साहारा लिम्बू
फुङ्लिङ, असार ४ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले वडा नं. ४ लिङ्तेपका कृषकहरूलाई उन्नत जातको गाईको बाछी वितरण गरेको छ । गाउँपालिकाले उन्नत जातमा पर्ने होलिस्नि क्रस र जर्सी क्रस गाईको बाछी वितरण गरेको हो ।
दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिका चार लिङ्तेपका कृषकहरूलाई मङ्गलबार गाईका बाछी वितरण गरेको गाउँपालिका अध्यक्ष युकहाङ वीर हाङ्गाम (डम्बर) ले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को गौरवको योजना अन्तर्गत गाईका बाछी वितरण गरिएको हो ।
गाईका बाछी गाउँपालिका अध्यक्ष हाङगाम र चार नम्बर वडाध्यक्ष वेदप्रसाद हाङ्गामको उपस्थितिमा छनोट गरिएका कृषकहरूलाई ८ वटा गाईका बाछी वितरण गरिएको छ । यसअघि ८ वटा सोही जातको गाईका बाछीहरू वितरण गरिएको थियो ।
साथै बाँकी रहेका ९ वटा गाईका बाछी छनाेट गरिएका कृषकहरूलाई आगामी शुक्रबार वितरण गरिने चार नम्बर वडाअध्यक्ष वेदप्रसाद हाङ्गामले जानकारी दिनुभयाे ।