• ५ जेठ २०८१, शनिबार

युवाको शङ्कास्पद मृत्यु

blog

प्रेमराज सिम्खडा

कालिकोट कात्तिक ५ गते । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं १० मा एक जना युवाको शङ्कास्पद मृत्यु भएको छ । शुक्रवार राती अन्दाजी वर्ष २४ का रमेश शाहीको मृत्यु भएको र शनिवार दिउँसो मात्र जानकारी आएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन केसीले स्थानीय नमराज शाहीको गाईबस्तु बाँध्ने गोठमा रमेशको शव फेला परेको बताउनुभयो । घटना निकै शङ्कास्पद भएकाले स्थानीय नागरिकसँग सोधपुछ चलिरहेको बताउनुभयो । केही स्थानीयले भने बाहिर विवाद भएको बताए पनि प्रहरीलाई भने कुनै विवाद नभएको बताउँदै आएका छन् । 

मृतकका घर परिवारले पनि कसैसँग शङ्का गरेकाे छैन । प्रहरीले घटना शङ्कास्पद भन्दै अनुसन्धान भइरहेको जनाएको छ । 


यसैबिच तीन गते राती नै शुभकालिका गाउँपालिकामा वडा नं ३ मा युवाहरूबिच चक्कु हानाहान भएको छ । प्रहरीले दिएको जानकारी अनुसार पहिला फेसबुक म्यासेन्जरमा भएको विवादलाई लिएर शुभकालिका २ का बलिराज शाहीले वडा नं ३ का तीन जना कपिलविक्रम शाही, राजकुमार शाही र कुसव शाहीलाई चक्कु प्रहार गरेका छन् । 


बलिराज शाहीको चक्कु प्रहारबाट तीनै जना घाइते  भएका छन् । घाइते मध्यका कपिलविक्रम शाहीको अवस्था अलि जटिल देखिएपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको छ । उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ । घाइते अरू दुई जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।