलेको छ”, उहाँले भन्नुभयो “डिसेम्बरसम्मलाई सौराहामा ५० हजार पर्यटक आउने गरी सबै होटल बुक भइसकेका छन् । यो सङ्ख्या हाम्रा लागि ज्यादै सुखद हो ।”
असोजको १५ गतेदेखि नै पर्यटकको चहलपहल सुरु भएको हो, उहाँले भन्नुभयो । पर्यटन दिवस मनाउँदासम्म सुनसान रहेको होटल अहिले भरिएका छन् । साना ठुला सबै होटलमा कोठा पाउन मुस्किल झैँ भएको छ । मौसम राम्रो, बिदाको समय भएको र विदेशीका लागि अहिलेको मौसम ज्यादै राम्रो भएर पनि नेपाल आउनेको सङ्ख्या बढेको हो । सौराहा आउनेमा अहिले आन्तरिक पर्यटकको सङ्ख्या धेरै छ । दसैँ बिदा, तिहारसम्म विद्यालय कलेज बिदा भएका कारण कलेजबाट घुम्नका लागि रिजर्भ गरेर सौराहा आउने पनि भएकाले होटलहरू बुक भएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । अहिलेको जस्तै बुक हुँदै गएमा चैत महिनासम्म सौराहामा एक लाख पर्यटक आउन सक्ने अनुमान गरेका छौँ । अध्यक्ष गिरीले भन्नुभयो, “डिसेम्बरपछिका लागि पनि होटल बुक भइराखेको छ ।”
नेचर हेरिटेज होटल सञ्चालक दामोदर रेग्मीले भन्नुभयो, जाडो र गर्मी दुवै धेरै नभएकाले नेपाल घुम्न भारतीय पर्यटक अहिले धेरै आएका छन् । आफ्नो होटलमा दुई हप्तासम्मका लागि भारतीय पर्यटकले बुक गरेको उहाँले बताउनुभयो । होटलका सबै कोठा बुक भएका छन्, कहिलेकाहीँ आफन्त चिनजानका साथी आउँदा कोठा मिलाउनसमेत समस्या पर्ने गरेको रेग्मीले बताउनुभयो ।
दसैँअगाडिदेखि पर्यटकको भिड लागेको छ, उहाँले भन्नुभयो । अहिले नेपालीको चहलपहल छ अब विदेशीसँगै नेपालीको पनि सङ्ख्या बढ्दै छ । पछिसम्मका लागि होटल बुक भएको उहाँले जानकारी दिनुभयो । सौराहाका सबै होटलमा एकै पटक छ हजार पर्यटक क्षमता रहेको क्षेत्रीय होटल सङ्घले जानकारी दिएको छ । होटल बुक धेरै हुन थालेपछि केही होटलले थन्किएका बेड मर्मत गरी बस्न योग्य बनाउन थालेका छन् । मकवानपुरको दामनबाट परिवारसहित घुम्न आउनुभएका सन्तराम बिडारीले भन्नुभयो, “कोठा पाइन्छ भनेर होटल बुक नगरी आएको यहाँ आएपछि थाहा पाएँ कोठा पाउन मुस्किल भयो । बिदाको समयमा निकुञ्ज र सौराहा घुम्न भनेर आउँदा होटलको कोठाबारे जानकारी लिनुपर्ने रहेछ,” उहाँले भन्नुभयो ।
निकुञ्जले असोज १६ बाट जिप सफारी खोलेपछि आन्तरिक बाह्य पर्यटक सौराहा आउनेको सङ्ख्या वृद्धि भएको होटल व्यवसायीले जानकारी दिएका छन् । सौराहासँगै पश्चिमी क्षेत्रमा पनि पर्यटकको सङ्ख्या बढेको देखिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणशेप्रसाद तिवारीले जानकारी दिनुभयो । एक हप्तापछि निकुञ्ज प्रवेश गर्नेको सङ्ख्याबारे विवरण सार्वजनिक गर्दा अवस्था जानकारी हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हेर्दा धेरै पर्यटक आएको देखिन्छ ।”