• १९ असार २०८१, बुधबार

लघुकथा सङ्ग्रह ‘अक्षर’ को विमोचन

blog

सिराज खान

नेपालगन्ज, कात्तिक ६ गते । साहित्यकार सनत सापकोटाको लघुकथा सङरूग्रह ‘अक्षर’ को विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

बाँसगढी नगरपालिकाका शताब्दी पुरुष नन्दलाल पौडेलले अक्षर लघुकथाको विमोचन गर्दै साहित्यप्रति जनमानसमा बढ्दै गएको रुचि सराहनीय रहेको बताउनुभयो । 

कृतिकार सनत सापकोटाले सय वर्ष कट्नुभएका आदरणीय व्यक्तित्व पौडेलबाट कृति विमोचन गराउन पाउँदा निकै खुसी लागेको बताउनुभयो ।

धरा भाषा साहित्य कला प्रतिष्ठान बाँसगढी बर्दियाका अध्यक्ष श्वरीप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशिराम कार्की, खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारी, बाँसगढी उद्योग व्यापार सङ्घका अध्यक्ष बद्री बराल, नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभागका सदस्य मणि अर्यालले र साहित्यकार सागर गैरेले कृति बारे आ आफ्नो धारणा राख्नुभएको थियो । 

कृतिको समीक्षा युवा साहित्यकार पुष्कर रिजालले गर्नुभएको थियो । कथाकार नवीन अभिलाषीले कृतिमाथि पाठकीय दृष्टिकोण राख्नुभएको थियो । 

सो अवसरमा सर्वदा साहित्य सङ्गमका अध्यक्ष खगेन्द्र गिरी कोपिला, कवि तथा ज्ञानोदय बहुमुखी क्याम्पस खजुराकी क्याम्पस प्रमुख चरित्रा शाह, पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरकी उपाध्यक्ष तथा जनज्ञान ज्योति माध्यमिक विद्यालयकी प्रधानाध्यापक सुमित्रा न्यौपाने, पूर्णिमा साहित्य प्रतिष्ठानका सचिव बद्री ढकाल, भेरी साहित्य समाज बर्दिया शाखाका सचिव प्रभात सुवेदी, कवि विपिन सिंजापती, चन्द्रावती अधिकारी, मनबहादुर बि.क. सल्यानी, पद्मा रिजाल, गौरी सापकोटा, ढाकाराम ढकाल, छविलाल खड्का, लगायत दुई दर्जनभन्दा बढी साहित्यकारले रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव महेश अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव साहित्यकार हरि सुवेदीले गर्नुभएको थियो ।