रजनी योगी
सुर्खेत, असार ४ गते । रारामा पर्यटक भित्र्याउन सङ्घीय सरकार लागिपरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर रारामा पर्यटक भित्र्याउने योजना राखिएको हो ।
पर्यटन विकाससँगै पदमार्गको योजना ल्याइएको छ । पूर्वाधार निर्माणसँगै प्रचार–प्रसारको योजना बनाइएको छ । सरकारले कर्णालीका पर्यटकीय स्थललाई आफ्नो बजेटमा समावेश गरेको छ । आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम र बजेटमा समेटेर पर्यटन प्रवर्धनको योजना ल्याएको हो ।
सरकारले आगामी वर्षमा कार्यान्वयन गर्नेगरी दर्जन बढी योजना ल्याएको छ । जसमा कर्णालीको प्रमुख पर्यटकीय स्थल रारालाई पर्यटन पदमार्गदेखि पदयात्रासम्मको योजनामा राखिएको छ ।
सरकारले रारामा पर्यटन पदमार्ग विकास गर्नुका साथै बर्दिया–रारा पदयात्रा सुरुवात गर्ने जनाएको छ । पर्यटकीय सम्भावनाको प्रचुर सम्भावना रहेको रारामा अपेक्षित रूपमा पर्यटक भित्र्याउन सकिएको छैन । तीन तहका सरकारको प्राथमिकतामा पर्दै आइरहेको छ । अहिले भने सङ्घीय सरकार राराको प्रचारमा लागेको छ । आफ्नो बजेट भाषणमा प्राथमिकताका साथ यो योजना राखिएको हो ।
भौगोलिक रूपमा विकट स्थानमा रहेकाले पदमार्ग निर्माण नै पूर्वाधारको पहिलो खुड्किलो मानिन्छ । केही सामान्य पूर्वाधारको काम भने भएका छन् । ती पूर्वाधार पर्याप्त नहुँदा त्यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्दै आएका छन् । पर्यटक त्यहाँ पुग्दा स्थानीयले पर्याप्त आर्थिक लाभ लिन सकेको छैन ।
अहिले सङ्घीय सरकारले नै पदमार्गदेखि पदयात्राको योजना बनाएको छ । यसले राराको पर्यटन विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । यस्तै, कर्णाली प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षमा पर्यटन प्रवर्धनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
आगामी आर्थिक वर्षमा कार्यान्वयन गर्नेगरी पर्यटन योजना समावेश गरेको हो । प्रदेश सरकारकै लगाानीमा रारामा केही पूर्वाधारको काम थालिएको छ । यसअघि निर्माण गरिएका पूर्वाधार निर्माणको काम समेत कछुवा गतिमा भइरहेका छन् । रारासम्म पुग्न गतिलो पूर्वाधार निर्माण हुन सकेको छैन ।
नेपालकै सुन्दर ताल राराको वरिपरि निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम सुस्त गतिमा छ । निर्माण कम्पनीको लापरबाहीका कारण काम तीव्र गतिमा हुन नसकेको डिभिजन वन कार्यालय मुगुले जनाएको छ । रारामा पर्यटकीय पूर्वाधार पदमार्ग निर्माणका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७८–७९ मा निर्माण सुरु गरेको हो ।
आयोजनाको कार्यान्वयन डिभिजन वन कार्यालय मुगुले गरिरहेको छ । पूर्वाधार निर्माणको काम निकै सुस्त रहेको कार्यालयका प्रमुख जीतेन्द्र महतले बताउनुभयो । उहाँका अनुसार ४५ करोड २९ लाखमा खानी थोदुङ क्याराभान कन्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएको छ ।
सम्झौताअनुसार आर्थिक वर्ष २०८१–८२ मा निर्माण सम्पन्न गर्नुपर्नेछ । रारा ताल वरिपरि बनाउने भनिएको १५ किलोमिटर पदमार्ग सोलिङ, पिसिसि, नालीलगायत निर्माणको काम भइरहेको छ ।
रारा नेपालको पदमार्गसहितको गन्तव्य हो । साहसिक यात्राको गन्तव्य पनि हो । रारा ताल बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी देखिन्छ । तालको वरिपरि मनोरम सल्लाघारी छ । साँझ तालको वरिवरि पैदल यात्रा गर्न सकिन्छ । प्रकृतिसँग विचरण गर्न मिल्छ ।
चराचुरुङ्गीको चिरबिरले मन प्रफुल्लित बनाउँछ । तालमा बोटिङ गर्न मिल्छ । तालको छेउमा टेन्टमा रात बिताएर आनन्द लिन सकिन्छ । राराबाट फर्किंदा मनोरम दृश्यबाहेक कर्णालीका स्थानीय उत्पादन, घरेलु उत्पादन टोपी, कपडा, स्याउका परिकार कोसेलीको रूपमा ल्याउन सकिन्छ । कर्णालीको मौलिक उत्पादनहरू नेपालभर प्रसिद्ध छन् तर त्यहाँका नागरिकले त्यसको प्रतिफल लिन सकेका छैनन् ।