• ७ जेठ २०८१, सोमबार

तलेजुमा जीवित देवी एकान्त कुमारीको हातबाट टीका ग्रहण

blog

भक्तपुर, कात्तिक ७ गते । भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा विजयादशमीको दिन जीवित देवी एकान्त कुमारीको हातबाट टीका थाप्न सर्वसाधारणको भीड लागेको छ ।

कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाउनुभएको मूल नाइके जोशीले जानकारी दिनुभयो ।

कुमारीको हातबाट टीका लगाएपछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको जोशीले बताउनुभयो । कुमारीले साइतको टीका लगाएपछि कुमारीको हातबाट टीका लगाउन विभिन्न विशिष्ट व्यक्तिहरु र सर्वसाधारणसमेत तलेजु पुग्नुभएको छ ।

यसअघि एकान्त कुमारीसहित ११ कुमारीको पूजा गरी भक्तपुर तलेजुमा तलेजु तथा कुमारी जात्रा सम्पन्न गरिएको थियो । तलेजुको प्रतिमूर्तिको रूपमा पुजिने एकान्त कुमारी लुनिभा बज्राचार्यलाई तलेजुको आगमघरमा ल्याएर विधिवत रूपमा जात्रा मनाइएको जोशीले बताउनुभयो । टिबुक्छेँमा रहेको ११ जनाको गणकुमारीको चतुर्ब्रह्म महाविहारमा पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो ।

तलेजुमा ऋग्वेद, यजुर्वेद, अथर्ववेद र सामवेद, चण्डीलगायतको पाठ गरी कुमारीको पुजारी प्रवेशराज राजोपाध्याय र प्राडा सिद्धिबीर कर्माचार्यले पूजा गरी जात्रा मनाइएको थियो । 

नवदुर्गाका रुपमा नौ कुमारी र भैरव तथा गणेश गरी ११ गणकुमारीको पूजा सकिएपछि तलेजुका पाँच सय २८ रकमीको सहभागितामा एकान्त कुमारीको पूजा गरिएको थियो । क्वाठण्डौस्थित कुमारी घरबाट कुमारीलाई शुभसाइतमा तलेजु मन्दिरस्थित दसैं घरमा ल्याएर विराजमान गराई मूल चोकमा राखेर पूजा गरिएको उहाँले जानकारी दिनुभयो । 

तलेजुमा दसैंमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बलि दिई जात्रा तलेजु जात्रा मनाइएको छ । तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बलि दिइने परम्परा छ । 

घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा पूजाअर्चना गर्ने परम्परा छ भने भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा छ । रासस