• ११ मंसिर २०८१, मङ्गलबार

विद्यालयको खेल मैदानमा रंगशाला निर्माण गरिने : मन्त्री आचार्य

blog

टि ट्वान्टी क्रिकेट प्रतियोगीताको उद्घाटन गर्दै मन्त्री आचार्य । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, कात्तिक ९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित बुद्ध पद्म माविको खेल मैदानमा चाँडै रंगशाला निर्माण गर्ने बताउनुभएको छ । 

बिइंग फ्रेन्ड क्लवद्वारा बुद्ध पद्म माबिको खेल मैदानमा आयोजित तौलिहवा टी ट्वान्टी क्रिकेट प्रतियोगीताको उद्घाटन गर्दे उहाँले सो कुरा बताउनुभएको हो ।

यो खेल मैदानमा रंगशाला निर्माण गर्ने निर्वाचन अघि आफ्नो चुनावी ऐजेन्डा रहेको आफुलाई स्मरण रहेको भन्दै उहाँले बुद्ध पद्म खेल मैदानमा रंगशाला निर्माण गर्न अफु प्रतिबद्ध रहेको बताउनुभयो । 

खेल मैदानको दुरावस्थाप्रति चिन्ता ब्यक्त गर्दै उहाँले यसलाई आफ्नो बाँकी ४ बर्षे कार्यकालमा सम्पन्न गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बुद्ध पद्मको खेल मैदानमा रंगशाला बनाउँछु, यो मेरो प्रतिबद्धता पनि हो ।’

सो अवसरमा लुम्बिनी प्रदेशका प्रदेश सदस्य सुधाकर पाण्डेयले बुद्ध पद्म माबिको खेल मैदानमा रंगशाला निर्माण गर्न आफुले पनि पहल गर्ने बताउनुभयो । संघीय, प्रदेश र पालिकाहरुले समेत यो मैदानमा रंगशाला निर्माण गर्न सबैले साथ दिनुपर्ने उहाँको भनाइ छ । 

यसअघि कपिलवस्तु नगरपालिकाका निबर्तमान नगर प्रमुख किरण सिंहले आफ्नो कार्यकालमा रंगशाला निर्माणका लागि बजेट छ्ुट्टाएर पहल गर्दा बिद्यालय ब्यवस्थापन समिति र नगरपालिकाबीच निर्माणको बिषयमा कुरा नमिल्दा निर्माण कार्य रोकिएर बजेट समेत फ्रिज भएको बताउनुभयो ।  

तौलिहवा टि ट्वान्टी क्रिकेट प्रतियोगीतामा १२ टोलीले सहभागीता जनाएको क्लवका अध्यक्ष मोहम्मद मुस्तफाले बताउनुभयो । प्रथम हुनेलाई ३० हजार र कप तथा द्वितीय हुनेलाई १५ हजार प्रदान गरिनेछ । खेल १५ गतेसम्म चल्नेछ । 

उद्घाटन कार्यक्रममा जिल्ला क्रिकेट संघका अध्यक्ष तथा कपिलवस्तु नगरपालिका ३ का वडाध्यक्ष प्रकाश गैरे, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, पूर्व वडाध्यक्ष रामभजन कलवार, युवा नेता प्रकाश घिमिरेलगायतको सहभागिता थियो ।