काठमाडौँ, कात्तिक ४ गते । त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो ।
नेपालले यसअघि भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो । नेपालले हङकङलाई जितका लागि दुई सय १४ रनको लक्ष्य दिएको थियो । जवाफमा हङकङले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३४ रन मात्रै बनाउन सक्यो ।
हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ रनको योगदान दिएका थिए । त्यस्तै बाबर हायात २० तथा एजाज खानले २५ रन जोडेका छन् । नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २-२ विकेट लिएका छन् भने दीपेन्द्र सिंह ऐरी र प्रतिश जिसिले समान १-१ विकेट लिएका छन् ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् । कुशलले ४१ ब्लमा तीन चौका र नौ छक्काको सहयोगमा ९२ रन बनाएका छन् ।
त्यस्तै दिपेन्द्रले ३४ बलमा छ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाएका छन् । कुशल मल्ल र दीपेन्द्रले एक सय ४५ रनको साझेदारी गरेका थिए । त्यसैगरी आशिफ शेखले २० रन बनाएका छन् भने कप्तान रोहितकुमार पौडेलले ११ रन बनाएका छन् । हङकङका लागि मोहमद घजन्फरले दुई विकेट लिए भने आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले समान एक-एक विकेट लिएका छन् । अब नेपालले यही असोज ६ गते यूएईसँग खेल्नेछ । रासस