• ४ असार २०८२, बुधबार

धौलागिरि र बुर्तिवाङ अस्पतालमा ‘इमरजेन्सी ट्रमा एकाइ’ सञ्चालन हुने

blog

सदरमुकाम बागलुङ बजारमा रहेको धौलागिरि प्रादेशिक अस्पताल । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, असार ४ गते । जिल्लाका धौलागिरि प्रादेशिक अस्पताल र बुर्तिवाङ अस्प्तालमा ‘इमरजेन्सी ट्रमा केयर एकाइ’ सञ्चालन हुने भएको छ । एकाइ सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले ७६ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

उक्त बजेटबाट मध्यबिन्दु, तनहुँ र स्याङ्जा अस्पतालमा इमरजेन्सी ट्रमा केयर एकाइ सञ्चालन एवम् सुदृढीकरण गरिनेछ । सानो बजेट भए पनि अस्पतालमा जनशक्ति व्यवस्थापनमा सहयोग पुग्ने धौलागिरि प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले विश्वास व्यक्त गर्नुभयो । 

एघार वर्षअघि संविधानसभाका सभासद हरि खड्काको सडक दुर्घटनामा निधन भएपछि धौलागिरि अस्पतालमा ‘हरि खड्का ट्रमा सेन्टर’ सञ्चालन गर्नुपर्ने आवाज उठेको थियो । त्यसपछि सङ्घ र प्रदेश सरकारको सहयोगमा ट्रमा एकाइ सञ्चालनमा आइसकेको छ । बजेटले एकाइ सञ्चालनमा सहज हुने डा.  तिवारीले बताउनुभयो । 

मुस्ताङ र मनाङमा उच्च भेगीय स्वास्थ्य सेवा कार्यक्रमलाई थप प्रभावकारी बनाउन ८३ लाख बजेट विनियोजन गरिएको छ । मुस्ताङ र मनाङको भ्रमणमा आउने पर्यटकको सुरक्षाका लागि नाकामा हेल्थ डेक्स स्थापना गर्नेबारे गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले चासो देखाउँदै आउनुभएको थियो । 

पर्यटकलाई बिना स्वास्थ्य परीक्षण सिधै उपल्लो क्षेत्रमा पुग्दा लेक लाग्ने समस्यालाई समाधान गर्न अनिवार्य स्वास्थ्य परीक्षण गरेपछि मात्रै मुस्ताङ भ्रमणको वातावरण बनाउने मन्त्री पाठकको योजना छ । बजेटले लेक लागेर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न उपकरण र दक्ष जनशक्तिसहित हाइ अल्टिच्युड उपचार केन्द्र सञ्चालनमा सहज हुने मन्त्री पाठकले विश्वास गर्नुभयो । 

त्यस्तै बजेटमा कालीगण्डकी जलाधार क्षेत्रलाई कृषि उत्पादन र पर्यापर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ । कालीगण्डकी दोहनविरुद्व आवाज उठिरहेको बेला यो कार्यक्रम आएको हो । नदीको जलाधार क्षेत्र संरक्षण नगरेमा त्यसको अस्तित्व समाप्त हुने भएकोले संरक्षणका प्रयास पनि हुने विश्वास लिइएको छ । अवैध रुपमा भइरहेको कालीगण्डकी दोहनले नदी सभ्यतासमेत लोप हुन लागेको बेला कृषि उत्पादन र पर्यापर्यटन कार्यक्रमले केही राहत मिल्नेछ । 

यस्तै, म्याग्दीको दरबाङ–ढोरपाटन सडक स्तरीय बनाएर पर्यटकीय बागलुङ र म्याग्दीको सङ्गमस्थल सोलेडाँडासम्म पर्यटक लैजान सकिने गरी बजेट विनियोजन गरिएको छ । साथै रणनीतिक सडकहरु छिट्टै सम्पन्न गर्ने बजेटमा उल्लेख छ । हाल जिल्लामा केही रणनीतिक सडकहरु बजेट अभावमा पुरा भएका छैनन् । कतिपय स्थानमा भने ठेकेदारको लापरबाहीले काम रोकिएका छन् ।