नवीनराज कुइँकेल
लमजुङ, असार ४ गते । बुधबार बिहान पहिरो खसेर अवरुद्ध बनेको डुम्रे, बेँसीसहर–चामे सडकखण्डको मनाङ सडक खण्ड सुचारू भएको छ।
डुम्रे, बेंसीसहर-चामे सडक आयोजनासँग समन्वय गरेर अवरुद्ध सडक सुचारू गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिनुभयो ।
मर्स्याङ्दी गाउँपालिका-४ च्याम्चेमा बुधबार बिहान ठुलाठुला चट्टानसहित पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । च्याम्चेको बुङ झरना नजिकै झरेको पहिरो स्काभेटर प्रयोग गरी खुलाइएको प्रहरीले जनाएको छ । स्थानीय चन्द्र गुरूङका अनुसार पहिरोले अवरुद्ध बनेको च्याम्चे नास्कु पुरानो जगत बाटो पनि सुचारू भएको छ ।
यस सडकमा वर्षेनी पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । विशेषगरी मनाङ र मर्स्याङ्दी गाउँपालिकाका स्थानीय बेँसीसहर हुँदै विभिन्न स्थानमा जानका लागि एकमात्र सडक रहेकाले यो सडक बन्द हुँदा समस्यामा पर्ने गर्दछन्।
वर्षायाममा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।