• ११ मंसिर २०८१, मङ्गलबार

‘ल्याप्चे होइन अब हस्ताक्षर गर्छु’

blog

निरक्षरबाट साक्षर बनेकी परमदेवी सादालगायत स्थानीय महिला । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, कात्तिक ९ गते । धनुषाको शहीद नगर नगरपालिका –५, पचहर्वास्थित मुसहर टोलकी ५० वर्षीया महिला उर्मिला सादा ल्याप्चे लगाउन छाडेर अचेल हस्ताक्षर गर्नुहुन्छ । तीन वर्षअघिसम्म निरक्षर रहनुभएकी उहाँ प्रौढ शिक्षा हासिल गरेपछि फरर लेखपढ पनि गर्नुहुन्छ । 

प्रौढ शिक्षा आर्जनपछि अङ्क र अक्षर राम्ररी लेखपढ गर्न सिकेको उर्मिलाले बताउनुभयो । गाउँको मिथिला हरुवाचरुवा समूहका अध्यक्षसमेत रहनुभएकी उहाँले भन्नुभयो, “पहिला–पहिला कपाली तमसुक बनाउँदा होस् अथवा समूहको बैठकको उपस्थिति पुस्तिकामा औंठाछाप लगाउँथे । अचेल हस्ताक्षर गर्छु । शिक्षा आर्जनले पहिलेभन्दा धेरै फाइदा पुगेको महसुस भएको छ ।” 

सोही बस्तीकी परमदेवी सादा पनि पहिलाजस्तो औंठाछाप लगाउनुहुन्न । हस्ताक्षर गर्नुहुन्छ । उहाँले भन्नुभयो, “लेखपढ गर्न सिकेपछि ठगिनबाट जोगिएका छौं । कहिँकतै जाँदा अरुलाई सोध्नुपर्दथ्यो । निकै समस्या हुन्थ्यो । अहिले नेपाली अक्षरमा लेखेका कुरा पढ्न सक्ने भएकी छु ।” 

पचहर्वमा मुसहर बस्तीको ८८ घर परिवारको बसोवास छ । वस्तीका सबैजसो दैनिक ज्याला मजदुरीमा आश्रित छन् । “घरबाहेक हामीहरुको अरु कुनै सम्पती छैन । अकस्मात् पैसाको आवश्कता पर्दा साहु महाजनसँग कपाली तमसुक बनाएर ऋण लिनुपर्छ । लेखपढ गर्न नजान्ने गाउँकै थुप्रै जना ठगिएका पनि छन् । तर, अब ठगिँदैनौं” परमदेवीले भन्नुभयो । 

‘फ्रिडम फण्ड युके’ को सहयोगमा सञ्चालित सामुदायिक सुधार केन्द्र धनुषाले तीन वर्षअघि मुसहर बस्तीका ४० जना महिलालाई साक्षर बनाएको उहाँले बताउनुभयो । 

सामुदायिक सुधार केन्द्र धनुषाका अध्यक्ष सञ्जय साहले शहीदनगर, धनौजी र गणेशमान चारनाथ नगरपालिकामा गरी २०–२० जनाको नौवटा महिला समूहलाई प्रौढ शिक्षा प्रदान गरिएको बताउनुभयो । महिला शिक्षित भए पूरा परिवार शिक्षित हुने भएकाले महिलालाई पहिलो प्राथमिकतामा राखेर साक्षर कार्यक्रम चलाइएको उहाँले जानकारी दिनुभयो । 

रघुनाथपुरका स्थानीय शैलेन्द्र यादवले यहाँ टोलटोलमै विद्यालय खुलेको भए पनि मधेशको साक्षारता प्रतिशत कम रहेको बताउनुभयो । साक्षरता प्रतिशत कम हुनुका कारणमध्ये एक मधेशका सीमान्तकृत समुदायमा निरक्षरको सङ्ख्यामा बढी देखिनु हो । त्यसमा पनि महिलाको सङ्ख्या निकै बढी रहेकाले स्थानीय तहले पनि साक्षर कार्यक्रम चलाउनुपर्ने उहाँले माग गर्नुभयो ।  

धनुषा जिल्लामा १८ वटा स्थानीय तह छन् । तर कुनै पनि स्थानीय तह साक्षर अभियान तथा कार्यक्रम सञ्चालन गर्न गम्भीर देखिएका छैनन् । जिल्ला तथा स्थानीय तहमा निरक्षरको सङ्ख्या कति छ भन्ने तथ्याङ्क पनि निकायसँग छैन । 

जिल्लामा मिथिला नगरपालिकाले मात्र निरक्षर तथा विद्यालयबाहिर रहेका बालबालिकाको विवरण सङ्कलन गरेको छ । त्यसबाहेक कुनै पनि स्थानीय तहले विवरण सङ्कलन गरेको पाइँदैन । तथ्याङ्कअनुसार मिथिला नगरपालिकामा आठ हजार ८७२ जना निरक्षर छन् । मिथिला नगरपालिकाको शिक्षा शाखाले निरक्षरहरूको पहिचान गर्न गरेको सर्वेक्षणबाट उक्त तथ्याङ्क देखिएको हो ।