• ४ असार २०८२, बुधबार

कटहरिया नगरपालिकाको बजेट ५४ करोड २५ लाख प्रस्तुत

blog

कटहरिया नगरपालिकाको एघारौँ नगरसभाको खुल्ला सत्रलाई नगर प्रमुख अजयप्रकाश जयसवाल उद्घाटन गर्नुहुँदै । तस्बिर : सञ्जय कुमार मिश्र

सञ्जय कुमार मिश्र 
गौर, असार ४ गते ।
रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले आर्थिक वर्ष २०८२/०८३ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

कटहरिया नगरपालिकाको ११ औँ नगरसभाको खुला सत्रमा निति तथा क्रार्यक्रमसँगै चालु खर्चतर्फ ३९ करोड ४६ लाख तथा पुँजीगत खर्च तर्फ १४ करोड ७९ लाख गरी कुल ५४ करोड २५ लाखको बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरप्रमुख जयसवालले निति तथा कार्यक्रमअन्तर्गत आर्थिक विकास, कृषि तथा  औद्योगिक उत्पादन, रोजगारी सृजना, उत्पादशील क्षेत्र विकास निर्माण कायलार्ई सामाजिक जनजिवनमा थप क्षति हुन नदिई सुचारु गरी तीव्रता दिइने जानकारी दिनुभयो । साथै स्वास्थ्य, शिक्षा लैङ्गिक समानता एवम् अन्य सामाजिक तथा सांस्कृतिक क्षेत्रमा कार्यक्रम सञ्चालन र गुणस्तरिय सेवा प्रवाह गरी स्वस्थ, शिक्षित, न्यायपूर्ण र गतिशिल सामाजिक जीवनको स्थापना गरिने प्रस्तुित गर्नुभयो ।

कार्यक्रम तथा आयोजनहरूको पुनः प्राथमिकीकरण गर्ने, फजुल खर्च रोक्ने वित्तीय अनुशासन कायम गर्ने उत्पादनशील तथा रोजगारमूलक क्षेत्रमा लगानी केन्द्रित गरिने छ ।

त्यस्तै, रोजगारी गुमाएका श्रमिक र साना किसान, गरिब, विपन्न वर्गका परिवारलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, सीप विकास र रोजगारीको अवसर प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख जयसवालले बताउनुभयो ।

नगर अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख अजयप्रकाश जायसवालले निति कार्यक्रम तथा बजेटअन्तर्गत वर्षभरी गरिने विकास कार्य योजनाको साथै विभिन्न जनमुखी योजनाहरु जनताको आधारभूत आवश्यकता, बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलगायत विभिन्न कार्यहरूलाई प्राथमिकताको सूचीमा राखिएको बताउनुभयो ।

नगरप्रमुख जयसवालले सामाजिक न्यायसँगै नगरलाई सुखि र समृद्ध बनाउने उद्देश्यले विभिन्न जनमुखी कार्यहरु तथा योजनाहरू यस पटकको निति तथा कार्यक्रममा राखिएको हँदा यहाँको आम नागरिकहरू स्थानीय सरकारको योजनाहरूबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

एघारौं नगरसभाबाट कटहरिया नगरपालिकाले नेपाल सरकारको सङ्घीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान चालु, पूँजिगत, राजस्व बाँडफाँड, सङ्घीय सरकार समपुरक, वित्तीय समानीकरण (प्रदेश सरकार), विशेष अनुदान (प्रदेश सरकार), आन्तरिक राजस्व प्राप्तिको आधारमा उक्त बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहेडाले बताउनुभयो ।

नगर प्रमुख जयसवालको अध्यक्षतामा सम्पन्न खुला सत्रमा जिल्ला समन्वय समितिको अध्यक्ष रामअयोध्या राय यादव, कटहरिया नपाका उपप्रमुख रिता देवी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी, सञ्चारकर्मी लगायत नगरवासीहरूको सहभागिता रहेको लेखाप्रमुख कामेश्वर सहनीले बताउनुभयो ।