अविनाश चौधरी
धनगढी, कात्तिक ९ गते । कञ्चनपुरको भीमदत्तनगरस्थित महेनद्रनगर बजारमा बस्दैआएका भोका बाँदरको भोक जनावरप्रेमी युवाको समूह आइ केयर युले मेटाउँदै आएको छ ।
जङ्गल जान बिर्सेर सहरमा खानाको खोजीमा भौंतारिने बाँदरलाई सो समूहले विगत चार पाँच वर्षदेखि खाना खुवाउँदै आएको हो । आफ्नो प्राकृतिक बासस्थानमा नगइ सहरमा भौतारिने बाँदरलाई हप्ताको दुई तीन दिन केरालगायत अन्य फलफूल खुवाउने गरेको समूहमा आबद्ध विष्णुप्रसाद पनेरुले जानकारी दिनुभयो ।
बाँदरलाई फलफूलका लागि कहिलेकाँही केही मनकारीले सहयोग गर्ने गरेको र धेरैजसो समय आफ्नै खर्चबाट फलफूल खुवाउने गरेको उहाँले बताउनुभयो । “दशक अघिदेखि बजारमा बस्दै आएका बाँदर अब सायद जङ्गल फर्कदैनन्”, पनेरुले भन्नुभयो,“वनमा बस्ने बाँदर त्यहाँ जान नचाहेपछि समस्या भइरहेको छ ।” महेन्द्रनगर बजारमा करिब २० वटा बाँदर बस्दै आएका जनाइएको छ ।
आई केयर यु मा वन्यजन्तु तथा घरपालुवा जनावरप्रेमी एवम् संरक्षणमा क्रियाशील सात÷आठ जना आबद्ध छन् । उनीहरुको समूह आई केयर यु ले रोगी, बिरामी, घाइते छाडा चौपायदेखि लिएर कुकुरसमेतको उपचार गर्दै आएको छ ।